२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सेतीमा खसेका करन गिरीको परिवार बिचल्लीमा

ADV
सत्यराज सिंह
२०८१ भदौ १३ गते २१:३९
सेतीमा खसेका करन गिरीको परिवार बिचल्लीमा

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल मालुझाडका करन गिरी बुधबार राति १२ बजे सुतेकै अवस्थामा सेती नदीमा खसे । उनलाई सेतीमा पुगेपछि आफू र जस्ताले छाएको घरसँगै खसेको थाहा भयो । झण्डै सेतीको पानीमा डुबेका उनी एक हातले ढुंगामा समाउँदै उत्रिए, त्यसपछि गुहार माग्न थाले ।

ठूलो आवाज आएकोले पारिपट्टी अर्थात् मालुमेलाबासी केहीको मनमा के भयो भनेर चिसो पसेको थियो । करनको गुहार भन्ने शब्दले दिपेन्द्र खड्का, जया गिरी, हरिलाल भट्टराई, अर्जुन गिरी ब्युझिएर बाहिर निस्के । केही करन भएतिर लागे भने केही नजिकै रहेको मालुमेला प्रहरी चौकीतर्फ लागे । होहल्ला भएपछि सेती वारिपारिका बासिन्दा ब्युँझिए । करनको सबै मिलेर सकुशल उद्धार गरेका थिए । ३६ वर्षीय करनको शरीरभरि चोट लागेकाले बोल्न सक्ने अवस्थामा छैनन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याइएको उपचारपछि अवस्था सामान्य रहेको भन्दै घर फर्काइएको अस्पताल स्रोतले जनाएको छ । 

संयोगवश करनको श्रीमती धना गिरी र उनका चार छोराछोरी बाहिर थिए । धना महिनावारी भएकाले तीन केटाकेटीसहित आफ्नो गाउँको पुरानो घरमा सुत्न गएका थिए । उनलाई करन सेतीमा खसेपछि गाउँलेले खबर गरेपछि मात्रै घटनास्थल पुगेका थिए । उनले सम्झिँदै आफू महिनावारी नभएको भए सबैको एकै चिहान हुने बताए ।  भाग्यले आफ्ना श्रीमानलाई बचाएको उनको भनाइ छ ।  

टहरासँगै खाद्यान्न, लुगाकपडा, नगद ९ हजार र बालबालिकाका स्कुलका प्रमाणपत्र बगेको पीडित धनाले बताइन् । भूकम्पले चर्काएको भए पनि बलियो चट्टान भन्दै बसिरहेका परिङ्गाल र मालुमेला बासी यो पहिरोपछि भने त्रसित देखिन्छन् । करनका दाइ लक्ष्मीराज गिरीले पहिलाका बाउबाजे यो ठाउँ बलियो भन्दै बसिरहेका तर बुधबार राति एक्कासी बुधबार रातिको यो घटनाले सबैलाई तर्साएको बताए ।

यो ठाउँमा पहिरो जान्छ भन्ने संकेत पहिल्य नै देखाइरहेको थियो । कुन दिन सेतीमा जान्छु भन्दै विकल्प नभएकोले करन त्यही टहरामा बसिरहेका थिए । नभन्दै बुधबार राति पहिरो गयो । पहिरोले टहरा र भुकम्पले घर लगेपछि करनको परिवार बिचल्लीमा परेको छ ।

गाउँमा एउटा पुरानो घर भएपनि ६ जनाको परिवारलाई बस्न नमिल्ने रहेको पीडित करनकी श्रीमती धना गिरीले बताइन् । यसैबीच तत्कालका लागि छबिसपाथिभेरा गाउँपालिकाले ग्यास चुल्हो, खाद्यान्न, ओड्ने, बिछ्याउने लगायत अतिआवश्यक चीज गिरी परिवारलाई हस्तान्तरण गरेको छ । शनिबारसम्म पालिकाले दुई कोठे जस्ताको टहरा पनि बनाइदिने गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise