काठमाडौं : कोपरासी इन्टरनेशनल प्रा.लि.का सञ्चालक राजीव रञ्जनले ओमानबाट उद्धार गरेर स्वदेश फर्काएका युवाहरूले वैदेशिक रोजगार विभागमा क्षतिपूर्ति र मेलमिलापका माध्यमबाट समस्या समाधान भइसकेको विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटलाई गुमराहमा राखी दोहोरो उजुरी दर्ता गरी आफूलाई दुःख र हैरानी दिई रकम असुल्न खोजिएको बताएका छन् ।
सञ्चालक रञ्जनका अनुसार वैदेशिक रोजगारका लागि ओमान पठाइएका युवाहरूले काम र तलब नपाएको भन्दै विभागमा उद्धारको निवेदन पठाएपछि विभागको निर्देशनअनुसार कम्पनीले आफ्नो खर्चमा उनीहरूलाई स्वदेश फर्काएको थियोे । स्वदेश फर्किएपछि युवाहरूले विभागमा क्षतिपूर्तिको निवेदन दिए ।
निवेदन आएपछि विभागले छलफल गराई स्वदेश फर्काइएकामध्ये पुकार ठाकुर हजामलाई ९८ हजार ५ सय, होम नारायण ठाकुर हजामलाई ९८ हजार ५ सय, कृष्णप्रसाद साहलाई ९० हजार र सन्तोष ठाकुरलाई ९८ हजार ५ सय रूपैयाँ क्षतिपूर्ति दिएर मिलापत्र गराएको थियो ।
सञ्चालक रञ्जनले मिलापत्र गर्दा उनीहरूले सहमतिमा ठहर र निवेदकको बमोजिम रकम लिई यस सम्बन्धमा पछि कहिँकतै उजुरबाजुर गर्ने छैन गरेमा यसै कागजले बदर होस् भनी हस्ताक्षर र दाँयाबायाँ हातको ल्याप्चेसहित सहीछाप गरेको कागजातको फोटोकपी आफूसँग र त्यस्तै फोटोकपी उनीहरूसँग पनि रहेको मध्यान्हलाई बताए ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएर करार अनुसारको काम र तलब नपाए म्यानपावर कम्पनीले उनीहरूलाई आफ्नो खर्चमा फर्काउनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐनमा छ । सञ्चालक रञ्जनले भने, ‘विभागमा असार १७ गते उजुरी परेकोमा कुनै ढिलासुस्ती नगरी स्वदेश फर्काएर भदौ २० गते क्षतिपूर्ति दिएर सहमतिमा खुसीराजीले मिलापत्र गरिएको हो । त्यो सच्चाई लुकाएर स्थानीय आप्रवासी सूचना केन्द्र र जिल्ला प्रशासन कार्यालय रौतहटलाई गुमराहमा पारेर उजुरी दर्ता गराई तर्साएर दोहोरो असुली गर्न खोजका छन् ।’
रञ्जनले मेलमिलापका लागि विभाग जाँदा आफूमाथि साउन ३० गते चारै जनाले साँघातिक आक्रमण र कुटपिट गरेकोे भन्दै सोही दिन महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमासमेत किटानी उजुरी दर्ता गराएको र पछि मेलमिलाप भएपछि उनीहरूको हितलाई ध्यानमा राखेर उक्त उजुरी फिर्ता लिएको बताए ।
उनले भने, ‘एउटा घटनामा मलाई तीन–तीन वटा क्षति पु¥याउने काम भयो, लाखौं रूपैयाँ खर्च गरेर स्वदेश झिकाएँ, एक लाख रूपैयाँ बराबरका क्षतिपूर्ति दिएँ, मैमाथि साँघातिक आक्रमण भयो, त्यतिले नपुगेर प्रशासनलाई गुमराहमा राखेर मविरुद्ध दोहोरो उजुरी दर्ता गरिएको छ, हाल दैनिकरुपमा उनीहरूबाट मेरो ज्यान लिने खालका धम्कीको सामना गरिरहेको छु ।’
रञ्जनले दोहोरो उजुरी दर्ता गरी आफूलाई तर्साउने, दोहोरो असुली गर्ने योजना र मानसिक तनाब दिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटमा निवेदन दर्ता गराई आधार र प्रमाणविहीन उजुरी खारेजीको माग गरेकोे समेत बताए । उनले भने, ‘वैदेशिक रोजगार विभागमा भएको सहमति पनि जानकारीका लागि पठाएको छु ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies