२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

रातु नदीमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन्

hardik ivf
मध्यान्ह
२०८१ फागुन ७ गते १६:२५
रातु नदीमा मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन्


बर्दिबास : महोत्तरीको रातु नदीमा फेरि दोहन सुरु भएको छ । महोत्तरी र धनुषाको साँधमा पर्ने रातु नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन् गर्न ठूल्ठूला उपकरण प्रयोग गरिएको छ । 

चालु आर्थिक वर्षका लागि बर्दिबास नगरपालिकाले खोला उत्खननका लागि ठेक्का लगाएको छ । तर अनुगमनको अभावमा ठेकेदारहरूले मापदण्डलाई उल्लंघन गर्दै आइरहेका छन् । 

मापदण्डअनुसार खोलाबाट ३ फिट गहिरो गरेर मात्रै नदीजन्य पदार्थ उत्खनन गर्नुपर्छ । तर, खोलामा गरिएको अनुगमनमा ६ फिटसम्म खनेर नदीको दोहन भइरहेको देखिएको छ । ठेकेदारहरूले पुल नजिकैबाट पनि नदीजन्य पदार्थ उत्खनन गरिरहेका छन् । जबकि पुलबाट ५ सय मिटर टाढाबाट मात्रै उत्खनन गर्न पाइने नियम छ । रातु खोलाको पथलैया खण्डस्थित झोलुंगे पुलको २ सय मिटर नजिकैबाट नदीजन्य पदार्थ उत्खनन भइरहेको पाइएको छ । बर्दिबास नगरपालिकाका उपमेयर तथा अनुगमन समितिकी संयोजक तारादेवी महतोले नदी उत्खनन मापदण्ड अनुसार गर्ने बताएकी छिन् । उनले उत्खननमा मापदण्ड मिचिएको स्वीकार गरिन् ।

खोला दोहनमा अनुगमन तथा संरक्षणको अधिकार पाएकाहरूको मिलिभगत रहँदै आएकोे माओवादी केन्द्रीय सदस्य राजु खड्काले बताए । 

रातु नदी सभ्यताको संरक्षणको माग गर्दै गत वर्ष स्थानीयहरूले सर्वोच्च अदालतसम्म न्याय माग्दै मुद्दा दायर गरेका थिए । मुद्दा अहिले विचाराधीन अवस्थामा छ । स्थानीय सरकारले आफ्नो रवैया नसुधारे फेरि कानुनी उपचार खोज्न बाध्य हुने एमालेका नेता शंकर महतोले बताए । 

‘चुरेबाट बग्ने रातु नदीको अन्धाधुन्ध दोहनले खेतीयोग्य जमिन मरुभूमि भइरहेको छ,’ उनले भने, ‘खानेपानी र सिँचाइको स्रोतहरू सुकेका छन् । यसले जीवनयापन गर्न कठिन बनेको छ ।’

रातु खोलालाई ४ प्याकेजमा विभाजित गरेर बर्दिबास नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि भ्याटबाहेक कुल ८ करोड ४० लाख ९३ हजार १ सय ४१ रुपैयाँमा ठेक्का लगाएको  छ । नगरपालिकाका राजस्व शाखाका सजीव बरालका अनुसार कुल ४ वटै प्याकेजबाट कुल २ लाख ९४ हजार ६ सय ८१ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का बन्दोबस्त गरिएको छ । उत्खननको म्याद जेठ मसान्तसम्म छ ।


 

ADV

सम्बन्धित खबर

Advertise