२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

को बढी राजावादी !

shivam cement
२०८२ साउन २४ गते ०६:३०
को बढी राजावादी !

काठमाडौं : राजासहितको हिन्दुराज्य अभियानलाई राजनीतिक एजेन्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा ‘को बढी राजावादी ?’ भन्ने होड चलेको छ । यही होडबाजीमा उत्रिएका नेताहरू अहिले दुई ध्रुवमा विभाजित छन् । राणा परिवारदेखि पूर्वपञ्च र पूर्वराजपरिवार निकटहरूको दल राप्रपामा अहिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणा समूहबीच तनावको स्थिति बनेको हो । 

दुवै समूहले छुट्टाछुट्टै भेला राखेर निर्मलनिवासलाई आपूmले बढी ‘राजावादी एजेन्डा’ बोकेको देखाउने दाउमा नेताहरू लागेका छन् । राप्रपाको पछिल्लो घरझगडाका सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत चासोका साथ हेरेका छन् । गत शनिबार ललितपुरको सानेपामा हिमानी कोष र इन्टरनेसनल क्लबको सहकार्यमा भएको एक कार्यक्रममा पूर्वराजा शाहसहित राजापरिवारका सदस्य र राजावादी जम्मा भएका थिए । सो कार्यक्रममा सहभागी राप्रपाको प्रवक्ताबाट निस्कासित सगुन सुन्दर लावतीलाई पूर्वराजाले पार्टीभित्रको आन्तरिक विवादका विषयमा चासो राखेका थिए । संक्षिप्त भेटका क्रममा शाहसँग लावतीले पनि पार्टीको पछिल्लो समस्याका विषयमा जानकारी गराएको नेताहरूले बताएका छन् ।

पूर्वराजाले पार्टीमा पछिल्लोपटक भएका झगडाका विषयमा चासो राखेपछि राप्रपामा राजानिकट बन्ने प्रतिस्पर्धा अझै बढ्ने अवस्था देखिएको राप्रपाका एक नेताले मध्यान्हसँग बताए । शाहले बेलाबखत राप्रपाका नेताहरूलाई बोलाएर डिनर लन्च गर्दै आएका छन् । राप्रपाको गत महाधिवेशनमा पूर्वराजा शाहनिकट बन्ने दौडमा लागेका कमल थापा र राजेन्द्र लिङ्देनबीच नेतृत्वमा प्रतिस्पर्धा थियो । 

पार्टी अध्यक्षमा लिङ्देनले बाजी मारेपछि पराजय बेहोरेका कमल थापाले पूर्वराजा शाहमाथि आफूलाई हराउन प्रयोग भएको आरोप लगाएका थिए ।  ‘आफूलाई हराउन निर्मल निवास नै लाग्यो,’ उनले भनेका थिए, ‘अहिलेसम्म राजाको पक्षमा लागेर हिन्दुराज्यसहितको राजसंस्थाको मुद्दा उठाएबापत मलाई हराउन निर्मल निवाससमेत लागेको पाएको छु ।’ त्यसपश्चात् कमल थापाले पार्टीको सदस्यता त्याग गरी राप्रपा नेपालको अध्यक्ष छन् । थापाको भनाइलाई सही मान्ने हो भने लिङ्देनले पूर्वराजा शाहको मन जितेर राप्रपाको अध्यक्ष हात पारेका थिए । 

यद्यपि उनी लिम्बुको छोरा भएर हिन्दुराज्यसहितको राजसंस्थाको विषयमा अडिग उभिनु उनको जितको एउटा महत्वपूर्ण कारण रहेको त्यसबेला नै राजनीतिक बहस बनेको थियो । अहिले आएर उनै लिङ्देन र  कमल थापा समूहबाट महामन्त्री बनेका धवलशमशेरबीच को बढी राजावादी बन्ने प्रतिस्पर्धाले पार्टी फुटको अवस्थामा पुगेको जानकार बताउँछन् । 

राजा फर्काउने अभियानको आन्दोलनमा पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले गत चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शनमा पार्टी अध्यक्ष लिङ्देनले सहभागी नहुन दिएको निर्देशनका बाबजुत महामन्त्री धवल र उपाध्यक्ष रवीन्द्र मिश्र सहभागी भएका थिए । त्यसदेखि नै राप्रपाभित्र पसेको विवाद अहिले चरम चुलीमा पुगेको छ । तर आफूले स्थापित गरेको राजासहितको हिन्दुराज्यको एजेन्डामा नवराज सुवेदी, दुर्गा प्रसाईंलगायत बाहिरका व्यक्तिहरू प्रवेश गरेर हडप्न खोजेको लिङ्देनको बुझाइ छ । सो दलमा दुई समूहका नेताहरूबीच अहिले बोलचालसमेत बन्द छ । साथै आगामी नेतृत्वका लागि पूर्वराजा शाहसँग को बढी नजिक भएर पार्टी कब्जा गर्ने भन्ने रणनीतिमा नेताहरू छन् ।   

ADV

सम्बन्धित खबर

Advertise