२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

डोल्फु घटनाका लुटेराहरु सार्वजनिक, पाँच जना अझै फरार

ADV
प्रेमराज कार्की
२०८१ असार २३ गते २२:३४
डोल्फु घटनाका लुटेराहरु सार्वजनिक, पाँच जना अझै फरार

मुगु : गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरी सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय मुगुले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिकाका–३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाउँका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् । 

जुम्लाको पातारासी गाउँपालिका–३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट हतियारसहित प्रहरीले छ जनालाई पक्राउ गरिएकामा प्रारम्भिक अनुसन्धानबाट तीन जनाको संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । घटनामा संलग्न अन्य पाँच जना अझै फरार रहेका र उनीहरूको खोजी भइरहेको उनले बताए ।

गत जेठ १४ गते कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न पाटनतिर गएको मौका छोपी आठ जनाको हतियारधारी समूहले गाउँमा लुटपाट गरेको थियो । लुटेरा समूहले गाउँका २४ घर र एक गुम्बाबाट ३५ तोला सुन, नौ सय ९४ तोलाभन्दा बढी चाँदी, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, ९५ तोला मुगाको माला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको भनेर स्थानीयले प्रहरीमा उजुरी गरेका थिए ।

घटना भएको करिब एक महिनापछि लुटपाटमा संलग्न आठमध्ये तीन जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । 

उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट नेपाल आर्मीको ड्रेसलगायत सामान बरामद गरिएको छ । यस्तै, सुनको रिङ्ग दुई थान, सुनकै माडुली दुई थान (बिक्री गरेर पश्चात जुम्ला प्रहरीमार्फत बरामद गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise