-प्रा. तोया नारायण पौडेल
हाम्रो देश नेपाल एक विकासोन्मुख, प्राकृतिक रुपमा नै अति सुन्दर राष्ट्र हो । हाम्रो देशलाई प्रकृतिले धेरै कुरा दिएको छ, तर ति प्रकृतिसम्म देश तथा विदेशका विभिन्न मानिसहरुको पहुँचको लागि देशमा विकास हुनु अति नै आवश्यक छ । कुनै पनि देशको पूर्वाधार जस्तै शिक्षा, सञ्चार, विभिन्न संरचनाहरू र विकासका लागि इन्जिनियरिङ क्षेत्रको भूमिका अपरिहार्य रहेको छ । अँध्यारोतिर लम्किएको देशको भविष्यलाई विकासको उज्यालोतर्फ मोड्ने अभियानकर्ता इन्जिनियर हुन् । नयाँ–नयाँ आविष्कारमा रमाउने र आफुँमा भएको ज्ञानले संसार परिवर्तन गर्ने शक्ति इन्जिनियरमा हुन्छ ।
यस्तै विभिन्न खोज र आविष्कारको माध्यम इन्जिनियरिङ पेशा वर्तमान समाजमा धेरै विद्यार्थीको सपना बनेको छ । यो प्राविधिक युगमा इन्जिनियरिङ विषय भिन्न रचनात्मक कला भएका विद्यार्थीका लागि लोकप्रिय रोजाई बनेको छ । नेपालमा रहेका सबै विश्वविद्यालय पनि गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्छन् । समग्रमा नेपालको इन्जिनियरिको पढाइ विश्वमै स्तरीय मानिन्छ । इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीको निम्ति सैद्धान्तिक ज्ञानदेखि व्यावहारिक अभ्याससम्मको ज्ञान नेपालमै राम्रो छ । अन्य देश को तुलनामा नेपालकै इन्जिनियरिङको शिक्षा नेपाली परिवेशमा सर्वोत्तम मानिन्छ ।
नेपालमा पढ्ने विधार्थीले नेपालको माटो, परिवेशअनुसार काम गर्न सक्ने साथै सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यास पनि हुन्छ । विद्यार्थीले विदेशी विश्वविद्यालयको प्रमाणपत्र लिनु त राम्रो तर, स्वदेश फर्किएर सेवा गर्नेको संख्या चाहिँ कम हुनुले पलायनलाई मात्रै प्रोत्साहन दिएको जस्तो देखिन्छ । बाहिर पढेर आउनेलाई व्यावहारिक अभ्यास कम हुँदा यहाँ आएर के गर्ने, के नगर्ने भन्ने समस्या धेरैमा पाइन्छ । कतिपय विद्यार्थी उतै बस्ने, यहाँको सम्पत्ति बेचेर उतै पलायन हुने प्रवृत्ति पनि बढ्दै गएको छ । यसले अर्थतन्त्रमा जोखिम ल्याउँछ ।
अर्को कुरा, प्लस टू सकेर विदेश गएको विद्यार्थीहरु मध्ये ९० प्रतिशत विद्यार्थीहरुले आफ्नो पढाईलाइ बीचमा नै रोकेर पैसा कमाउने धन्दामा लागेका पनि छन् । किनकि नेपालीले यहाँबाट डलरमा त्यहाँको फि तिर्न सक्दैन । कुनै दिन ति देशले विदेशीलाई फर्काउने नीति ल्यायो भने हाम्रा विद्यार्थीहरुको बेहाल हुन पनि सक्छ । किनकि हाम्रा विधाथीहरुसँग न डिग्री छ, न त्यहाँको समाज खाली पैसा मात्र । यहाँ पढ्ने विद्यार्थीको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास पनि यही हुन्छ ।
कसैलाइ विदेश जाने तिब्र इच्छा छ भने मास्टर्स वा पीएचडी गर्न जाने वातावरण बनाउनुस तर, विदेशबाट पढेर फर्केपछि उनीहरुलाई काम गर्ने वातावरण सरकार र सम्बन्धित निकायले निर्माण गर्नुपर्छ । कहिलेसम्म गरिब देशको नागरिक भनेर परिचय दिने ? यही प्रश्नले गर्दा, लगभग ७० प्रतिशत युवा जति विदेशमा पलायन भैसकेका छन् । आज २० बर्षदेखि ३५ वर्षसम्मका युवालाई देशमा बस्ने र काम गर्ने वातावरण मिलाउन सके देश नै स्वर्ग बन्छ ।
पढेका या नपढेका युवा जति विदेश जाने भएपछि देश कसरी बन्ने ? अनी अर्को कुरा, नेपाली युवाहरु त्यसै पलायन पनि भएका होइनन । र, कसैलाई आफ्नो जन्म थलो छाडेर विदेश जानु इच्छा पनि हुँदैन । तर, युवाहरुको निम्ति यो बाध्यता बनेको छ । मानिस हो सुबिधा खोज्छ, त्यसैले विदेशीनुको विकल्प छैन् । कतिपय विदेशबाट फर्केकाले पनि हामीले गलत त गरेनौ भनेका छन् ।
विश्वका दुई शक्तिशाली राष्ट्रहरुको बीचमा रहेको नेपाल उनीहरुको विकासको तुलनामा १ प्रतिशत पनि विकास भएको छैन् । देश बन्यो र समृद्ध भयो भने अबको १० वर्षभित्रै लाखौं इन्जिनियरको खाँचो हुन्छ । देश बनाउने हो भने पनि राज्यले दक्ष इञ्जिनियर उत्पादन तिर ध्यान दिनुपर्छ ।
(लेखक पौडेल हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज, काठमाडौंका एकाडेमिक डाइरेक्टर हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies