गोरखा : गोरखाको बारपाक सुलिकोट–५ को ताकुमाझ लाकुरीबोटमा रहेको जलकन्यादेवी माध्यमिक विद्यालयमा प्लस टु संचालनका लागि ६५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयको ७२औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अक्षयकोष संचालन समितिका अध्यक्ष पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले उक्त जानकारी दिएका हुन् । स्थानीयहरुबाट दुई वर्षसम्म चलेको अभियानबाट अक्षयकोष स्थापना गरिएको हो ।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले प्लस टु संचालनका लागि जनस्तरबाट ठूलो रकम उठेको भन्दै सराहना गरेका थिए । साथै उनले विद्यालयको सर्वाङ्गिण विकासका लागि पालिकाले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए ।
शैक्षिक सत्र २०८० देखि विद्यालयमा ११ र १२ कक्षा संचालन भइरहेको विद्यालयका प्रधानाध्यापक उमाकान्त ढकालले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीरबहादुर थापाले दाताहरुलाई धन्यवाद दिँदै शैक्षिक गुणस्तरका लागि शिक्षक मात्र नभइ अविभावक पनि चनाखो हुनुपर्ने बताए ।
विद्यालयको ७२औं वार्षिकोत्सवको अवसरमा विद्यालयले अक्षयकोष संचालन समितिका संयोजक दोलखबहादुर गुरुङ, चन्दादाता हरिजंग दवाडी, टिकादेवी गुरुङ, शारदा भुजेल, राजु खड्का, बिन्दु थापालगायत सबै चन्दादाताहरुलाई सम्मान गरेको छ ।
विद्यालयका वि.सं.२०५६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीहरुले १ लाख १ सय २७ रुपैयाँँको छुट्टै अक्षयकोष स्थापना गरेका छ्न् । सामाजिक संजालमार्फत देश विदेशमा रहेका साथीहरूबीच रकम संकलन गरी अक्षयकोष स्थापना गरिएको संयोजक मधुकर खड्काले जानकारी दिए । अक्षयकोषको ब्याजबाट विद्यालयबाट प्रत्येक वर्ष एसईईमा उत्कृष्ट नजिता ल्याउने एक जना विद्यार्थी र एक जना शिक्षकलाई पुरस्कृत गरिने उनले जानकारी दिए ।