कलैया : बारा सदरमुकाम कलैयामा ‘निःशुल्क कपडा बैंक’ स्थापना गरिएको छ । ग्रामीण उत्थान अभियान कलैयाले ‘निशुल्क कपडा बैंक’ स्थापना गरेको हो ।
लत्ताकपडा खरिद गर्न नसक्ने गरिब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘निशुल्क कपडा बैंक’ स्थापना गरिएको संस्थाका संस्थापक मोकद्दम अन्सारीले जानकारी दिए ।
यस बैंकबाट गरिब तथा अति विपन्न परिवारलाई ठूलो राहत पुग्ने देखिएको कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले बताए ।
‘निःशुल्क कपडा बैंक’मा खासगरी असहाय, गरिब, विपन्न, एकल, दलित, पिछडिएको र मजदुर वर्गका व्यक्तिले लाभ लिएको देखेर आफू उत्साहित भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारिको भनाइ छ ।
उनले यसलाई निरन्तर दिन एउटा कार्यविधि बनाएर अगाडि बढ्न सुझाव दिँदै आफ्नो साथ रहने समेत बताए ।
‘कपडा बैंक’ की संस्थापक अध्यक्ष माधुरी गिरीका अनुसार एक घण्टामै ३५ जनाभन्दा बढीले लगाउने कपडा लगेका छन् ।