सप्तरी : सप्तरीमा संगठित अपराधका घटना बढ्न थालेको पाइएको छ । उक्त गिरोहले व्यवसायीदेखि विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका अभियुक्तहरुको अभिभावकबाट रकम ठगिएको रहस्य खुलेको छ । तर, विगत दुई दशकदेखि सक्रिय ती गिरोहविरुद्ध पीडितहरु खुलेर बोल्न सकिरहेका छैनन् । त्यसकारण, उक्त गिरोहले अहिलेसम्म विभिन्न नाममा ठगी धन्दा चलाउँदै आएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी–७ बस्ने हनुमानी साफी भनिने रामबहादुर रजकको कमाण्डमा रहेको उक्त गिरोहले पीडितहरुबाट करोडौं रकम ठगिएको घटना बाहिरिएको छ । आरोपित रजक सोही ठाउँको सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य समेत हुन् । उनी पैसा छापेर दोब्बर दिने र कारागारमा रहेका अभियुक्तलाई कैदमुक्त गराइदिने प्रलोभनमा पारेर दुई दशकदेखि ठगी धन्दा चलाइरहेको खुलेको हो ।
उक्त गिरोहमा सय जना बढीको संख्यामा सदस्यहरु सक्रिय रहेको पाइएको छ । जसमा पत्रकारसम्मको सक्रिय भूमिका रहेको पीडितहरु बताउँछन् । संगठित रुपमा उनीहरूले आरोपित रजकको सुरक्षा र पीडितमा डरत्रास उत्पन्न गराउनेदेखि प्रहरी प्रशासनलाई मिलाउनेसम्मको कार्यमा संलग्न रहेको बताउँछन् ।
उक्त गिरोहको ठगीमा परेका व्यवसायी सुनसरी जिल्ला कोशी गाउँपालिका–४ श्रीपुर बस्ने महेश प्रसाद यादव बताउँछन् ।
सेकेन्ड ह्यान्ड स्काभेटर खरिदबिक्री गर्ने बहानामा पीडित यादवसँग २० लाख रुपैयाँ ठगिएको पाइएको छ । उनका अनुसार दुईवटा स्काभेटर सप्लाइ गर्ने नाममा २० लाख रुपैयाँ रकम रजकलाई बुझाए । स्काभेटर नदिएको अवस्थामा ताकेता गरेपछि उनले हामीसँग पैसा डब्बल गर्ने संशाधन रहेको भन्दै १० लाख रकम थप ठगेको बताउँछन् ।
उनले यादवलाई सादा पेपरमा केमिकल हालेर पैसा छापेर देखाइएको बापत त्यसैको प्रलोभनमा परेर मैले थप दश लाख रुपैयाँ बुझाए । त्यसपछि उनी सम्पर्कविहीन भए । मैले उसको घरसम्म पुग्दा उनले गुण्डा लगाएर ममाथि सांघातिक आक्रमण गर्न लगायो ।
तिलाठी कोइलाडी गापा–४ बस्ने एक जना पीडित बताउँछन् । उनी भन्छन्,‘हजारौं व्यक्ति यस गिरोहबाट पीडित भएका छन् । करोडौं रकम ठगिएका छन् । कसैले केही गर्न सकिरहेका छैन । पुलिस प्रशासन पनि उनैको सुन्छ । उल्टै हामीलाई हप्काइ दिन्छ ।’ उनका अनुसार उक्त गिरोहले पैसा छापेर दोब्बर गरेर दिने नाममा दुई दशकदेखि ठगी धन्दा चलाइरहेको छ ।
ब्राउन सुगर ओसारपसार आरोपमा कैद भुक्तान गरिरहेका अभियुक्तहरुको अभिभावकलाई कारागारमुक्त गराइदिने प्रलोभनमा १२ लाख रुपैयाँ ठगेका छन् । तिलाठी कोइलाडी गापा–४ बस्ने हरि लाल मुखियाबाट उक्त रकम ठगिएको आरोप लागेको छ । उक्त गिरोहबाट ठगिएका मुखियाका अनुसार पैसा माग्न जाँदा स्थानीयहरु संरक्षण गर्न आउने गरेको बताउँछन् । उनी जिल्ला प्रशासन कार्यालयमा गत असार महिनामा उजुरी समेत हालेको बताए । तर छानबिन र कारबाहीको प्रक्रियामा प्रहरी प्रशासनले चासो नदेखाएको गुनासो सुनाउँछन् ।
स्थानीयहरुले यस गिरोहमा धेरै मानिसहरू संलग्न रहेको बताउँछन् । दुई देशकदेखि संगठित अपराधको रुपमा ठगी धन्दा चलाइरहेका उनीहरूलाई कानुनी दायरामा ल्याउन सकिएको छैन । नेपाल सरकारले यस्तो गिरोहको अनुसन्धान गरी यसमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन पीडितहरुले माग गरेका छन् ।