२०८१ चैत २ गते शनिवार / Mar 15 , 2025 , Saturday
२०८१ चैत २ गते शनिवार
Ads

‘चिठ्ठीपत्र’को सन्देश

hardik ivf
२०८१ चैत २ गते ०६:१५
‘चिठ्ठीपत्र’को सन्देश

–रमा नेपाल

जीवन भन्नु नै संघर्ष, प्रयत्न र प्राप्ति हो भन्ने तथ्यलाई उद्घाटित  गरेको अमूल्य रत्नका रूपमा रहेको छ डा. गोविन्दराज भट्टराईद्वारा लिखित ‘चिठ्ठीपत्र’ नामक पुस्तक । २०३१ सालदेखि २०५३ सालसम्म अध्ययनका लागि घर छाडी परदेशमा रहेका आफ्ना जेठा दाजुलाई भाइले समयसमयमा लेखी पठाएका चिठ्ठीहरू ५० वर्षको लामो समयसम्म सुरक्षित रूपमा संकलन गरी पुनः दाजुले भाइलाई नै उपहारको रूपमा हस्तान्तरण गरी पुस्तकको स्वरूपमा पाठक समक्ष आएको छ ।

पुस्तकमा एउटा सामान्य ग्रामीण परिवेशमा जन्मिएको मानिसले मुलुकको एक सुपरिचित स्रष्टाको रूपमा आफूलाई स्थापित गराउँदासम्म भोगेका आरोह–अवरोहका संघर्षपूर्ण परिघटनालाई नजिकबाट नियाल्न सकिन्छ । पुस्तकमा जीवनका भोगाइ, अनुभव, विचार, क्रिया÷प्रतिक्रियाहरू पठनीय मात्र नभएर उत्तिकै मननीय पनि छन् । 

जन्मदेखि मृत्युसम्म जीवनमा आइपर्ने बाधा व्यावधान तथा अप्ठ्यारा परिस्थितिलाई चिर्दै मानवीय जीवनलाई एउटा उद्यानमा सुगन्ध छर्दै फक्रिरहेको फूल जस्तो बनाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ चिठ्ठीको सँगालो ।   

नेपाली साहित्यको उत्थान, मौलिक साहित्यप्रतिको रुचि, चिन्तन, जीवनका संघर्षलगायतका यावत् विषयलाई चिठ्ठीमार्फत बडो मार्मिक र सटीक ढंगले सम्प्रेषण गरिएको छ ।

‘गोविन्द भन्ने चराको नाम २–४ जनालाई चिन्ने बनाउनु त हो लक्ष्य’, पृष्ठ : ३ ।

गोविन्द नामको चरालाई २–४जनाले चिन्ने बनाउन पाए आफ्नो जीवन सार्थक हुने थियो भन्ने विचार बोकी निरन्तर आफ्नो कर्ममा तन, मनले दत्तचित्त भई घुँडो र मुन्टो एकै ठाउँ बनाई लक्ष्य प्राप्तिका खातिर जोतिरहन्छन् ।

‘समयको आँगनमा भुसको बिस्कुन बनी सुकिरहेछु । किनकिन जीवन गतिहीन जस्तो मात्र नभई नितान्त निस्सार भइरहेछ । उपलब्धिका आकर्षणहरू कुन बोटमा फल्छन्, फुल्छन् भन्नै नसक्नु भएको छ । आफू सम्झन्छु आफ्नो कर्तव्य, दिशाहीन आफ्नाहरू र सबको कमजोर प्रयत्नदेखि बिछट्टै एक्लोपनाले मनलाई ढाक्न खोज्ने । नसोचेको पारामा जीवन यन्त्र घिसारिरहेछु’, पृष्ठ : ६६ ।

बेलाबेलामा आइपर्ने आर्थिक अभाव, दिक्दारी अनि हैरानीले पीडाबोध पनि गर्न पुग्छन् । आफूले सहेका पीडा, उकुसमुकुस, सम्पूर्ण बेथा चिठ्ठीमार्फत दाजुलाई सम्प्रेषण गर्न पाउँदा मन हल्का भएको अनुभूतिले शीतलता प्रदान गर्छ । जीवनका हरेक आरोह–अवरोह, सबै  दुःख, पीडा र कठिन परिस्थितिको जानकारी आफ्ना दाजुलाई चिठ्ठीमार्फत नै अवगत गराउन पुग्छन् ।

मानवीय जीवन न हो, सधैं सिधा बाटोमा एकैनासले बग्दैन, अनेकौं अप्ठ्यारा परिस्थितिको सामना गर्नु नै पर्छ । मानिसले व्यतीत गर्ने दिन पनि सधैं एकैनासको कहाँ हुन्छ र ! हृदयमा गुम्सिएर रहेका पीडा र वेदनाको पोको फुकाउने ठाउँ पनि चाहिन्छ नै । दाजुलाई आफ्नो सम्पूर्ण परिस्थितिको पोको खोलेर चिठ्ठी लेख्छन् गोविन्द ।    

चिठ्ठीको सहायताले मनको भारी बिसाउँदै आफैंले आफूलाई मह्लमपट्टी लगाउँदै हल्का र चंगा भएको महसुस गर्न पुग्छन् र पुनः आफू सुन्दर भविष्यको यात्रामा हिँडेको यात्री सम्झेर सम्हालिँदै आफ्नो कर्मपथमा अघि बढिरहन्छन् । साहित्य सिर्जना, लेखन, प्रकाशन, पढाइ अनि जागिर सबै तत्त्वलाई एउटै डालोमा बोकी गन्तव्यको यात्रामा निरन्तर लम्किरहन्छन् ।

आफूले रोपेको वृक्षले एक दिन अवश्य शीतल छहारी र मीठो फल दिने छ भन्ने अटल विश्वास र अठोटका साथ निरन्तर आफ्नो कर्मकै पुजारी बनिरहन्छन् । सफलता चुम्नु अगाडि कस्ता पीडा, दुःख, कष्ट सहँदै संघर्ष गर्नुपर्छ भन्ने कुराको सटीक उदाहरण उनका चिठ्ठीमा पाउन सकिन्छ ।

जीवन के हो ? दुःख के हो ? भनी जान्न र बुझ्न तथा जीवनमा आफूले चाहेजस्तो सफलता प्राप्त गर्न र उच्च मनोबलका साथ अगाडि बढ्नका निमित्त आजका हाम्रा बालबालिकाहरूका लागि पनि यो पुस्तक आवश्यक खुराक बन्न सक्छ ।

‘आफूभन्दा माथिको आदर गर्ने वस्तुको अस्तित्व छउञ्जेल मनोबल पनि अत्यन्तै बलियो हुने रहेछ । आफ्नो प्राप्ति र त्रुटि पनि उसकै जिम्मा जस्तो लाग्ने । फेरि आफैं जानिफकार हुन खोज्दा केको केको अत्यास हुँदो रहेछ । आरामै छौं । पढाइ, दंगा, विद्रोह तथा हरितालले खाइरहेछ । जीवन गुजराको वेगवान् हुरीसँगै एकाकार भई संसार बिर्सिरहेछु’, पृष्ठ : ७३ ।

भाइका सारा संवेदना, पीडा, उकुसमुकुस, बेथा बिसाउने चौतारी बनी आफ्ना अग्रज दाजु उपस्थित भएका छन् । भाइका दुःखसुखका आत्मीय मित्र नै दाजु बनेका छन् । मनको भारी दाजुलाई  बिसाउन पाउने भाइ अनि सहज रूपमा भाइका पीडा बुझी तदनुरूप व्यवहार गरिदिने दाजु कति महान र उदाहरणीय छन् । पढ्दै गर्दा पाठकका मनमा अत्यन्तै श्रद्धाभाव पैदा भई मनले एकखालको आनन्दानुभूति प्राप्त गर्न पुग्छ र सकारात्मक ऊर्जाले मनलाई सिञ्चित गरिदिन्छ ।  

दाजुप्रति भाइको आदर सत्कार र भाइप्रति दाजुले गरेको प्रेम निकै सराहनीय छ । चिठ्ठीमा भ्रातृत्व प्रेमको भाव सघन रूपमा प्रस्तुत भएको देखिन्छ । संसारमा त्यो भाइ नै महान र सफल हुन्छ, जसको साथमा असल मार्गदर्शक बनेर दाजु निरन्तर साथमा रहिरहन्छन् । त्रेतायुगमा भगवान् श्री राम र लक्ष्मणको जस्तो भ्रातृत्व प्रेम २ भाइबीच रहेको सहजै अनुमान गर्न सकिन्छ ।

उनका चिठ्ठीपत्र पढिरहँदा मलाई चिठ्ठी मात्र पढेरहेको अनुभूति भएन बरु म त कुनै औपन्यासिक कृति पढिरहेकी छु कि भन्ने भान पटकपटक पैदा भई नै रह्यो ।

चिठ्ठीमा साहित्यको चिन्तन र त्यसको उत्थान, २०–२२ वर्षको  ठिटोले उच्चशिक्षा हासिल गर्ने क्रममा काठमाडौंमा आर्थिक अभावले झेलेको पीडा, जीवन संघर्षका कथा, घरका सम्पूर्ण सदस्यलाई शिक्षाले सिञ्चित गर्नुपर्छ भन्ने विराट चेतनाका विचारहरू घनीभूत भएर आएका छन् ।

पाठकलाई संघर्षशील बन्नका निमित्त पुस्तकले निरन्तर प्रेरित गरिरहन्छ । दाजुबाट प्राप्त भएको आवश्यक सल्लाह, सुझाव र सही निर्देशनले जीवनका सुन्दर पाटा पहिल्याउन उल्लेख्य भूमिका खेलेको पाइन्छ । आफ्नो लक्ष्यलाई निरन्तर गन्तव्य बनाई हिँडेका प्रा.डा. गोविन्दराज भट्टराईसँगै नेपाली साहित्यका वरिष्ठ लेखक, समालोचक, कुशल अनुवादक र उपन्यासकारका रूपमा चिरपरिचित छन् । २१ वर्षको कलिलो उमेरमा भुटान पुगेका भट्टराई प्रवासमा नेपालीले व्यतीत गरेका जीवन भोगाइलाई आफैंले प्रत्यक्ष नियाल्न सफल हुन्छन् । यिनै दृष्टान्तलाई समेटी २१ वर्षको उमेरमा नै  ‘मुगलान’ नामक औपन्यासिक कृति लेखी नेपाली साहित्य जगत्मा इँट्टा थप्ने कार्य गर्छन्, जुन कृति अहिले  अंग्रेजी भाषामा अनुवाद भएर आज विश्वविद्यालयको पाठ्यक्रमा समाविष्ट भई पठनपाठन हुंदै आएको छ ।

नेपाली साहित्यको श्रीवृद्धि राष्ट्रियस्तरमा मात्र नभएर अन्तराष्ट्रिय जगत्मा समेत गर्नुपर्छ भनी निरन्तर लागिरहेका छन् भट्टराई । यसैले त सेवा निवृत्त जीवन पनि नेपाली साहित्यको उत्थानमा नै खर्चिरहेका छन् । जुन व्यक्तिले समयको महत्त्व बुझेर ठीक सयमा ठीक निर्णय गर्दै समयको मागअनुसार आफूलाई हिँडाउन सक्छ, ऊ नै जीवनमा सफलता प्राप्त गर्न सक्षम हुन्छ ।

जीवनका हरेक क्षणमा आइपर्ने आपत्, विपद्, दुःख, कष्ट, पीडा, अभाव सबैसँग संघर्ष गर्न सक्नुपर्छ तब मात्र जीवनले सार्थकता प्राप्त गर्न सक्छ भन्ने जीवन दर्शन पुस्तकमा भेटिन्छ । संघर्ष र धैर्यले मानिसलाई ढिलो चाँडो सफलता चुम्ने सामथ्र्य प्रदान गर्छ भन्ने ज्ञान पाठकलाई हुन्छ ।          

‘आखिर आफ्नो भाग्य, कर्म, मार्ग, सीप, उत्साह, संकल्प जे छ, आफैंसँग, अरूको के आश के त्रास ? अब मलाई एउटा नौलो जाँगरले घेरेको छ  । एउटा नयाँ प्रकारको विश्वास र आत्मबलले छोपेको मैले चिन्ता गर्न पटक्कै छोडें । म अतिसन्तुष्ट, परिश्रमी, लगनशील र निरन्तर भविष्यलाई आँखामा राखेर हिँड्न थाले गन्तव्यसम्म पुग्दिनँ कि भन्ने कुनै पनि त्रास छैन मलाई ।’

चिठ्ठीमा व्यक्त यी विचारहरूले आफ्नो भाग्यको निर्माणकर्ता आफू स्वयं हो । भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन । निरन्तर आफ्नो कर्म गर्दै जानुपर्छ । असल कर्मले नै सफलताको शिखर चुम्छ भन्ने आशावादी दृष्टिकोण यो पुस्तकमा मुखरित भएको पाइन्छ ।

अनेकौं चुनौतीको सामनापश्चात् नै सफलता प्राप्त हुन्छ, आजको भोलि नै बिनासंघर्ष केही पनि हात पर्न सक्दैन भन्ने सन्देशको यस पुस्तकले दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise