२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

मधेशीको मुक्तिको जिम्मा अब माओवादीले लिन्छ : प्रचण्ड

draupadi film
कृष्ण तिवारी
२०८१ फागुन २४ गते २१:२३
मधेशीको मुक्तिको जिम्मा अब माओवादीले लिन्छ : प्रचण्ड

रौतहट : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशवादी दलहरु अवसरवादको दलदलमा फसेकोले मधेशी दलबाट मधेशी जनताले अब मुक्ति पाउन नसक्ने बताएका छन् । मधेशी दलहरु पछिल्लो समय विभाजन हुँदै गएको र टुटफुटतर्फ उन्मुख रहेको हुँदा कथित मधेशवादी दलबाट मधेशी जनताले अब चाहेर पनि मुक्ति पाउन नसक्ने भएकोले मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने प्रचण्डले बताए ।

‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहटको परोहा नगरपालिकाको लौकाहा बजारमा शनिबार आयोजित मधेश जागरण सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले सक्कली मधेशवादी दल माओवादी मात्रै रहेको र अन्य मधेशवादी दलहरू नक्कली भएको आरोप लगाए । उनले मधेशवादी दलहरुलाई नक्कली मधेशीदलको संज्ञा दिए । मधेशीको असली साथी माओवादी होइन भनीनक्कली मधेशवादी दलले जनतामा भ्रम फैलाएर वर्षौदेखि मधेशी जनतालाई झुक्याउँदै आएको उनले आरोप लगाए ।

उनले मधेशी जनताले नक्कली मधेशवादी दलको भुलभुलैयाबाट अब बाहिरिनुपर्ने भन्दै मधेशीको हक र अधिकार दिलाउनेतर्फ लाग्ने एकमात्र पार्टी माओवादी भएको जिकिर गरे । मधेशको मुक्तिविना देशको मुक्ति सम्भव नरहेकोले अब माओवादीले शोषित, पीडित, चरम अन्याय, विभेद र उत्पीडनमा परेका मधेशी जनताको मुक्ति दिलाउनका लागि लागि परेको स्पष्ट पारे ।

१३ सय मधेशी जनताको बलिदानीपूर्ण संघर्षबाट देशमा प्राप्त भएको उपलब्धीलाई कसैले खतरामा पार्ने काम गरे आफुहरु पुनःजनआन्दोलन सुरु गर्ने प्रचण्डले चेतावनी दिए ।

उनले माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरेको उल्लेख गर्दै मधेशको विकासका लागि माओवादी प्रतिबद्ध रहेको बताए । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हुलाकी मार्ग निर्माणबारे ध्यानाकर्षण गराएपछि बल्ल निर्माण प्रक्रिया अघि बढेको उनले खुलासा गरे ।

प्रचण्डले मधेशमा सिँचाइ, मल बीउको अभाव, कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको कमीकमजोरीलाई सुधार गर्नेतर्फ माओवादी समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रौतहटमा ११० किलोको फूलको माला लगाएर स्वागत गरिएको थियो । ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’ अन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका प्रचण्डलाई शनिबार परोहा नगरपालिका लौकाहा चौकामा आयोजित कार्यक्रममा पार्टी कार्यकर्ताहरूले ११० किलोको फूलको माला लगाएर स्वागत गरेका हुन् । 

पूर्वगृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारहरुलाई रक्षा गर्न माओवादी नेतृत्वको सरकारलाई कांग्रेस र एमालेले ढालेको आरोप लगाए ।

वर्तमान सरकार निरंकुश रहेको र तस्कर तथा भ्रष्टाचारीको रक्षा गर्ने भएकोले भ्रष्टहरुको चुंगुलबाट देशलाई जोगाउन आफुहरु जनताको बीचमा आएको उनले बताए ।

वर्तमान सरकारका कारण देश गम्भीर संकटतर्फ धकेलिएको बताउँदै उनले संकटबाट देशलाई जोगाउनका लागि आफुहरु जागरण अभियानमार्फत जनतालाई जगाउने काम गरिरहेको र सरकारलाई खबरदारी गर्ने काम पनि गरिरहेको बताए । उक्त अवसरमा जनार्दन शर्मा, पम्फा भुसाल, महेन्द्रराय यादव, मातृका प्रसाद यादव, लगायत अभियानका नेताहरूको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise