२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

वीरगञ्जका पोखरी छठ पर्वका लागि सिँगारियो

shivam cement
२०८१ कार्तिक १९ गते ११:५६
Shares
वीरगञ्जका पोखरी छठ पर्वका लागि सिँगारियो

वीरगञ्ज : यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगञ्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ । 

प्रायजसोः यहाँका सर्वसाधारणले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ । सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ तथा सजावट गरेर चिटिक्क पार्ने काम गरिरहेका छन् । 

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह पनि वीरगञ्ज महानगरभित्र मनाइने छठ घाटहरुको नियमितरुपमा निरीक्षण गरिरहेका छन् । उनले छठ पर्वलाई भव्य र सभ्य ढंगले मनाउने गरी तयारी तीव्र पारिएको जानकारी दिए ।

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ । यीबाहेक अन्य स्थानमा पनि छठका लागि आ–आफ्नो ढंगले झकिझकाउ गर्ने काम भइरहेको छ ।

वीरगञ्ज महानगरभित्र सजावट र झकिझकाउको हिसाबले भने घडीअर्वा पोखरीमा विशेष गर्ने गरिन्छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साह कानुले घडीअर्वा पोखरीमा मनाइने छठ पर्वको झकिझकाउ सजावट हेर्नका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय सहरका पर्यटकहरुको पनि घुइँचो लाग्ने बताउँछन् ।

“घडीअर्वा पोखरीमा छठ पर्वको सजावट हेर्नका लागि नेपालका काठमाडौं, पोखरा, नारायणघाट, बुटबल, चितवनलगायत सबै सहरका सर्वसाधारणलाई चुलो निम्तोसहित आउनका लागि अनुरोध गर्दछु,” उनले भने, “नेपालका मात्रै होइन, भारतको विहार राज्य, उत्तर प्रदेश लगायतका ठाउँमा बसोबास गर्ने पनि यहाँको मनोरम दृश्य हेर्न आउने गर्छन् ।” 

ADV

सम्बन्धित खबर