२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेपाल निरन्तर हिउँदे खडेरीको चपेटामा

hardik ivf
निमिष झा
२०८१ फागुन ४ गते ०६:४५
नेपाल निरन्तर हिउँदे खडेरीको चपेटामा

काठमाडों : यस वर्ष नेपालमा हिउँदे वर्षा कमजोर भएको छ । हिउँदे वर्षा कमजोर हुँदा हिउँदको बेला हिमालहरू हिउँ नपर्दा कालापत्थरमा परिणत भएका छन् ।

१६ मंसिरदेखि १६ फागुनसम्मको समयलाई हिउँदे अवधि मानिन्छ । यस अवधिमा ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ । तर, यस वर्ष हिउँद अवधि सकिनै लाग्दा हालसम्म ९ दशमलव ५ प्रतिशत मात्र वर्षा भएको छ । जलवायु विज्ञहरूकाअनुसार यो भनेको साह्रै सुख्खा अवस्था हो । 

यस वर्ष हिउँदे अवधि सकिन २ हप्ता मात्र बाँकी छ तर ठूलो वर्षाको सम्भावना छैन । यसैले यो वर्ष सुख्खा हिउँदे वर्षका रूपमा बित्ने जलवायुविज्ञहरू बताउँछन् ।

यस वर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा भएको थियो भने मनसुनपछिको अवधिमा गएको वर्षभन्दा केही कम पानी परेको थियो ।

२ दशकदेखि सुख्खा

नेपालमा हिउँदका ३ महिनामा करिब ६० मिलिमिटर वर्षा हुँदाको अवस्थालाई सामान्य मान्ने गरिन्छ । पछिल्ला धेरै वर्षहरू भने सुख्खा भएका छन् ।

२०८० सालको हिउँदमा सरदर वर्षाको झन्डै २१ प्रतिशत अर्थात् १२ दशमलव ५ मिलिमिटर मात्र वर्षा भएको थियो । त्यसभन्दा अघिल्लो सालको हिउँदमा समेत सरदरको एक चौथाइ मात्र वर्षा भएको थियो । वर्षभर हुने वर्षाको करिब ८ देखि १० प्रतिशत पानी हिउँदमा पर्नुपर्ने मौसमविद्हरू बताउँछन् । नोभेम्बर महिना नेपालका लागि धेरैजसो सुख्खा हुने हुँदा ‘पोस्ट मनसुन’ अवधिमा सबैभन्दा कम पानी पर्ने उनीहरू बताउँछन् ।

नेपालमा सबैभन्दा बढी अर्थात् झन्डै ८० प्रतिशत वर्षा मनसुनमा हुने गर्छ । देशका विभिन्न स्थानमा रहेका २० वटा मुख्य केन्द्रमा मापन गरिने ३० वर्षको औसत हिउँदे वर्षालाई सरदर वर्षा भनिन्छ । त्यसकै आधारमा हेर्दा पछिल्लो झन्डै २ दशकमा नेपालमा धेरैजसो हिउँद सुख्खा पाइएका छन् ।

मौसमविद्हरूले यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने औंल्याएका थिए । हिउँदे वर्षा कम हुँदा त्यसले हिमालमा हिउँ कम देखिनुबाहेक नदीमा पानीको स्तर घट्ने र हिउँदे बालीहरूमा पनि असर गर्ने अधिकारीहरू बताउँछन् ।

२०६२ सालमा हिउँदमा निकै कम अर्थात् औसत ७ दशमलव १ मिलिमिटर पानी परेको थियो । यस्तै, २०६३ सालयता जम्मा ५ वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ ।

मौसम अधिकारीहरू हिउँदमा धेरै पानी पर्ने सम्भावना टरेको जनाउँदै नेपालले ‘हिउँदे खडेरी’ सामना गरिरहेको बताउँछन् ।

मौसम पुर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार यस पटक हिउँद याममा भित्रिएको पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नै भएन । ‘हिउँदे वर्षा नहुँदा हिमालहरू नांगा पहाडमा परिणत भएका छन्’, उनले भने, ‘हालसम्मको अवस्थामा पहिलेका हिउँदमा हुने सरदर वर्षाको करिब ९ प्रतिशत मात्र वर्षा भएको छ ।’ 

जलवायु परिवर्तनको असर

उच्च पहाडी र हिमाली भूभागमा बदली भएन भने हिमपात नै हुँदैन । बदली हुने प्रणाली नै नआइसकेपछि हिमालहरूमा पत्थर देखिन थालेको हो । पछिल्ला केही वर्षमा बझाङको सैपाल हिमालदेखि पछिल्लो समय पोखरा नजिकैको माछापुच्छ्रे हिमाल कालो पत्थरमा परिणत भएका जानकारहरू बताउँछन् ।
हिमालमा त्यसरी हिउँ कम हुनुमा मौसमी चक्रमा देखिएको परिवर्तन जिम्मेवार भएको जलवायु विज्ञहरू बताउँछन् ।

जलवायुविद् डा. धर्मराज उप्रेतीका अनुसार नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन ।  यस्तै, सिमरा, विराटनगर, धनकुटा जस्ता वर्षा हुने क्षेत्रसमेत यस पटक सुख्खा यामबाट गुज्रिएका छन् ।

विज्ञहरू जलवायु परिवर्तनका कारण यस्तो अवस्था आएको हुन सक्ने बताउँछन् । उप्रेतीले भने, ‘यति धेरै कम हिउँ हुनुको मुख्य कारण हिउँ पर्ने र पानी पर्ने समयमा पनि त्यस्तो नहुनु नै हो । माछापुच्छ्रे मात्र होइन, अन्य हिमालमा पनि यति बेला कम हिउँ देखिएको छ ।’

हिमालमा कम हिउँ देखिँदा वरपरको प्राकृतिक सुन्दरतामा मात्र कमी आउने नभई त्यसले तल बग्ने नदी प्रणालीमा बहने पानीदेखि जनजीविकासम्म असर पुर्‍याउने विज्ञहरू बताउँछन् ।

यस वर्ष मनसुनको अवधि औसतभन्दा लामो थियो भने त्यसक्रममा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा भएको थियो । जुनदेखि सेप्टेम्बर महिनासम्म भएको वर्षाको आँकडा सन् १९८१ यताकै सर्वाधिक थियो ।

इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले हिउँको सेतो कम्बलले ढाकिएका हिमालहरू नांगा देखिएका र यो चिन्ताको विषय भएको जनाएको छ ।

केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्नुका साथै शीतलहर पनि चलेको छ । तर, काठमाडौं उपत्यकासहित पहाडी भूभागमा मौसम सफा देखिएको छ ।

काठमाडौं उपत्यका र पहाडी भूभागमा मौसम सफा भई दिनभर घाम लाग्दा माघ महिनामै गर्मी लाग्ने संकेत देखिएको पनि जनाइएको छ ।

यद्यपि, मौसमविद्हरू पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदाको अवस्थाले मौसम सफा भएको बताउँछन् ।

‘यस पटक जाडो महिनामा वर्षा नहुँदा हिमाली क्षेत्रमा हिउँको मात्रा कम भएको छ र त्यसले नदी प्रणाली र तल्लो भूभागमा बसिरहेका मानिसहरूलाई प्रभावित परिरहेको छ’, उप्रेतीले भने ।

डढेलको जोखिम

अधिकारीहरूले खासगरी पहाडी क्षेत्रमा मौसम सफा हुनुका साथै सुख्खा बढेकाले कतिपय स्थानमा डढेलो लागेको छ । क्रमशः बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले डढेलो लाग्ने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिउँद सुख्खा हुँदा जाडोयाम नसकिँदै धेरैतिर डढेलोका घटना देखिन थालिएको छ ।

यस पटक हिउँदमा निकै कम पानी परेका कारण डढेलोको घटना बढेको हो । सामान्यतः मध्य वैशाखतिर सबैभन्दा बढी डढेलो देखिने हुँदा मध्य माघदेखि सम्भावित जोखिम बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यस जाडोमा सरदर पर्नुपर्नेमध्ये करिब १० प्रतिशतजति मात्र वर्षा नहुँदा डढेलोका घटना धेरै हुने सम्भावना रहेको चेतावनी दिएका छन् ।

खासगरी प्री–मनसुन अवधिमा नेपालमा धेरै डढेलो लाग्ने प्रवृत्ति देखिन्छ । तर, अधिकारीहरू सबै याममा नेपालमा डढेलो लाग्ने गरेको बताउँछन् ।

सन् २००२ देखि नेपालमा डढेलोको विवरण राख्न थालिएकामा सन् २०२१ मा सबैभन्दा ठूलो प्रकोप देखिएको थियो ।

हालसम्मकै सबैभन्दा ठूलो डढेलो प्रकोप सन् २०२१ मा भएको थियो । त्यस वर्ष ६ हजार ३०० भन्दा धेरै डढेलोका घटना देखापरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise