ओखलढुंगा : आसन्न स्थानीय तहको उपनिर्वाचन एक्लाएक्लै लड्ने भनेका सत्तारुढ कांग्रेस र एमालेले एकअर्कालाई सहयोग गर्न भएका छ ।
जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा एमालेले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने भएको हो । तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको पदमा हुन लागेको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्दै एमालेले उम्मेदवार उठाएको छैन ।
कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेस कार्यालयमा बसेको सत्ता गठबन्धन दल कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेदवार नउठाउन एमाले सहमत भएको हो ।
जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन् । एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् । जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।
एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्ने भएका छन् ।
आठ स्थानीय तह रहेको ओखलढुंगामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म कांग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिति तथा केन्द्रको सत्ता गठबन्धनको नीतिअनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएको एमाले जिल्ला कमिटी उपाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए ।