२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

कथा : सम्बन्ध

shivam cement
समर शर्मा
२०८२ चैत ७ गते ०६:१०
Shares
कथा : सम्बन्ध

धनकुटाका दिलबहादुर उमेरले साठी नाघिसकेका थिए । तर, उनको दिनचर्या अझै उस्तै थियो । बिहानै उठ्ने, गाइगोठ सोहोर्ने, गाई दुहुने, घाँस खुवाउने अनि दिनभर उनीहरूको स्याहार गर्ने । सँगै, खेतको काम पनि नियमित समय मिलाएर गर्नुपर्ने बाध्यता थियो ।

उनकी श्रीमती मायादेवी बितिसकेकी थिइन् । मायादेवी बितेसँगै उनको संसार झन् सानो भएको थियो– घर, गोठ, खेत र केही सम्झनाहरू मात्र ।

उनका दुई छोराहरू– जेठो सुदीप र कान्छो निरज, दुवै शहरमा बसेर काम गर्थे । सुरुमा त फोन गर्थे, पैसा पठाउँथे, चाडपर्वमा आउने गर्थे । तर विस्तारै त्यो सबै कम हुँदै गयो । पछिल्ला केही समयदेखि त फोन गर्न पनि छोडिसकेका थिए ।

तैपनि दिलबहादुरको गुनासो गर्ने बानी थिएन । तर, उनी कहिलेकाहीँ आफैंसँग बर्बराउँथे– ‘छोराहरू आफ्नै जीवनमा व्यस्त भए, ठीकै छ । यही त चाहेको थिएँ– उनीहरू सुखी होऊन् ।’

मनको गहिराइमा भने एउटा खालीपन थियो, जसलाई उनी आफैंले पनि स्वीकार्न चाहँदैनथे ।

एक दिन बिहान उनी गोठतिर जाँदै थिए । बाटोको छेउमा एउटा ८–१० वर्षको केटा बसेको देखे । फाटेको लुगा, धुलोले ढाकिएको अनुहार र आँखा भने निकै थाकेका थिए ।

‘के भयो, बाबु ? यहाँ किन बसेको ?’ दिलबहादुरले सोधे ।

केटाले डराउँदै भन्यो, ‘म... म घरबाट भागेको हुँ ।’

‘किन ?’

‘बुबाले धेरै कुट्नुहुन्थ्यो... पढ्न पनि दिनुहुन्थ्यो जस्तो लाग्दैनथ्यो... काम मात्र लगाउनुहुन्थ्यो । आमा हुनुहुन्न ।’

दिलबहादुर केही बेर चुप लागे । उनी केटाको अनुहार हेरिरहेका थिए– त्यहाँ डर थियो, भोक थियो अनि एक किसिमको आशा पनि ।

‘नाम के हो ?’

‘रोशन ।’

‘खाना खाएको छौ ?’

केटाले टाउको हल्लायो, ‘छैन ।’

दिलबहादुरले उसलाई घर लिएर गए । भान्सामा भएको बाँकी भात तताए, दाल हालेर दिए । रोशनले त्यति स्वादले खायो कि हेर्दाहेर्दै दिलबहादुरको आँखा रसाए । त्यो दृश्यले उनलाई आफ्ना छोराहरू सानो हुँदा खुवाएको समय सम्झायो ।

रोशन त्यस दिन गएन । दिलबहादुरले भने, ‘तिमी चाहन्छौ भने यहाँ बस्न सक्छौ । काम सँगै गरौँला, पढ्न पनि लगाइदिन्छु ।’

रोशनले विश्वास गर्न नसकेजस्तो गरी सोध्यो, ‘साँचै ?’

‘हो, तर एउटा कुरा– भाग्न पाइँदैन है ।’

रोशन मुस्कुरायो । धेरै दिनपछि सायद ऊ ढुक्क भएर मुस्कुराएको थियो ।

दिनहरू बित्दै गए । रोशन बिहानै उठ्थ्यो, दिलबहादुरसँगै गोठ जान्थ्यो, खेतमा सघाउँथ्यो । बेलुका दिलबहादुरले उसलाई पढ्न सिकाउँथे– अक्षर चिनाउने, लेख्न सिकाउने ।

रोशन छिट्टै सिक्न थाल्यो । ऊ चलाख थियो; बस् अवसर मात्र चाहिएको रहेछ ।

गाउँका मान्छेहरूले कुरा गर्न थाले, ‘दिलबहादुरले त अर्काको छोरो पाल्न थालेछन् ।’

‘आफ्नै छोराहरू त शहरमा छन्, किन यस्तो ?’

तर दिलबहादुरलाई त्यस्ता कुराले खासै फरक परेन ।

एक दिन बेलुका रोशनले सोध्यो, ‘बा... म हजुरलाई बाबा भन्न सक्छु ?’

दिलबहादुर एकछिन स्तब्ध भए । त्यो शब्द उनले धेरै समयपछि सुनेका थिए ।

उनले मुस्कुराउँदै भने, ‘मलाई त खुशी लाग्छ, बाबु ।’

त्यस दिनदेखि रोशनले उनलाई ‘बाबा’ भन्न थाल्यो ।

समय बित्दै गयो । रोशन अब गाउँकै विद्यालय जान थाल्यो । शिक्षकहरूले पनि उसको प्रगति देखेर प्रशंसा गर्न थाले ।

‘यो केटा निकै राम्रो छ । ध्यान दिनुभयो भने धेरै अगाडि जान सक्छ,’ एक शिक्षकले दिलबहादुरलाई भने ।

दिलबहादुरको मन गर्वले भरियो । तर जीवन सधैं सजिलो भएन ।

एक जाडोको बिहान दिलबहादुर अचानक बिरामी परे । सास फेर्न गाह्रो भयो, शरीर कमजोर भयो ।

रोशन डरायो । ऊ छिमेकीलाई बोलाउन दौडियो । गाउँलेहरू आए, उनलाई स्वास्थ्य चौकी लगे ।

डाक्टरले भने, ‘उमेर भइसकेको छ... राम्रो हेरचाह चाहिन्छ ।’

रोशन अस्पतालमै बस्यो । रातभर ऊ पनि सुतेन, दिलबहादुरको हात समाएर बसिरहन्थ्यो ।

‘बाबा, तपाईंलाई केही हुँदैन,’ ऊ बारम्बार भन्थ्यो ।

दिलबहादुर कमजोर स्वरमा हाँस्दै भन्थे, ‘मलाई भन्दा पनि तिमीलाई केही हुनु हुँदैन ।’

त्यही बेला शहरबाट फोन आयो– सुदीपको ।

‘बाबा बिरामी हुनुहुन्छ रे ? कस्तो छ हालत ?’

रोशनले फोन उठाएर सबै कुरा सुनायो ।

सुदीप केही बेर चुप रह्यो अनि भन्यो, ‘हामी आउन सक्दैनौँ अहिले... काम छ । पैसा पठाइदिन्छु ।’

फोन काटियो ।

रोशनले केही बोल्न सकेन । उसले फोन तल राख्यो र चुपचाप दिलबहादुरतिर हे¥यो ।

दिलबहादुरले आँखा खोलेर भने, ‘आउँदैनन् है ?’

रोशनले टाउको निहुरायो ।

‘ठीकै छ... उनीहरूको जीवन छ,’ दिलबहादुरले भने, तर आवाजमा पीडा लुकेको थियो ।

केही दिनपछि दिलबहादुरको अवस्था झन् बिग्रियो ।

एक रात उनले रोशनलाई बोलाए ।

‘रोशन...’

‘हजुर, बाबा ।’

‘मसँग एउटा कुरा छ ।’

रोशनको मुटु डरले काँपिरहेको थियो ।

‘मसँग धेरै सम्पत्ति छैन... यो घर, अलिकति जमिन मात्र हो । यदि म... गएँ भने... तिमी यहाँ बस्नु । पढ्नु । आफ्नो जीवन बनाउनु ।’

रोशनको आँखाबाट आँसु बग्न थाल्यो ।

‘बाबा, यस्तो नबोल्नुस् ।’

‘सुन्नू... सन्तान भनेको जन्माउने मात्र होइन रहेछ... मनले बनाउने पनि रहेछ ।’

त्यो सुनेपछि रोशन झनै रुन थाल्यो ।

त्यो रात शान्त थियो । बाहिर चिसो हावा चलिरहेको थियो । तर, सधैं उठेर हिँड्ने दिलबहादुर त्यो बिहान उठेनन् ।

दिलबहादुर नउठेपछि रोशनले उनको हात समातेर धेरैबेर बसिरह्यो । गाउँलेहरू भेला भए । अन्त्येष्टि गर्ने तयारी भयो ।

छोराहरू आएनन् । सबै काम रोशनले ग¥यो– दाहसंस्कार, किरिया, सबै ।

गाउँलेहरू आश्चर्यमा परे । ‘यो त साँचो छोरा रहेछ,’ कसैले भन्यो ।

महिनौँ बिते । रोशन अझै त्यही घरमा बस्छ । पढ्दैछ, काम गर्दैछ । बेलुका कहिलेकाहीँ आँगनमा बस्छ र टाढाको पहाड हेर्छ– जस्तै दिलबहादुर हेर्थे ।

ऊ सम्झन्छ– त्यो दिन, त्यो भात, त्यो माया ।

ऊ बिस्तारै भन्छ– ‘बाबा, तपाईंले दिनुभएको उज्यालो म कहिल्यै निभ्न दिन्न ।’

सम्बन्धित खबर