-हेमराज सापकोटा
कामको शिलशिलामा यो प्रबासमा एउटा बिदेशी साथीले सोध्यो, तिमीहरुको फ्रीडम डे (स्वतन्त्रता दिवस) कहिले हो ? मैले भनेँ , हाम्रो त स्वतन्त्रता दिवस नै छैन । उसले सायद पत्याएन र फेरि सोध्यो, छैन ? मैले भनें, अँह ! उ एकाएक उत्सुक बन्यो र सोध्यो, किन , तिमीहरुको स्वतन्त्रता दिवस नै छैन ? आफ्नो मुलुकको बयान गर्ने मौका पाएको बेलामा त्यो पनि बिदेशी भूमीमा मौका चुकाउने कुरै भएन ।
मैले उसलाई हाम्रो बीरताको गाथा सबै एकै स्वासमा बखान गरें । अँग्रेज संसारको कुनै शक्तिसँग पछाडि हटेको छ र हारेको छ भने त्यो हो नेपालीसंग। दुनियाले नेपाललाई हेर्ने नजर नै अलग हुनुको राज यो हो । हामी सगरमाथाको देशको मान्छे । संसारकै शीरमा बस्ने मान्छे । हामी स्वर्गको टुक्रामा राज गर्ने मान्छे । धेरै कुरा भन्न भ्याएँ र उसले पनि चाख दिएर सुन्यो । यी कुरा गरिरहँदा मलाई मनमा जति गर्व महशुस भएको थियो , त्यतिनै छाती भतभती पोलिरहेको थियो । त्यस्तो स्वर्ग जस्तो देशको मान्छे म कस्तो देशमा छु भनेर । त्यस्तो सार्वभौम देशको मान्छे हामी कति परनिर्भर छौँ भनेर । पूर्खाले संसार हल्लाए तर हामी आज पेट पाल्नकै लागी बिदेशीको दास बन्न बाध्य भैरहेका छौं ।
हामीले हाम्रो पूर्खाको बिरासतलाई कायम राख्न सकेर देशलाई प्रगतिको शिखर चुमाउन सकेको भए, हामीले स्वर्गको टुक्रा यो नेपाललाई अझ बिकाशले सिँगार्न सकेको भए, हामी हैन हामीलाई किन्ने अरबी, युरोपियन, अमेरिकन या एसियनहरुलाई नेपालमा ल्याएर काम गराउन सक्थ्यौं । हामी संसारकै शीरमा बस्ने मान्छे झनै अग्लो भएर, गर्बले छाती फुलाएर पहरो जस्तो गर्विलो बनाउन सक्थ्यौँ । अनि कसैले हेप्न सक्दैनथ्यो, कसैसंग झुकेर, डराएर बोल्नु पर्दैनथ्यो र हजुर हजुर लगाएर कसैको पाउ मोल्नु पर्दैनथ्यो ।
पहिले हामी हरेक चिज बेच्थ्यौँ स किन्दैनथ्यौँ, त्यसैले धनी थियौँ, आत्म निर्भर थियौँ । अहिले हामी हरेक चिज किन्छौं , बेच्दैनौँ । हाम्रोमा उत्पादन नहुने हैन, हाम्रोमा संसारको जुनसुकै कुनामा फल्ने चिज फल्छन । हरेक ५(७ किलोमिटरमा फरक फरक हावापानी छ । हामीसँग बिश्वको जहाँ काहिँको वातावरणसंग मिल्ने हिमाल, पहाड, तराई छन । अरबमा फल्ने खजुर (छोकडा), नरिवल, सुपारी हामी तराईमा फलाउन सक्छौँ । अमेरिका, यूरोप, अफ्रीकामा फल्ने एभोकार्डो, किवि, चेरी, हलुवाबेद हामी पहाडमा फलाउन सक्छौँ । चिसोमा फल्ने स्याउ लगायतका बिदेशी नामका हरेक फलकूल हामी हिमालमा फलाउन सक्छौँ ।
हामी त्यस्तो अनुकुल बातावरण भएको ठाउँमा बस्छौँ , जहाँ फलफूलका विभिन्न प्रजाति , नगदे बाली, अन्न बाली, पशुपालन जे केही मज्जाले गर्न सक्छौं । तर पनि हामी परनिर्भर छौँ , किन? किनकी हामी पहरा फुटाल्न सक्ने तागत भएका तागतिला युवा अरब पठाउँछौं, अमेरिका, यूरोप भसाउँछौँ र जापान कोरियाका खोरिया मलिलो बन्न पठाउँछौं । अनि उताबाट पठाएको पैसाले ईण्डियन कुहिएको चामल, तरकारी किन्छौं । फेसनका कपडा, बिलाशिताका बस्तुहरु गाडी, बाईकलगायत हरेक कुरा महँगो डलर खर्चेर आयात गरी उतैबाट किन्छौं ।
हाम्रो वास्तबिकता बर्षेनी अरबौंको सामान मलेशिया,भारत,चिनलगायत मुलुकबाट आयात गर्छौं । साँझ बिहानको खाना उतैबाट, ज्यान ढाक्ने कपडा उतैबाट, सूचना तथा सञ्चारका साधन मोबाईल, टिभी, ल्यापटप उतैबाट । पढ्न, पढाउन चाहिने कापी, किताब, कलम उतैबाट, खेती गर्न र्पयो पाटपुर्जा उतैबाट, चाडपर्व आयो खसी बोका, फलफुल , पटका उतैबाट , सामान्य नुहाउने साबुन,दा‘त माझ्ने ब्रस ( मन्जन उतैबाट, चिया कफि, आलु, टमाटर, तरकारी, चामल उतैबाट । हरेक कुरामा परनिर्भरता ? सोच्नु पर्ने पो हो कि ??कतै तपाईं हामीले सोच बदल्नु पर्दछ कि ?
जब छिमेकी भारतले नाकाबन्दी लगाएर नेपाल र नेपालीको बास्तबिकता देखाइदियो , त्यतिबेला हामी यति तात्यौं की अब आफ्नै कलकारखाना खोल्नुपर्छ, पेट्रोलियम पदार्थको खोज अनुसन्धान गरेर हामी आफैँ सबल बन्नुपर्छ , हेपाहा भारतलाई आफ्नै उत्पादनले बाँचेर धक्का दिनुपर्छ, तँ बिना नि हामी बाँच्न सक्छौँ भनेर गर्जिन सक्नुपर्छ भनेर कुर्लियौं र लाग्यौँ । सरकारले पनि रातारात विभिन्न बिकल्पहरु खोज्यो । अन्य देशहरुसंग सन्धी सम्झौता, सहकार्य गर्न लाग्यो तर जब भारतले नाकाबन्दी खोल्यो अनि फेरि उही छेपाराको उखान । एउटा सरकारले सुरु गरेको योजनमा अर्कोले साथ दिए पो । निर्णय उल्टाउँदैमा सरकारको म्याद सकाउँछन ।बरु छिमेकसंग लम्पसार भएर, सन्धी सम्झौता गरेर देशलाई अझ कमजोर बनाएर आउँछन । सबल, आत्मनिर्भर बन्ने कुरा त एकादेशको कथा बन्छ । हामी पहिले आत्मनिर्भर बन्न सके अरुको किन्नै पर्दैन, स्वतस् बहिस्कार भैहाल्यो नि ।
गान्धीले भारत छोडो अभियान चलाए । सबै सामान आफैले बनाएर प्रयोग गर्ने थाले । ब्यपार गर्न आएका अंग्रेजको सामान बिक्री हुन छाड्यो । अन्तमा हार मानेर भारतबाटै फर्किए अँग्रेज। अहिले हामी भारत संग परनिर्भर छौं । हुन त पैसा दिएरै किन्छौं । सित्तैमा उसले दिने पनि हैन तर उसका हरेक अत्याचार हामीले सहनु परेको छ । किनकी हामी आत्मनिर्भर छैनौँ ।
अब हामी सबै एनआरएनएहरुले यो कुराको मनन गर्नु पर्दछ , तब मात्र हामी “ नेपालीको लागि नेपाली “ भन्ने नारा सार्थक बनाउन सक्ने छौं । किनकी नारा केबल नाराका लागि होइन , अपितु ब्यबहारमा कार्यान्वयन गर्नका लागि हो र हुनु पर्छ । जय एन आर एन ए
(सापकोटा, गैरआवासीय नेपाली संघ, मलेसियाका महासचिव हुन्)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies