–गगन घिमिरे
इलाम पूर्वी नेपालको सुन्दर पहाडी र अथाह सम्भावना बोकेको कोसी प्रदेशका एक चर्चित पर्यटकीय गन्तव्य पनि हो । ‘पहाडकी रानी’ उपमाले परिचित इलाम चिसो मौसम र विविधताका कारण प्रख्यात छ । अलैँची, अकबरे, अदुवा, ओलन, अम्लिसो, आलु, अर्थोडक्स चिया, अर्किट र अतिथि सत्कार जस्ता ‘अ’का कारण इलामको अलग्गै पहिचान छ । नगदे बाली र पर्यटनमा इलाम पाइला चाल्ने क्रममा छ । सन्दकपुर, माइपोखरी, कन्याम, श्रीअन्तुडाँडा, नेपालकै पहिलो चियाबारी, देशकै पहिलो चिया उद्योग मुख्य पर्यटकीय क्षेत्र रहेकामा पछिल्लो समय यस्ता ठाउँसमेत थपिने क्रममा छ । पर्यटक आऊ–जाऊ बाक्लिँदै गएपछि ऐतिहासिक, सांस्कृतिक र महत्त्वपूर्ण तर, ओझेलमा रहेका नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान हुँदैछन् । सुन्दर चियाबारी, पोखरी, हरियाली, नदीनाला, मठमन्दिर, पर्वतीय शिखरहरू आकर्षणका केन्द्र बन्दै गइरहेका छन् ।
थुम्का–थुम्का चियाबारीको हरियाली, प्रमुख चार नदी र स्वच्छ हावापानीले पर्यटक आकर्षित गरिरहेको छ । विश्वकै दुर्लभ जनावर रेडपान्डा, १८भन्दा बढी प्रजातिका लालीगुराँस, छत्तिस प्रजातिका सुनाखरी (अर्किट) सयौं प्रजातिका चरा, यहाँका आकर्षण हुन् । बहिनी पाथीभरा, सिद्धि थुम्का, थुम्केरानी, करसोङ पदमार्ग, चोयाटार वन, छिन्टापु, लारुम्बा, पानीटार, झण्डीडाँडा पर्यटकीय स्थल पर्यटकका आकर्षण बन्दैछन् ।
‘करसोङ’ लेप्चा भाषामा सुनाखरी फूल हो । रोङ गाउँपालिकाको हासपोखरी क्षेत्रमा दर्जनौँ सुनाखरी पाइने जङ्गल छ । यही सुनाखरीको नाममा रोङ गाउँपालिकाले २०७६ सालमा कारसोङ ट्रेल औपचारिक रूपमा सञ्चालनमा आएको हो । मानिसहरू नयाँ जानकारी लिने, नयाँ ठाउँ घुम्ने रहर हुँदाहुँदै व्यस्तताका कारण आफ्ना रहरहरू कुण्ठित भइरहँदा पूर्वी नेपालको तराईबाट नजिक र सहज यात्राको आकर्षक गतव्य करसोङ पदमार्गलाई लिन थालिएको छ । करसोङ ट्रेल छोटो पदयात्रा, साइकल यात्रा प्रसिद्ध पाउन थालेको छ । नयाँ अवधारणासहित विकास हुँदै गरेको पर्यटकीय गन्तव्यको खोजी गर्ने क्रममा अहिले इलामको रोङ गाउँपालिकास्थित करसोङ पदमार्ग सञ्चालन गरिएको हो । ट्रेलको सम्भाव्यतामा, वातावरणीय जागरूकतामा यसको विविध प्रभावहरू, स्वास्थ्य चेतना वृद्धि, स्थानीय अर्थव्यवस्थाको उत्थान, स्थानीय पालनपोषण कृषि उत्पादन र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित पदमार्ग सञ्चालन भइरहेको छ । अहिले ट्रेकर्स, साइकल यात्री, पदयात्रा गर्नेहरू माझ यस पदमार्गको लोकप्रियता बढ्दै गएको छ । यसलाई अझ व्यवस्थित र लोकप्रिय बनाउन गाउँपालिकाले यस वर्ष करसोङ भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ ।
तराईको गर्मीलाई छल्न प्राकृतिक ऐसिको रूपमा रहेको इलामको रोङ गाउँपालिका स्थित मेची राजमार्गको हासपोखरी खण्डबाट सुरु भएर नेपाल–भारत सीमा मेचीखोलासम्मको २९ किलोमिटर पदमार्गमा २० स्थानलाई महत्वका साथ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन खोजिएको छ । समुद्री सतहको ३६५ मिटरदेखि एक हजार ८ सय मिटर उचाइसम्ममा निर्माण गरिएको यो पदमार्गमा आउने पर्यटकलाई एडभेन्चर टुरिजमको अनुभव हुने गर्छ । जैविक विविधता र वनस्पति विज्ञानका विद्यार्थीलाई अध्ययनका लागि पनि यो पदमार्ग महत्वपूर्ण छ ।
सुरुवात ‘हासपोखरी, हल्लने, गिद्धेभिर, झन्डी, सलकपुर, मेची दोभान, पाटापुर’ नाममा पदमार्ग सुरु गरिएता पनि २०७८सालमा करसोङ नामकरण भएको हो । मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति र स्थानीयको सक्रियतामा यो पदमार्ग निर्माण थालिएको हो । जम्मा २९ किलोमिटर पदमार्गको १९ किलोमिटर ट्र्याक खुलिसकेको छ । गाउँपालिकाको अगुवाइमा अहिले पर्यटन प्रवर्द्धनका काम भइरहेका छ ।
करसोङ ट्रेल कुटिडाँडासम्म समुन्द्री सतहको ३६५ मिटर उचाइदेखि १८०० मिटरसम्म रहेको पदमार्गमा आगन्तुकहरूले विभिन्न मार्गहरूबाट ट्रेल पहुँच गर्न सक्छन् । मुख्य प्रवेशद्वार मेची राजमार्गको हासँपोखरी रहेको छ । पहाडी र तराई क्षेत्रका प्रमुख सहरहरूलाई जोड्ने राजमार्गबाट नै सुरुवात हुने यो पदमार्गलाई झापाको काँकरभिट्टा निन्दा सिरान हुँदै सलकपुर तर्फबाट पनि यात्रा गर्न सकिन्छ । हाइकिङ्ग, साइकल यात्रुहरू हाँसपोखरीबाट यात्रा गर्न सहज हुने गर्दछ ।
हासपोखरी दर्जनौँ प्रकारका सुनाखरी पाइने महत्त्वपूर्ण जङ्गलले घेरिएको छ । सधैँजसो चिसो मौसम भइरहने हासपोखरी बहिनी पाथीभरा मन्दिरको पनि प्रवेशद्वार भएकाले यहाँ प्रायः मङ्गलवार र शनिवार भक्तजन तथा पर्यटकको घुइँचो लाग्ने गर्दछ । यहाँबाट उकालो लागेपछि पदमार्गको यात्रा सुरु हुन्छ । पर्यटकलाई सजिलोका लागि पदमार्गका पोइन्टबारे प्रवेशद्वारमै सूचना बोर्ड राखिएको छ । हासपोखरी सांस्कृतिक महत्व बोकेको ठाउँ पनि हो । यो ठाउँ लेप्चा समुदायको पवित्र तीर्थस्थल हो । कञ्चनजङ्घा हिमाललाई र दह (आमा)का रूपमा हासपोखरीलाई लिइन्छ । लेप्चाको तसे नाम थर (धार्मिक ग्रन्थ)मा हासपोखरीको विषयमा उल्लेख पाइन्छ । हासपोखरीबाट कञ्चनजङ्घा देखिन्छ । हासपोखरीबाट सुरु भएको पदयात्रीको लागि अर्को गतव्य भनेको गुगल पोइन्ट हो । समुद्री सतहबाट १ हजार ८ सय १७ मिटर उचाइको यस स्थानमा (डाँडा) भू–मापनका लागि सामान्य पूर्वाधार बनाएको देखिन्छ । नापी विभागले यो अग्लो डाँडालाई आधार बनाएर झापासम्मको भू–भाग मापन गर्न यो ठाउँ रोजेको हो । तर, यो ठाउँ अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदैछ । यहाँबाट हिमाल, पहाड र तराईका भू–भाग नियाल्न सकिन्छ । सूर्योदय र हिमाल दृश्यावलोकनका लागि यो चुली महत्वपूर्ण छ । यो पदमार्गमा ऐतिहासिक देवानगढी पनि पर्दछ । देवानगढी बाइसे–चौबीसे राज्य प्रचलनमा रहेका बेला देवान जातिका राजा (बुद्धिकर्ण र अर्का एक)ले शासन गरेको ठाउँ रोङ गाउँपालिकाको इरौंटार थियो ।
देवान जातिको इतिहास र उनीहरूको ऐतिहासिक योगदानबाट नै इरौंटारमा चाहिँ देवानछाप भन्ने एउटा ठाउँको नाम रह्यो भने उनीहरूको समाधीस्थललाई देवानगढी भनियो । देवानछाप आसपासमा अहिले सुनुवार, मगर, राई, लिम्बू, ब्राह्मण, क्षेत्री र लेप्चा जातिको बसोबास छ । नेपाल एकीकरणका बेला यहाँका देवानहरू र पृथ्वीनारायण साहका सिपाहीबिच युद्ध भएको, युद्धमा देवानहरू पराजित भएको र उनीहरूले देवानछाप छाडेर गएको किंवदन्ती छ ।
पदमार्गको अर्को आकर्षण गिद्धे भिर हो, गिद्ध बस्ने ठाउँ भएकाले यो स्थानलाई गिद्धेभिर भनिएको हो । ठुलो संख्याका गिद्धको बसोबास रहेकाले यो ठाउँ निकै आकर्षक छ । वर्षको एक सिजनमा सयौँको संख्यामा गिद्ध यहाँ आएर बस्छन् । मंसिरदेखि चैत–वैशाखसम्म यहाँ गिद्ध नजिकैबाट हेर्न पाइन्छ । यहाँ नेपाल र भारतका विभिन्न स्थानबाट गिद्ध आएर बस्ने गरेका छन् । चरा अध्ययनका लागि यो ठाउँ उपयुक्त मानिन्छ । पदमार्गको यात्रामा भेटिने अर्को स्थान हो दहिले,दहिले भन्ज्याङ दैलो वा ढोकाकै रूपमा परिचित छ । ढुंगाको दैलोजस्तो ठाउँ भएकाले यसलाई दहिले भनिएको हो । परापूर्वकालमा कुनै न कुनै संस्कृति वा सभ्यताको उद्गम र विकास भएको अनुमान गरिएको यो ठाउँबारे विस्तृत अध्ययन हुन बाँकी छ । परापूर्वकालमा कुनै विशेष ठाउँमा छिर्न यो ढोका प्रयोग गरिएको हुनसक्ने अनुमान स्थानीयको छ ।
पदयात्राको अर्को आकर्षणको बिन्दु भनेको हल्लने ढुङ्गा हो, हल्लने ढुङ्गा भनेको हल्लिने ढुङ्गा हो । विशाल ढुङ्गामाथि अर्का अलि सानो ढुङ्गा छ । त्यसलाई खसाल्न वा सार्न सकिँदैन तर, निकै ओजनको यो ढुङ्गालाई एकै औँलाले पनि हल्लाउन चाहिँ सकिन्छ । हेर्दै आश्चर्य लाग्ने यो ढुङ्गा सदियौँदेखि उही अवस्था देखिन्छ त्यस्तै सनसारीडाँडाले पनि पर्यटक आकर्षित गरिरहेको छ । यही क्षेत्रमा भेडी चोक पनि पर्छ । भेडी चोक उहिले गाउँभरिका भेडा चराउने ठाउँका रूपमा चिनिन्छ । अग्लो डाँडाको शिरमा फराकिलो चौर रहेकाले यो ठाउँ निकै आकर्षक छ । यहाँ वनभोज खान पनि निकै रमाइलो हुन्छ । पदयात्राको अर्को ऐतिहासिक स्थान रोङ–६ मा पर्ने धजे भन्ज्याङ महत्त्वपूर्ण ठाउँ हो । यो यातायातको सुविधा नहुँदा इलाम–झापा आऊ–जाऊ गर्ने नाका वा गौँडा थियो । धजेको सौन्दर्य पनि पर्यटक लोभ्याउने खालको छ । यहाँ तिन दशक अघिसम्म उँधौली, उँभौली, चैतेदसैंलगायत अवसरमा ठूलो मेला लाग्ने गरेको थियो । धजे भञ्ज्याङमा बसेर दक्षिणतिर हेर्दा तराईका समथर फाँटहरू र उत्तरतर्फ कञ्चनजङ्घा हिमाललगायत हिमशृङ्खला, अन्तुडाँडा र कन्यामलगायत विभिन्न स्थान देखिन्छन् ।
यस पदमार्गको महत्त्वपूर्ण स्थान भनेको झण्डीडाडाँ अर्थात् गाजलेथुम्का करसोङ पदमार्गमा पर्ने पर्यटकीय स्थलमध्येको एक प्रमुख र अत्यन्त आकर्षक पर्यटकीय स्थल हो । झन्डीडाँडा १ हजार ३ सय ९६ मिटर उचाइमा छ । यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । असोजदेखि जेठसम्म सूर्योदय दृश्यावलोकन गर्ने उपयुक्त मौसम हो । झन्डीडाँडासम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट दिनभरि पैदल हिँडेर धजे भन्ज्याङ आसपासमा बास बस्न र साँझको दृष्यपान गर्न सकिन्छ । उत्तरमा कञ्चनजङ्घा, कुम्भकर्णलगायत दर्जनौँ हिमशृङ्खला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौँ स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभई साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडो हो । अहिले यहाँ झन्डीडाँडाको धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिँदैछ ।
किराँतीहरूले उँधौली, उँधौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाड्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजा विधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास पाइन्छ । त्यही आधारमा यो डाँडाको नाम नै झन्डीडाँडा रहन गएको हो । किराँतीहरू वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्नेगरेको पाइन्छ । किरात संस्कृतिको धरोहरका रूपमा रहेको झन्डीडाँडा अहिले पर्यटकको मुख्य आकर्षणको केन्द्र पनि भएको छ ।
झण्डी पुग्न विभिन्न बाटोहरू लिन सकिन्छ । जस्तै मेची राजमार्गस्थित हासपोखरी खण्डबाट करसोङ पदमार्ग हुँदै करिब ९ किमीको यात्रामा पुगिन्छ भने हर्कटे बजारबाट गाडीको कच्ची सडक १० किमी र झापा काँकडभिट्टाबाट १७ किमी कच्चीको दुरी पार गर्दा झणडीको रमाइलो लिन सकिनछ । कर्सोङ ट्रेल ६ विभिन्न बिन्दुहरूमा होमस्टेहरू सञ्चालनमा रहेका छन् । मझुवा, चिसापानी, जौबारी, रामभ्याङ, सलकपुर र पाटापुर मा होमस्टे सञ्चालनमा रहेको छ । जस्केको सामुदायिक होमस्टेमार्फत हाल १८ वटा होमस्टे सञ्चालन भइरहेको छ ।