२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

मधेस कृषि विश्वविद्यालयमा कर्मचारीले लगाए ताला

hardik ivf
मध्यान्ह
२०८१ फागुन १ गते १५:५२
मधेस कृषि विश्वविद्यालयमा कर्मचारीले लगाए ताला

राजविराज : मधेस कृषि विश्वविद्यालयमा कर्मचारीहरूले ताला लगाएका छन् । ६ महिनादेखि तलबभत्ता नपाएका कर्मचारी तथा उपप्रध्यापकहरूले बिहीबार विश्वविद्यालयमा तालाबन्दी गरेका हुन् । 

राजविराजस्थित विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको तथा शैक्षिक भवनको मुलगेटमा ताला लगाइएको छ । 

भवन शिलान्यासको विषयलाई लिएर विश्वविद्यालयमा भएको विवादबारे छानबिन गर्न मधेस प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो । त्यसरी छानबिन समिति गठन गरेपछि शैक्षिक गतिविधिबाहेक अरू कामकारबाहीमा रोक लगाइएको थियो ।  

६ महिनादेखि तलबसमेत नपाएका कर्मचारी तथा उपप्रध्यापकहरूले क्षतिपूर्तिसहित तलब सुविधाको माग गर्दै तालाबन्दी गरेका उपप्राध्यापक अविनाशकुमार यादवले बताए । उनले भने, ‘मधेस सरकारलाई पटक पटक कृषि विश्वविद्यालयको समस्याबारे जानकारी गराउँदा बेवास्ता गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ ।’ 

जसपा नेपाल नेतृत्वको प्रदेश सरकारले २७ मंसिर २०७८ मो मधेस कृषि विश्वविद्यालयको स्थापना गरेको थियो । नयाँ भवन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेपछि विवाद उत्पन्न भएको हो । 

जनमत पार्टी नेतृत्वको वर्तमान सरकार विश्वविद्यालयलाई धराशायी बनाउन लागेको जसपा नेपालका नेताहरूको गुनासो छ । 

विश्वविद्यालयमा ४ वर्षे कृषि स्नातकमा अध्ययनरत १ सय विद्यार्थी छन् । यो चालु शैक्षिक सत्रका लागि ५० जना विद्यार्थी भर्ना लिने सूचना भएको थियो । आवेदन भने १ सय १० को परेको थियो । तर, विवादका कारण परीक्षा लिन नसकेपछि भर्ना प्रक्रिया नै रोकिएको छ । अरू सबै गतिविधिसमेत ठप्प छन् ।

ADV

सम्बन्धित खबर

Advertise