२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

देशैभर फैलियो मनसुन प्रणाली, बीपी राजमार्गमा राति गाडी चलाउन बन्द

shivam cement
जानकी पाठक
२०८२ असार ७ गते ०६:३०
देशैभर फैलियो मनसुन प्रणाली, बीपी राजमार्गमा राति गाडी चलाउन बन्द

काठमाडौं : यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको छ ।

यस वर्षको मनसुन १५ जेठमा देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको धेरैजसो भूभागमा विस्तार भएकोमा २९ जेठमा मधेश, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।  

मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताइन् ।

‘हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ,’ उनले भनिन्, ‘भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।’

केही दिनदेखि परिरहेको पानीले उपत्यकाका नदीनालामा जलसतह बढेको छ । बिहीबार बेलुकादेखिको लगातारको वर्षापछि बागमती, धोबीखोला लगायत नदीनालामा जलसतह बढेको हो ।

शुक्रबार साँझ धोविखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

स्याङ्जाका ६५ स्थान जोखिममा

बाढी पहिरोले स्याङ्जाका ६५ स्थान जोखिममा परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बाढीपहिरोका जोखिम ६५ वटा स्थान पहिचान गरेको हो । 

जोखिम स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरिएको हो ।

जोखिमयुक्त स्थानमा बस्दै आएका करिब ३ हजार ८ सय जनाका लागि ९० स्थान छनोट गरिएको हो ।

भारी वर्षा पछि विभिन्न स्थानमा बाढी पहिरोको प्रकोप देखिएको छ । वर्षाले विभिन्न नदीहरूमा जलस्तर बढेको छ भने विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।

१३ हजारभन्दा बढी जोखिममा

मनसुनी वर्षासँगै सुदूरपश्चिम प्रदेशभर प्राकृतिक विपद्को जोखिम देखिएको छ । सरकारी पूर्वानुमानअनुसार यसपटकको वर्षामा सुदूरपश्चिमभर ५२ हजारभन्दा बढी घरपरिवारका करिब २ लाख २८ हजार नागरिक प्रभावित हुने देखिएको छ ।

डडेल्धुरामा १३ हजार ५ सय घरपरिवारका २९ हजार ५९३ नागरिक जोखिममा पर्ने देखिएको छ । यद्यपि, स्थानीय तहको पूर्वतयारी नै प्रभावकारी व्यवस्थापनको आधार बन्ने भए पनि डडेल्धुराको सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले भने अझैसम्म अनुमानित प्रभावितको विवरणसमेत तयार गर्न नसकेको देखिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराले दिएको जानकारी अनुसार जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा बढी जोखिममा रहेको आलिताल गाउँपालिकामा मात्र ७ हजार ८५३ घरपरिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ । त्यसपछि परशुराम नगरपालिकामा ३ हजार ९५१, भागेश्वर गाउापालिकामा ५१०, नवदुर्गा गाउँपालिकामा ३११, अजयमेरु गाउँपालिकामा २०७ र गन्यापधुरा गाउँपालिकामा १६७ घरपरिवार जोखिमको सूचीमा छन् ।

राजमार्गहरू अवरुद्ध

पहिरोका कारण कालीगण्डकी करिडोर सडकखण्ड पूर्णरूपमा अवरुद्व भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

शुक्रबार बिहान अचानक पहिरो खसेपछि गरगरे क्षेत्रको सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्ड १० घण्टापछि एकतर्फी खुलेको छ । राजमार्गको तानसेन–बुटवल खण्डअन्तर्गत तिनाउ गाउँपालिका–३, दोभान र सिद्धबाबा बीचमा ठूलो ढुंगासहित पहिरो खसेपछि बिहीबार रातिदेखि राजमार्ग अवरुद्ध थियो । 

वर्षा निरन्तर भएको र रातको समयमा सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । 

दोभान प्रहरी चौकीदेखि तल्लो सिद्धबाबासम्म दर्जनभन्दा बढी स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

चौडा गरिएका क्षेत्रको सडकमा ठूलाठूला ढुंगासहितको पहिरो खसेको थियो । राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु र त्यसतर्फबाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका थिए । एकतर्फी खुलेसँगै रातिदेखि अलपत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ ।

दोभानदेखि सिद्धबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ । यो सडक भएर केही दिनयता पोखरा तथा कालीगण्डकी करिडोर सडक हुँदै नारायणगढ र काठमाडौं जाने सवारी साधनसमेत गुडेका छन् ।

पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

कपुरकोटबाट साततले निस्कने वैकल्पिक मार्गसमेत बर्सातका कारण गाडी चल्न नसक्ने भएपछि यात्रुहरु अलपत्र परेका छन् । कतिपय नजिकका यात्रु भने हिँडेर आउजाउ गर्न बाध्य छन् ।

लगातारको वर्षाले पहिरो खसेको र सम्बन्धित निकायको डोजर, एक्स्काभेटरले पहिरो पन्छाउने काम गरे पनि माथिबाट ढुंगामाटो खसिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसैगरी मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक पनि पहिरो खस्दा अवरुद्ध भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ मा शुक्रबार पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।  यो स्थान नजिक ४ असारमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । 
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । 

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई बिहीबार राति बाढीले बगाएको थियो । खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको थियो ।

तर सशस्त्र प्रहरी बलले तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गरेको थियो ।

बसमा ३ शिशुसहित ३८ जना यात्रु थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न सकिएको छैन । 

भारी वर्षाले उक्त सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । 

बर्खामा डाइभर्सन बगाइरहने सम्भावना बढी भएकाले विनयी खोलमा डाइभर्सन नबनाउने निर्णय गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी भाविश्वर पाण्डेका अनुसार सरोकारवालाको टोलीले डाइभर्सन नबनाउने निर्णय गरेको हो । उनले खोलामा पुल निर्माण नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग आग्रह गरिएको बताए ।

पुस यता खोलामा आठ पटकसम्म डाइभर्सन भत्काएको छ । मालवाहक सवारी साधान बाहेक अन्य सवारी साधनलाई होङ्सीगेट–सर्दि–दुम्किबास–हुँदै दाउन्नेको सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

यस खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । दैनिक हजारौँ सवारी साधन गुड्न देशको मुख्य राजमार्गमा पुल भाँचिएको पनि छ महिना पुग्न लाग्यो। अहिलेसम्म बन्न सकेको छैन ।

नारायणगढ–बुटवल सडक खण्ड पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार १४ असारमा पुलको उद्घाटन गर्ने तयारी छ ।

वर्षाका कारण नारायणगढ–बुटवल खण्डमा सवारी आवागमनमा समस्या आएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले समेत आग्रह गरेको छ ।

विनयी खोलाको समस्यासँगै दाउन्नेमा सडक चिप्लो भएका कारण अहिले पनि यातायात सञ्चालन गर्न असहज छ ।

सुरक्षा निकाय सक्रिय

देशभर उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेना सक्रिय छन् । विपद् आइपरेपछि यी सबै सुरक्षा निकाय प्राथमिक रूपमा खोज तथा उद्धारमा खटिने गरेका छन् । त्यसका लागि प्रत्येक जिल्लामा स्थानीय तहहरूसँग समन्वय गरेर खोज तथा उद्धार प्रतिकार्य टिमहरू गठन गरिएका छन् । ती टिमलाई सशस्त्र प्रहरीको विशेष टोलीले आधारभूत उद्धार तालिम दिएका छन् । 

सुरक्षा निकायको तयारी योजनामा उद्धार टिम, खाद्यान्न मौज्दात, राहत सामग्रीको उपलब्धता, सूचनाको प्रवाह प्रणाली र आपतकालीन सम्पर्क टेलिफोन तयारी अवस्थामा राखिएको छ । 

बीपी राजमार्ग १५ दिनसम्म बन्द रहने

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक लगाइएको छ ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले शुक्रबार बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटखण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो ।

शनिबारदेखि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट जाने काभ्रे भञ्ज्याङमा रोकिने र काठमाडौं आउनेलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।

‘बर्खाको पानीले सडक जताजतै बगाएको र यात्रा जोखिम हुने भएकाले यस्तो निर्णय गरेका हौं,’ उनले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise