२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डडेल्धुरा सदरमुकाममा पहिरो, सडक अवरुद्ध

ADV
मानबहादुर साँउद
२०८१ भदौ २८ गते १४:३९
डडेल्धुरा सदरमुकाममा पहिरो, सडक अवरुद्ध

डडेल्धुरा : बुधबार रातिदेखि लगातार परिरहेको अविरल वर्षाका कारण डडेल्धुरा सदरमुकाममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । अमरगढी नगरपालिका ५ स्थित निर्माण व्यवसायी संघको भवन अगाडि पहिरो खसेर सडक अवरुद्ध भएको हो । निरन्तरको वर्षाले सुदूरपश्चिमका सात पहाडी र दुई तराईका जिल्ला जोड्ने महाकाली राजगर्माको भीमदत्त राजमार्ग पहिरोले पूर्णरुपमा अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दीपक कार्कीका अनुसार भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, मेलखर्क र बुडर जोगबुढा सडक खण्डका विभिन्न ठाँउमा पहिरो गएर सडक अवरुद्ध रहेको छ । 

पहिरोका कारण डडेल्धुरा सदरमुकामको जिल्ला प्रशासन जाने सडक खण्डमा रहेको एक कच्ची घर भत्किएको छ । यसैगरी डडेल्धुरा–डोटी जोड्ने सेती राजमार्गको केआइसिंह राजमार्ग खण्ड पनि पूर्ण रुपमा बन्द भएको छ । यस राजमार्गको रडुवामा पहिरो खसेको छ । 

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षितरुपमा यात्रा गर्न आग्रह गरेको छ । यसैगरी बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।

यस राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो खसेपछि बझाङ जिल्लाबाट आउजाउ गर्ने यातायात अवरुद्ध भएको हो । पहिरोमा खसेका ठूला ढुंगाले बिजुलीको तार चुडिएपछि बझाङको विद्युत सेवा पनि अवरुद्ध भएको छ । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बिहीबार रातिदेखि विद्युत सेवासमेत अवरुद्ध भएको छ । लगातारको वर्षा, सडक अवरुद्ध र विद्युत नहुँदा यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise