रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका-२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार काठमाडौंबाट महोत्तरीको भिठ्ठामोडतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको बस सोमबार बिहान अनियन्त्रित भई सडकबाट झण्डै ७ फिट तल खसेर दुर्घटना भएको हो ।
बसमा करिब २५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जना यात्रुको अवस्था सामान्य रहेको र उनीहरूको उपचार चन्द्रपुर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि बस चालक फरार रहेका छन् भने अन्य १५ जना यात्रुलाई अर्को सवारी साधनमार्फत गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण चालकले बसमाथि नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।