२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

'जन्मदिनलाई सत्कर्मसँग जोडौं अभियान' : विभिन्न जातका १३ सय बिरुवा रोपियो

ADV
मध्यान्ह
२०८१ असार २१ गते १४:२८
'जन्मदिनलाई सत्कर्मसँग जोडौं अभियान' : विभिन्न जातका १३ सय बिरुवा रोपियो

रौतहट : रौतहटबाट शुरुवात भएको 'जन्मदिनलाई सत्कर्मसँग जोडौं अभियान'अन्तर्गत गत बुधबार १३ सयभन्दा बढी बिरुवा रोपिएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा रौतहटको सिन्दुरेघारी चादी खोला छेउमा विभिन्न प्रजातीका १३ सयभन्दा बढी बिरुवा रोपिएको हो ।

वृक्षारोपणको शुरुवात रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका थिए । पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफूल बगैंचा तयार गरिदिने कार्य पनि प्रारम्भ भएको छ । वृक्षारोपण शुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले यस्तो पवित्र कार्यमा जोडिन सबैलाई आग्रह गरे । जन्मदिनको अवसरमा अनावश्यक खर्च रोकेर यस्तो पवित्र कार्यमा सबै लाग्नुपर्ने प्रजिअ रेग्मीको धारणा थियो ।

यसैगरी नेपाली सेना रौतहटका प्रमुख सेनानी गंगाबहादुर विष्टले पार्क छेउमा नेपाली सेनाको सहयोगमा फलफूल बगैंचा तयार गरिदिने कार्य प्रारम्भ भएको बताए । सामाजिक कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको नेपाली सेनाले वृक्षारोपण कार्यलाई पनि उत्तिकै महत्व दिँदै आएको प्रमुख सेनानी विष्टको भनाइ थियो ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरे, डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्र, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव नेत्रप्रसाद शर्मा, जन जागृती बहुमुखी क्याम्पसका अध्यक्ष सुर्य थापा, जनजागृती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दुलाल, जनजागृती माविका प्राचार्य शत्रुधन साह, क्यापसका प्रमुख अमृतकुमार केसी, नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका सभापति कृष्ण अधिकारी, चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटालगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा जीवन विज्ञान चन्द्रनिगाहपुरका शैलेश उपाध्याय, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सशस्त्र प्रहरी सन्तपुर बेस क्याम्पका प्रमुख, जिल्ला भू-संरक्षण कार्यालयका प्रमुख, लायन्स क्लबका प्रतिनिधि, पञ्च आधारभूत विद्यालयका प्रधानाध्यापक तथ शिक्षकहरु, सूर्योदय एकेडेमी, प्रेम तुल्सी एकेडेमी विद्यालयका शिक्षक तथा विद्यार्थी, सिन्दुरेघारी टोल विकास संस्था, मुलघर कृषि सहकारी संस्थाका पदाधिकारी, जिल्लास्थित सञ्चारकर्मी, स्थानीय समाजसेवी तथा सर्वसाधारणहरुले वृक्षारोपण गरेका थिए ।

सोही कार्यक्रममा बुधबार जन्मदिन परेका चन्द्रपुर नगरपालिकाका वडा नं. ९ निवासी वासुदेव अधिकारी, मुलघर कृषि सहकारी संस्थाका सहव्यवस्थापक तुलसा पुलामी, जन जागृती मावि सिन्दुरेघारीमा अध्ययनरत छात्राहरु सन्ध्या श्रेष्ठ, सम्झना कुमारी राम र रिता साहले आफनो जन्मदिन विभिन्न जातका फूलका बिरुवा रोपेर मनाएका थिए । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका बासुदेव अधिकारीले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गर्न पाउँदा हर्षित भएको बताए । जन्मदिनको अवसरमा फजुल खर्च नगर्नसमेत अधिकारीले सल्लाह दिए ।

यो अभियानलाई देशव्यापी बनाउने केन्द्रका अध्यक्ष चौलागाईंले जानकारी दिएका छन् । यो अभियानलाई तीव्रता दिन गृह नगर चन्द्रपुर आएका पत्रकार चौलागाईंले अभियानले काठमाडौंमा पनि व्यापकता पाएको जानकारी दिए । सकारात्मक सोचका साथ समाजलाई सत्कर्मतर्फ लैजान यो अभियान अपरिहार्य रहेको पत्रकार चौलागाईको भनाइ रहेको थियो । करिब ३ महिनादेखि यो अभियान रौतहटमा चलिरहेको छ ।

बुधबार भएको कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विष्टले बगैंचा निर्माणका निम्ति नेपाली सेनाले सकेको सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख अतिथि प्रजिअ रेग्मीले यसपटक एसईईमा राम्रो नतिजा ल्याएकोमा जन जागृती मावि सिन्दुरेघारीका प्रधानाध्यापक शत्रुधन प्रसाद साह र अभिभावकका तर्फबाट रामकुमार रोक्कालाई सम्मान गरेका थिए ।

बिहानदेखि चलेको सो कार्यक्रममा सिन्दुरेघारी धर्मशालाको गेटबाट अशोक र धुपिका बिरुवा रोप्दै बर्थ डे पार्कसम्म लैजाने अभियानको समेत धर्मशाला अगाडिबाट शुरुवात गरिएको थियो । प्रराज चौलागाईंले सञ्चालन गरेको सो कार्यक्रम स्थानीय समाजसेवी खडग बहादुर कार्कीलगायत सयौंको सख्यामा स्थानीयहरु अभियानमा सामेल भएका थिए ।

अभियान सफल बनाउन टोल-टोलमा समितिसमेत गठन गरेर दर्जनौं संस्थाका प्रतिनिधित्व हुने गरी रौतहटबाट पहिलोपटक अभियानका रूपमा शुरुवात गरिएको जन्मदिनलाई सत्कर्मसँग जोडौं अभियानलाई ऐक्यबद्धतासहितको हाम्रो सहभागिता लेखिएको ब्यानर बोकेर आ-आफ्नो स्थानमा दिनभरमा १३ सय बिरुवा रोपिएको सिन्दुरेधारी टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद त्रिपाठीले मध्यान्ह दैनिकलाई बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise