२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु

ADV
सत्यराज सिंह
२०८१ जेठ २८ गते १३:२२
बझाङमा कृत्रिम अभ्यास गर्दागर्दै डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु

बझाङ : अरुलाई आकस्मिकरुपमा डुब्नबाट जोगिने उपाय सिकाउन सेती नदीमा पसेका सशस्त्र प्रहरीका एक जवानले ज्यान गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजना र विभिन्न संघसंस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा बाढी पहिरो र त्यसको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको हो ।

सोमबार सेती नदीमा डुबेर बझाङको केदारस्युँ गाउँपालिका–७ का २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह धामीको मृत्यु भएको हो । सेतीमा डुबेपछि बेहोस अवस्थामा उद्धार गरिएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अधिकारीसहित जवानले सेती नदीमा संयुक्त अभ्यास गरेर देखाइराखेका थिए । 

उक्त अभ्यास हेर्न जिल्ला समन्वय समिति प्रमुख नर बहादुर बोहरा, साइपाल गाउँपालिका अध्यक्ष मानबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेल, जिल्लाका सुरक्षा निकायका सबैजना पुगेका थिए । अभ्यास देखाउन विद्यालय र क्याम्पसका विद्यार्थी पनि ल्याइएको थियो । अभ्यास स्थलमा विपद् पूर्वतयारीका सामग्रीहरुसहित सयौं मानिसहरु जम्मा भएका थिए ।

सोमबार बिहान साढे ९ बजे सेती नदीको भोपुर दरबार र चैनपुर साना शहरी खानेपानी आयोजनाको ट्यांकीनजिक भइरहेको उक्त अभ्यासको अन्तिमतिर डुबेर धामीको मृत्यु भएको हो । 

धामी विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त सशस्त्रका जवान थिए । तर तालिमप्राप्त उनै कसरी डुबे भन्ने खुलेको छैन । उनका श्रीमती र दुई छोरा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise