२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

कथा : सडक पेटीमा पछारिएको त्यो दिन !

shivam cement
खिमराज गिरी
२०८२ फागुन १६ गते ०६:१५
Shares
कथा : सडक पेटीमा पछारिएको त्यो दिन !

बेलुकाको करिब पाँच बजिसकेको थियो । सडकमा सधैँ झैँ केही घरायसी कपडा पछ्यौरामा पोको पारेर सुन्धारा नजिकैको सडक पेटीमा जाँदै थिएँ । एकछिनपछि गन्तव्यमा पुगेँ र मेरा सामान त्यहीँ अरूले राख्ने स्टल नजिकै राखेर म पनि सामान बेच्ने तरखरमा लागेँ । त्यो हाम्रो जीवन धान्ने दिनचर्या नै थियो र बेलुकी केही समयको लागि भनेर खुल्ला गरिएको थियो । संघीय सरकारको आदेशअनुसार निश्चित समय र स्थानमा कपडा बेच्न पाइने थियो र सोहीअनुसार मेरो दिनचर्या सुरु भएको थियो ।

मेरो घर एक दुर्गम पहाडी जिल्लामा पर्दथ्यो । घरमा वृद्ध सासू आमा मात्र हुनुहुन्थ्यो । धेरै पैसा कमाउने मनसायले श्रीमानले पनि आर्मीको सरकारी जागिर छोडेर विदेश जाने सपना बुन्दै हुनुहुन्थ्यो । पछि दुवै जनाको सल्लाह भयो र बच्चाको भविष्य पनि बन्ने, आफू पनि केही पैसा कमाउन सक्ने माध्यम नै सहर र विदेश देखेर नै घरमा ती वृद्ध सासू आमालाई एक्लै थोत्रो घरको जिम्मा लगाएर काठमाडौं आइयो ।

तर मेरो मनसाय नेपालमा नै बस्ने र केही व्यापार गर्ने थियो । तर उहाँको जिद्दीको अगाडि मेरो केही इच्छा चलेन र एक दिन बिचौलियालाई जागिर छोड्दा आएको केही रकम बुझाएर रुसतिर जाने निर्णय गर्नुभयो । रुस र युक्रेन बिचको युद्ध चलिराखेको थियो । दैनिक दुबै तर्फका सेना हताहत भएको खबर आइरहन्थ्यो । तथापि मेरो आग्रहलाई उहाँले लत्त्याएर एक दिन रुसको गन्तव्य पुग्न दिल्ली लाग्नुभयो र करिब २८ दिनपछि रसियामा पुगेर काममा लागेको खबर आयो ।

तर फोन सम्पर्क भने पाँच–छ दिनमा एक पटक हुन्थ्यो । मेरो दिमागमा भने यहाँको सडक व्यापार भन्दा पनि त्यहाँको युद्धमा गुन्जिएको बमवार्डको आवाजले सधैँ नै पिरोलिरहन्थ्यो । आखिर, गरिब देशमा जन्म लिएको पछि हामी जस्ता गरिबको पक्षमा बोल्ने को हुँदो रहेछ र ? दैनिक भगवानको नाम पुकारेर बस्दथेँ । तर महिना पुगे पनि पैसाको आश भने थिएन मलाई ।

एक दिन काठमाडौं महानगरले पनि सडक पेटीमा सामान बेच्ने व्यापारीलाई अब व्यापार गर्न नदिने निर्णय गरेछ । एकातिर बिदेसिएका श्रीमानको अवस्था दयनीय छ भने यता बालबच्चाले बुवा कहिले आउनुहुन्छ भनेर सोधेर हैरान पार्दथे । भएको पैसा बिचौलियालाई बुझाउँदैमा ठिक्क भयो भने अब सडक पेटीमा पनि व्यापार गर्न नपाइने भएपछि यो पापी सहरमा कसरी बाँच्ने र यो पापी पेट पाल्ने चिन्ताले सताउन थाल्यो ।

एक दिन अचानक व्यापार गर्न लागेको ठाउँमा नगर प्रहरी आए र भएको सामान सबै गाडीमा राखेर लैजाने तरखर गर्दै थिए, तर सबै साथीहरू भागे । म भने मेरो सामान लिएर उनीहरूकोमा झम्टिन पुगेँ । श्रीमानसँग फोनमा सम्पर्क नभएको पनि एक महिना भइसकेको थियो । चिन्ता उहाँकै थियो । त्यही आवेशमा आएर म नगर प्रहरीसँग प्रतिकारमा उत्रेँ तर के गर्न सक्थेँ र ? उल्टो ढाडमा लट्ठी बजारियो । म भाग्न खोज्दा अचानक सडकमा पछारिएँ र बेहोस भएँ । केही दिनपछि थाहा पाएँ कि, म त अस्पतालको बेडमा पो रहेछु । पछि यसो सम्झेर मेरा बच्चा कहाँ छन् भनेर सोधेको त कोठामा बस्ने छिमेकीले सम्हालेर राखेका रहेछन् । उता घरमा सासू आमा पनि बिरामी हुनुहुन्छ भन्ने खबर आयो ।

मैले कोठामा गएर बालबालिकाहरूलाई सम्हालेँ । त्यसपछि बालबालिकाहरूको स्कुल जान पनि रोकियो । स्कुलको फी पनि बन्द भयो । चुला चौका पनि चिसिए । सपनाको संसार बिस्तारै बिरानो हुँदै गयो । विदेशबाट श्रीमानको खबर पनि आउन छोड्यो । खाने गाँस पनि बन्द हुने जस्तो भयो । कतैबाट आउने आशा पनि बन्द भयो । आफन्तबाट पनि टाढिनुपर्ने बाध्यता भयो ।

यता भने चैतमा बारीमा फालिएको छेस्को जस्तो सडक पेटीबाट फालिएर बाँचेको थियो मेरो जीवन । आजका दिनमा हामीलाई लेखेर न त त्यो कुरूप सहरमा सुन्दरता छाएको छ न त हामी जस्ता गरिबलाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर नै जुटाइएको छ । देशमा जताततै भ्रष्टाचार व्याप्त छ । जनता भने केही व्यापार गर्न घर–जग्गा, फोहोर, पानी, बिजुली आदिको कर तिर्न स्थानीय र केन्द्रीय सरकारको दोहोरो मारमा परिरहेका छन् ।

तर स्थानीय सरकारले जनताको करको सदुपयोग भने जिम हल बनाउने, धर्मको नाममा पाटी पौवा निर्माण गरी अनावश्यक धार्मिक भ्रमणमा पैसा खर्च गर्ने, आफन्तको नाममा लाइब्रेरी निर्माण गर्ने, जनप्रतिनिधिलाई महँगो गाडी किन्ने, जन्मदिन मनाउँन सरकारी रकम खर्च गर्ने, अनावश्यक करारमा आसेपासे कर्मचारीको रूपमा भर्ना गर्ने गरेका छन् । अर्कोतिर जनताको दैनन्दिनी भने हरेक आवश्यकताबाट वञ्चित भएको छ ।

अझै पनि कयौँ जना गाँस, बास, कपास र अति आवश्यक पर्ने स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । सहरको सुन्दरता खोज्ने नाममा परिश्रम गरेर खाने मानिसहरूलाई प्रहरी लगाएर लखेटिन्छ ! आखिर के हामीलाई लखेटेर, हाम्रो गाँस लुटेर सहरको ट्राफिक जाम रोकिएको छ ? हामी जस्ता गरिबको कुनै लेखाजोखा राखेको छ कुनै सरकारले ?

आज देशमा प्रजातन्त्र र गणतन्त्रका नाममा धेरै शोषण र अत्याचार भएको छ । धेरै नेताहरूको पालनपोषण गर्दैमा वाक्क दिक्क भएका छन् जनता ! बिचौलियाद्वारा धानिएको देशमा सर्वसाधारण जनताले पनि स्वतन्त्रता प्राप्त गर्न धेरै कठिन हुँदोरहेछ भन्ने अनुभव म जस्ती बबुरीले पनि पाएको छु ।

दिनहरू जसोतसो बित्दै गए । एक दिन श्रीमानले फोन गर्नुभयो र भन्नुभयो, ‘सबै सन्चै छौ ? म यहाँ युद्धबन्दीको रूपमा रहेको छु, तैपनि सुरक्षित छु । घरमा आमा र बालबच्चालाई सोधेको छ भनिदिनु, राम्रोसँग बस्नु, मेरो पिर नगर्नु, गाउँतिरै गएर बस्नु, अब हामी जस्ता गरिबको लागि होइन त्यो सहर, बाँचे भेटौँला कुनै दिन ।’ फोन राख्नुभयो ।

मन झन् भक्कानिएर आयो ! भगवानको नाम पुकार्नुबाहेक अरू उपाय केही देखिन मैले । यस्तो गरिब देशभन्दा पनि केही लुटेरा नेताहरूको देशमा जन्मेको फल हामीजस्ता गरिबले बाध्यताले झेल्दै छौँ आज । तथापि मन सम्हालेर राखेँ र गाउँ जाने निर्णय गरेँ । भोलीपल्ट भएका सामानहरू लिएर दुई बालबच्चाहरूको साथमा गाउँ फर्केँ ।

गाउँमा दिनहरू बित्दै गए । उता सासू आमाको अवस्था चिन्ताजनक थियो । अर्कोतिर विदेशबाट श्रीमानको फोन आउन छोड्यो । बच्चाहरूलाई गाउँको विद्यालयमा भर्ना गरेँ । एकातिर बिरामी सासू आमा अर्कोतर्फ कलिला बालबच्चाको हेरचाह र भविष्यको चिन्ताले झन् सताउन थाल्यो । छिमेकीहरू एक आपसमा खस्याकखुसुक कुरा काटिरहन्थे । र, मनमा सोच्दथेँ, जसले पनि बलेको आगो न ताप्ने हुन् ।

एक दिन अचानक फोन आयो । अपरिचित नम्बर थियो, तैपनि मनमा त्रास लिएर फोन उठाएँ । र, एक जना नेपालीले भने, ‘तपाईं श्यामकुमारको वाइफ हुनुहुन्छ ?’

‘हो, म उहाँकै वाइफ, करुणा बोल्दै छु, किन ? उहाँलाई कस्तो छ ? सन्चै हुनुहुन्छ ?’

उनी अक्मकिए र भन्यो, ‘उहाँ युद्धमा परेर निधन हुनुभयो । तर, शव भने हामीले फेला पार्न सकेनौँ । हामी लास पठाउने प्रयास गर्दैछौं । जीवन यस्तै रहेछ, बैनी, पिर नगर्नू । भाग्यको लेखा कसको कहाँ गएर टुंगिन्छ, थाहै हुँदो रहेनछ । पैसा कमाउने लोभले हामी पनि फसियौं । नेपाल फर्किन्छु भनेर चाहेर पनि अब आउने उपाय छैन बैनी !’ फोन राखिदिए ।

जीवनमा यहाँभन्दा बज्रपात अरू के हुन सक्छ र ? भगवानले पनि सायद मलाई मात्र होला यो संसारमा सहन सक्ने शक्ति दिएका भनेर मन सम्हाल्ने कोसिस गरेँ । यता बालबच्चाले बाबा कहिले आउनुहुन्छ भनेर सोधिराखेका छन् भने उता बिरामी सासू आमाले पनि छोराको खबर के छ भनेर सोधिरहँदा जवाफमा ठिकै छ भनेँ, तर आखिर युद्ध मैदानमा लड्दै लड्दै जीवनको अन्त्य भयो श्रीमानको !

आखिर ढाँटेको कुरा र फाटेको टोपी लुकाएर कहाँ लुक्थ्यो र ? एक दिन सबैले थाह पाइहाल्ने कुरा थियो । यसरी सुन्दर भविष्य देखाएर लोभ्याएको त्यो पापी सहरले एकातिर सडक पेटीमा नै पछार्‍यो भने अर्कोतिर सधैँको लागि श्रीमानसँगको बिछोड भयो ।

सम्बन्धित खबर