कपिलवस्तु : कपिलवस्तुका विभिन्न स्थानमा गोरु तस्करी भइरहेको सूचना पाएपछि प्रहरीले गोरु तस्करीमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।
मंसिर २७ गते प्रहरी टोलीले एक ट्रकलाई रोकी जाँच गर्दा २४ वटा गोरुहरूलाई अत्यन्त निर्दयी तरिकाले बाँधेर यातना दिइएको अवस्थामा फेला पारेको थियो ।
गोरुहरूको पुच्छर बाँधेर झुण्ड्याइएको, नाक छेडेर डोरीले बाँधिएको, र केही गोरुहरूका सिङबाट रगत बगिरहेको अवस्थामा फेला परेका थिए । ट्रकको छत त्रिपालले ढाकिएको हुँदा गोरुहरूको श्वासप्रश्वासमा पनि अवरोध भइरहेको थियो । प्रहरीले तत्काल गोरुहरूलाई सुरक्षित स्थानमा सारेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
लागुऔषधसहित पक्राउ
यस्तै, कृष्णनगरमा १३,००० ट्रामाडोल क्याप्सुलसहित १९ वर्षीय सिकन्दर चौहानलाई पनि प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर क्षेत्रको हनुमानगढीमा पैदल हिँडिरहेका चौहानलाई शंका लागि जाँच गर्दा ट्रामाडोल क्याप्सुलहरू बरामद भएका थिए । चौहानसँग एक थान मोबाइल फोन पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले बताएको छ ।
गिरफ्तार गरिएका पाँचै जनालाई ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । गोरु तस्करी र लागुऔषध तस्करी दुवै घटनामा संलग्न अन्य गिरोहका सदस्यहरूलाई पहिचान गर्न थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।