२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कोशी नहरमा डुबेर मृत्यु भएका युवकलाई ठेकेदारले पौडिन लगाएको खुलासा

ADV
पिन्टु यादव
२०८१ असार ३० गते २०:२४
कोशी नहरमा डुबेर मृत्यु भएका युवकलाई ठेकेदारले पौडिन लगाएको खुलासा

सप्तरी : बिजुलीको तार तान्ने क्रममा पश्चिमी कोशी नहरमा डुबेर मृत फेला परेका युवकलाई अत्यधिक पानीको बहावमा जानीजानी ठेकेदारले पौडिन लगाएको खुलासा भएको छ । उनको शव नहरमा बेपत्ता भएको करिब ५२ घण्टापछि गत २३ गते फेला परेको थियो ।

महादेवा गाउँपालिका–३ बस्ने रामकिसुन यादवको २२ वर्षीय छोरा प्रदीप यादवलाई ज्यालादारीमा पाँच सय रुपैयाँ थपेर दिने प्रलोभनमा पारी सोही गाउँपालिका–२ बस्ने सन्तोष कुमार मण्डलले तार तान्न नहरमा पठाएका थिए । मण्डल अहिले फरार छन् । उनको खोजी कार्यमा प्रहरीले चासो नदेखाएको पीडित परिवारले गुनासो गरेको छ ।  

असार २३ गते सम्ममा भुक्तानी पाउने भन्दै ठेकेदार मण्डलले सोमबार नियमित बन्द हुने नहरमा तीन दिन अगावै शुक्रबार तार तान्न लगाएपछि घटना घटेको मृतकसँगै काममा रहेका महादेवा गापा–३ का सुर्य नारायण यादवले बताए । 

उनका अनुसार ठेकेदार प्रदीपको खुट्टामा डोरी र कमरमा बिजुली तार बाध्न लगाएर नहरमा पौड्न उक्साएका थिए । उनले पसलबाट डोरी किनेर ल्याइदिएका थिए । नहरमा प्रदीप डुब्न लागेको देखेपछि ठेकेदार भागेको उनले बताए । फरार भएका ठेकेदार अहिलेसम्म सम्पर्कमा नआएको उनले बताए । 

यही असार २१ गते दिउँसो महादेवा गाउँपालिका–२ को वडास्तरीय योजना अन्तर्गत बिजुलीको तारपोल जडान कार्य गराउने क्रममा उक्त नहर भएर तार तान्ने क्रममा युवक नहरमा बेपत्ता भएका थिए । घटनास्थलबाट ठेकेदार फरार भएपछि मृतकका साथी सुर्यनारायण र प्रभास यादवले प्रहरीको १०० नम्बरमा फोन गरेका थिए ।

त्यसपछि आएका प्रहरीको सहयोगमा नहरबन्द गरेर खोजी कार्य शुरु भएको थियो । करिब ५२ घण्टापछि एक किलोमिटर टाढा सडेपार पुल नजिकै  शवसँगै बिजुलीको तार र डोरी समेत फेला परेको थियो ।

घरका जेठा छोरा बितेपछि उनको परिवार यतिबेला शोकमा डुबेको छ । उक्त गाउँ नै शोकमा परेको स्थानीय दिपेन्द्र कुमार यादवले बताए । 

उनी केही दिनअघि वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए । काजकिरियामा बसेका भाइ रोहित यादवका अनुसार प्रदीपको इलेक्ट्रिकल कार्यमा रुची रहेको बताए । 

युरोपियन देशमा रोजगारीका लागि तयारी गरिरहेका प्रदीप गाउँ हुँदा बिजुली सम्बन्धी काम गर्दै आएका थिए । त्यो दिन प्रदिप, प्रभास र सुर्य नारायणसँगै सन्तोषको बिजुलीको काम गर्न महादेवा टोल पुगेका थिए । थोरै रकमका लागि तार तान्न गएका उनीहरू ठेकेदार मण्डलको उक्साहटमा परेर प्रदीपको ज्यान गएको बताउँछन् । पहिले ३ सय रुपैयाँ दिने प्रलोभनमा स्थानीय संजय रजकलाई पौडन लगाए । रजकले अत्यधिक वहाव रहेकाले अप्ठ्यारो हुने बताउँदै छोडेपछि प्रदीपलाई उक्साउन थालेको सुर्य नारायण बताउँछन् । पीडित परिवारले आरोपितलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कानून बमोजिमको कारबाही गर्नुपर्ने माग राखेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise