चितवन : चितवनका चिकित्सक दम्पतीले परिवार गुमाएका र आर्थिक विपन्नता भएका अनाथ बालबालिकाको अभिभावकत्व लिएका छन् ।
आर्थिक अवस्थाले पढ्न नपाएका १८ जान बालबालिकालाई चितवनका वरिष्ठ चिकित्सक डा. अजय न्यौपाने र डा. सरु थापाले उनीहरूको पढाइसहित अभिभावकत्व ग्रहण गरेका हुन् ।
देवघाट गाउँपालिका–५ स्थित कालिका आधारभूत विद्यालयमा बालबालिकालाई शैक्षिक भविष्यको उनीहरूले जिम्मेवारी लिएका हुन् । त्यस अवसरमा उनीहरूले विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीसहित झोला, खेलकुदका सामग्री प्रदान गरे ।
तनहुँँको देवघाट गाउँपालिकाका विकट भेगका १० सामुदायिक विद्यालयका १० बालक र ८ जना बालिकाको उच्च शिक्षासम्मका लागि सम्पूर्ण व्यवस्थापनसहितको जिम्मेवारी उनीहरूले लिएका हुन् ।
उनीहरूले स्थापना गरेको डा. अजय डा. सरु थापा फाउन्डेसनमार्फत ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई सहयोगसहितको अभिभावकत्व लिएका हुन् । बालबालिकाले पढ्न चाहेजति उनीहरूले पढाइदिने छन् ।
आमाबुवामध्ये कुनै एक नभएकालाई आवश्यक स्रोतसाधनसहित शैक्षिक भविष्यको जिम्मेवारी लिएको फाउन्डेसनका संस्थापक डा. न्यौपानेले बताए ।
‘हाम्रो लक्ष्य उनीहरूलाई प्रेम र स्नेहले हुर्काउनु, उनीहरूको सपनाहरूलाई प्रोत्साहन गर्नु र शिक्षामार्फत् उनीहरूलाई सक्षम बनाउनु हो’, उनले भने ।