२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

डढेलो नियन्त्रणसम्बन्धी ठोस कार्ययोजना बनाउन माग

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २९ गते २२:०९
डढेलो नियन्त्रणसम्बन्धी ठोस कार्ययोजना बनाउन माग

अर्घाखाँची : समुदाय प्रहरी जिल्ला समिति अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकमा लागुऔषध दुव्र्यसनी, बालविवाह, आत्महत्या, न्यूनीकरण र गर्मीयाममा हुने आगलागीका घटना सम्बन्धमा व्यापक छलफल भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा भएको  छलफलमा समुदाय प्रहरी जिल्ला समितिका सल्लाहकार जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले गर्मीयाम सुरु भएकाले पालिका स्तरमा विभिन्न ठाउँहरूमा आगलागीका घटना बढेको बताए । 

उनले यसका लागि पूर्व तयारी र सचेतनालाई तीव्र पार्ने गरी काम भएको उनले बताए । कोइरालाले आगलागी नियन्त्रण गर्नका लागि आवश्यक पर्ने  उपकरण र डढेलो नियन्त्रण सम्बन्धी ठोस कार्ययोजना बनाउन जरुरी रहेको बताए । 

त्यस्तै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले विगतमा जिल्लामा  आगलागीका घटनाहरु धेरै भएकोले न्यूनीकरण गर्नको लागि जिल्ला विपद् व्यवस्थापन समितिमा व्यापक छलफल भएको बताए ।

उनले यसका लागि बजेटको सुनिश्चितता गरी आगलागी नियन्त्रणका गर्न आवश्यक पर्ने बारुदयन्त्र, ट्याक्टर लगायतका विभिन्न औंजारहरु खरिद गरी जिल्ला सुरक्षा समितिलाई जानकारी गराएको बताए । डढेलो नियन्त्रणका लागि समन्वय र सहजीकरण गर्न स्थानीय तहहरूले आवश्यक पहल गर्न जरुरी  रहेको उनले बताए । 

बैठकमा समुदाय प्रहरी जिल्ला समिति अर्घाखाँचीका संयोजक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्लामा देखिएका विभिन्न ठाउँहरू अनुसारका समस्यालाई समाधान गर्नको निम्ति पहल भइरहेको र पालिकाहरूले विषयवस्तु र समयअनुसार हुने विभिन्न विपदका घटनाहरूमा गम्भीरता  नदेखाउँदा विपतको बैठकमा भएका निर्णयहरूलाई कार्यान्वयन गर्न निकै चुनौती रहेको बताए । 

बैठकमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जिल्लामा हुने आगलागीका घटनादेखि हरेक विपद्का घटनालाई  समाधान र त्यसको निराकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय सधैँ तयार रहेकाले आवश्यक स्रोत र साधनको उपलब्ध गराउन स्थानीय तह र सरोकारवाला निकायलाई आग्रह गरे । 

ADV

सम्बन्धित खबर

Advertise