२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पोखरामा अटो भिलेजको परिकल्पना

shivam cement
झलक शर्मा
२०८२ फागुन २३ गते ०६:१०
Shares
पोखरामा अटो भिलेजको परिकल्पना

पर्यटकीय राजधानी पोखरा आम विश्वसामु सुपरिचित रहेको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक रूपमा सुसम्पन्न पोखराले सबैको मन जित्न सफल भएको छ । बाह्य तथा आन्तरिक पर्यटकको प्रमुख गन्तव्य पोखरा नै हुने गरेको छ । यसको सौन्दर्यीकरणमा रमाउने जनमानसको संख्या पनि दिनानुदिन बढ्दै गएको पाइन्छ । यो सुन्दरभूमि आजभोलि बढ्दो सहरीकरण, औद्योगीकरण र अनियन्त्रित बसाइँसराइको समस्यामा पनि फस्दै गएको पाइन्छ । पोखरा महानगरपालिका मुलुकका ६ वटा महानगरपालिका मध्ये क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरपालिका पोखरा नै रहेको छ । जसको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस महानगरपालिकाको कुल जनसंख्या ५,१३,५०४ रहेको छ । वि.सं. २०१६ सालमा नगरपालिका, २०५२ सालमा उपमहानगरपालिका र त्यसैगरी २०७३ सालमा पोखरा महानगरपालिकाको रूपमा स्थानीय सरकारको भूमिकामा रहँदै आएको छ । महानगरपालिकाले पोखराको सौन्दर्यतालाई जोगाइराख्न विभिन्न समयमा विभिन्न मापदण्डहरू लागू गर्दै आएको छ ।

हालसालै पोखरा महानगर क्षेत्रभित्र पर्ने पृथ्वी राजमार्गको कोत्रेदेखि सेती पुलसम्म, सिद्धार्थ राजमार्गको पृथ्वीचोकदेखि छोरेपाटनसम्म, पोखरा–बाग्लुङ राजमार्गको जिरो किलोमिटरदेखि फेदीसम्म र नगर क्षेत्रका प्रमुख सडकहरूको दायाँ–बायाँका सटर तथा खाली जग्गामा सञ्चालन भइरहेका वर्कसप, गाडी धुने घर, ग्रिल उद्योग, कवाडी संकलन केन्द्रका कारण सवारी आगमनमा कठिनाइ भएको, सहरी सौन्दर्यमा खलल पुगेको र वातावरणीय स्वच्छता कायम गर्न प्रतिकूल असर परेकोले यस्ता प्रकृतिका उद्यम व्यवसायहरू अन्यत्र व्यवस्थापन गर्न आग्रह गरेको छ । बढ्दो सहरीकरण, अव्यवस्थित बजार, ट्राफिक जाम, गाडी मर्मत तथा धुने क्रममा बग्ने माटो, मोविलको लेदोले सहरलाई कुरूप र दुर्गन्धित बनाउँदै लगेको देखिन्छ । यस्ता प्रकृतिका क्रियाकलापले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर पारेको हुन्छ । डेङ्गु, आँखा पाक्ने रोग, स्वासप्रस्वास सम्बन्धी रोगहरू समुदायमा महामारीको रूपमा फैलने सम्भावना रहेको हुन्छ । झन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै प्रवेश र बहिर्गमन द्वार नजिक जथाभावी वर्कसपहरू सञ्चालनमा रहेका छन् । यसले झन् पर्यटक, पाहुनाहरूलाई नकारात्मक सन्देश दिने गरेको छ । वर्कसप स्थानान्तरण सम्बन्धी पोखरा महानगरपालिकाले उठाएको यस्तो कदमले सर्वोपरी हित हुने अपेक्षा आम पोखरेलीबासीको रहेको छ ।

महानगरपालिकाले २०७८ सालमा नै अटो भिलेज निर्माणको परिकल्पना गरी उपयुक्त जग्गा खोजी गर्न समिति गठन गरेको थियो, तर तत्कालीन जनप्रतिनिधिको समयावधि समाप्त भएपछि उक्त कार्यले पूर्णता पाउन सकेन । पुनः २०८० सालमा महानगरपालिकाले तीन प्रकारको अटो भिलेज बनाउने योजना अघि सारेको थियो । जसमा दुईपाङ्ग्रे, चारपाङ्ग्रेका साना सवारी र चारपाङ्ग्रेकै ठूला (हेभी) सवारी साधनको अटो भिलेज निर्माण गर्ने सोच राखेको थियो । यसले पूर्णता पाएमा पोखरामा अटो सम्बन्धी सेवाग्राही, सेवाप्रदायक व्यवसायीहरूलाई सहज हुने देखिन्छ भने सेवाग्राही ठगिने, सेवामा लापरबाही हुने प्रवृत्तिको अन्त्य हुन सक्छ ।

सडक पेटीमै ग्यारेज, गाडी मर्मत तथा सफाइ गर्दा पैदल यात्रीलाई निकै सकस हुने गरेको छ । सहज रूपमा हिँडडुल गर्ने देखि लिएर गाडी सफा गरेको फोहोर पानी जिउमा पर्ने, धुवाँधुलो नाकमुखमा पस्ने जस्ता जोखिम रहिरहेको छ । फुटपाथमा हिँड्दा समेत गाडीको ठक्करको त्रास हुने गरेको पाइन्छ । गाडी मर्मत केन्द्रका मिस्त्री, मर्मतकर्ताले गाडी परीक्षणका लागि सडकमा अनियन्त्रित रूपमा सवारीसाधन गुडाउने गर्दा सवारी दुर्घटना हुने जोखिम उत्तिकै हुन्छ । ग्राउन्ड क्रेज, हाइड्रोजन र जलवायु परिवर्तनका कारण हाल भइरहेका नालाहरूले बर्सातको पानी थेग्न नसकेका कारण विपद्जन्य घटनाहरू घट्न सक्ने खतरा बढेको छ । ध्वनि प्रदूषणले नजिक तथा आसपासका बासिन्दालाई झर्को लाग्ने अवस्थामा पीडित छन् । अनुमति विना सवारी साधनको हर्न, गाडीको स्वरूप परिवर्तन गर्ने कार्यले समाजलाई त्रसित बनाउँदै आएको छ । विशेषगरी युवापुस्तामा मोटरसाइकलमा चर्को आवाज आउने गरी बाइकमा साइलेन्सरको प्रयोग गर्ने, अनावश्यक पेन्टिङ गर्ने, लुकिङ ग्लास प्रयोग नगर्ने, सक उठाउने, ह्याण्डल परिवर्तन गरी चलाउने दुश्साहस देखिन्छ । यस्तो निषेधित कार्यले ध्वनि प्रदूषणदेखि दुर्घटनाको जोखिम निम्त्याउने गरेको छ । यस्तो प्रवृत्ति नियन्त्रण गर्न सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही गरिनु पर्दछ ।

पोखरा महानगरपालिकाको आ.व. २०८२÷०८३ को बजेट वक्तव्यमा सहरी सुन्दरतामा प्रतिकूल असर गर्ने सवारी साधन मर्मत गर्ने वर्कसपहरूलाई एकै स्थानमा व्यवस्थित गर्न अटो भिलेजको स्थापनाका लागि रु. ५० लाख बजेट विनियोजन गरेको छ । बजेटको प्रमुख उद्देश्य नै पर्यटकीय राजधानी पोखराको पर्यटकीय पूर्वाधारको विकास गर्नुका साथै फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनमार्फत प्रदूषण नियन्त्रण गर्ने रहेको छ । पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रममा सहरी सुन्दरता अभिवृद्धि गर्न घनावस्ति क्षेत्रमा रहेका वर्कसप र कवाडी संकलन केन्द्रहरूलाई निश्चित क्षेत्र तोकी स्थानान्तरण गर्न सहुलियत प्रदान गरिनेछ भनी उल्लेख गरिएको छ ।

‘तपाईं हाम्रो रहर, स्वच्छ महानगर’ भन्ने नारालाई सार्थकता दिन क्लिन सिटी, ग्रीन सिटी पोखरालाई स्वच्छ हराभरा बनाई हरित सहरका रूपमा विकास गर्न सबै पक्षको जोडबल आवश्यक हुन्छ । सडक, पुल, बसपार्क, पार्क, उद्यान, चौतारो, सार्वजनिक स्थलहरूमा हुने फोहोर नियन्त्रण गर्नु पर्दछ । सहरी सौन्दर्यतामा आँच आउने गरी होर्डिङ बोर्डहरू राख्ने कार्यलाई निरुत्साहित गर्नु पर्दछ । सवारी प्रदूषण परीक्षण गरी सडकमा गुड्ने गाडीहरूको स्वच्छ वातावरण निर्माणमा ध्यान पुर्‍याउनु आवश्यक छ । वि.सं. २०६७ सालमा पनि तत्कालीन पोखरा उपमहानगरपालिकाले कालो प्लास्टिकको झोला हानिकारक भएको ठहर गर्दै त्यसको प्रयोग र व्यापारमा प्रतिबन्ध लगाएको थियो । आजभोलि बजारमा कालो प्लास्टिकको प्रयोग हटिसकेको पाइन्छ भने पूर्ण रूपमा अन्य प्लास्टिकका झोला, गिलासहरू भने प्रतिबन्धित गर्न सकिएको छैन । त्यसका लागि निश्चित मापदण्ड लागू गर्ने र सो सम्बन्धमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिनु पर्दछ ।

वर्कसप, कवाडी संकलन केन्द्रलाई स्थानान्तरण गर्दा त्यस व्यवसायमा लगानी गर्ने लगानीकर्ता एवं उद्यमीहरूको लगानी र क्षतिपूर्तिबारे महानगरपालिकाले सोच्नु पर्दछ । अटो भिलेजको निर्माणका लागि पोखरा महानगरपालिका एक्लैले सक्दैन, त्यसका लागि निजी क्षेत्रको सहयोग आवश्यक पर्दछ । स्थानीय बासिन्दा, युवा क्लब, वातावरणविद् सरोकारवाला, महिला समूह, नागरिक समाज, सञ्चारमाध्यमको सहकार्य र समन्वयबाट मात्रै यस्ता योजनाहरूलाई पूर्णता दिन सम्भव हुन्छ । अटो भिलेजको परिकल्पना गर्दा सवारी साधनमा आउने आपतकालीन समस्याबारे पूर्वानुमान गर्नु र विकल्प सोच्नु आवश्यक छ । पोखरामा पनि राजधानी काठमाडौं जस्तै ट्राफिक जाम, वायुमण्डलमा पनि धुवाँधुलोको मात्रा बढी देखिन थालेको छ । तसर्थ पोखराको सौन्दर्यतालाई जोगाउन वातावरणमैत्री विकासमा जोड दिनु जरुरी छ ।

सम्बन्धित खबर