काठमाडौं : नेपालले ओजोन तहमा थप सुधार गर्ने नीति अवलम्बन गर्न भएको छ । यससँग सम्बन्धित मोन्ट्रियल प्रोटोकल अनुमोदन गर्ने विषय सरकारले अगाडि बढाउँदै छ ।
आइतबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि छलफलका लागि प्रस्तुत गर्दै छन् । मोन्ट्रियल प्रोटोकल ओजोन तहको संरक्षणसँग सम्बन्धित छ । ओजोन तह नष्ट गर्ने रसायन तथा पदार्थको उत्पादन एवं खपत कम गर्ने यसको लक्ष्य छ । छलफलपछि यसलाई अनुमोदन गर्ने तयारी छ । सरकारले अनुमोदनका लागि संसद्मा प्रस्ताव लगेको हो ।
ओजोन तह पातलिँदै गएपछि सुधारका लागि १६ सेप्टेम्बर १९८७ मा क्यानडाको मोन्ट्रियल शहरमा ओजोन तह संरक्षणका लागि चाल्नुपर्ने कदमका विषयमा अन्तर्राष्ट्रिय सन्धि भएको थियो । त्यसबेला २४ देशले सम्झौतामा हस्ताक्षर गरेका थिए । यसमा सहमत हुँदै नेपालले सन् १९९४ मा भियना महासन्धि र मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर गरेको थियो ।
विश्वका धेरैजसो देश यसमा सहमत भइसकेका छन् । संयुक्त प्रयासमा ओजन तह केही बाक्लिएको वैज्ञानिक अनुगमन अनुसन्धानले देखाएको छ ।
नोआ र नासाका वैज्ञानिकहरूले सेप्टेम्बरदेखि मध्य अक्टोबरसम्म ओजन तहको अनुगमन गरेका थिए । उनीहरूले यस पटक ओजन तहमा रहेको प्वाल इतिहासकै सातौं सानो प्वाल भएको पत्ता लगाएका छन् । यो अनुगमन अनुसन्धान गत वर्षको अन्तिममा सकिएको थियो ।
हरेक वर्ष ओजोनमा मौसमी रूपमा ठूलो प्वाल देखिने गरेकामा सन् २०२४ को अन्त्यमा उक्त प्वाल निकै सानो देखिएको अनुगमन अनुसन्धानले देखाएको छ ।
वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलमा रहेको ओजन तहले जीवित प्राणीहरूलाई सूर्यका हानिकारक किरणहरूबाट बचाउँछ । ओजोन तहले किरणहरूलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नबाट रोक्छ । यो ओजोन तह हरेक वर्ष पातलो हुँदै गइरहेको भन्ने रिपोर्ट निरन्तरजसो आइरहेका बेला गत वर्ष केही बाक्लिएको रिपोर्ट आएको हो ।
ओजोन तहमा देखिने प्वाल सानो भएको पाइएसँगै ओजोन तह पुनः प्राप्ति भइरहेको भन्ने देखाउँछ । यही बेला नेपालले थप सुधारको नीति लिनेगरी मोन्ट्रियल प्रोटोकल अनुमोदन गर्न लागेको हो ।