२०८२ साउन २४ गते शनिवार / Aug 09 , 2025 , Saturday
२०८२ साउन २४ गते शनिवार
Ads

कांग्रेस १५औं महाधिवेशन : संवैधानिक सहुलियत कुर्दा वैधतामाथि प्रश्न

shivam cement
जीवन शर्मा
२०८२ साउन २४ गते ०६:४०
कांग्रेस १५औं महाधिवेशन : संवैधानिक सहुलियत कुर्दा वैधतामाथि प्रश्न

काठमाडौं : आफूलाई लोकतन्त्रको मियो ठान्ने संसदको पहिलो ठुलो दल नेपाली कांग्रेसले समयमा नियमित महाधिवेशन गर्न नसक्ने भएको छ । पार्टी नेतृत्वले आफूअनुकूल नहुँदासम्म १५औं महाधिवेशनलाई पछि धकेल्ने योजना बनाइरहेको छ । नेतृत्वको वरिपरि रहेका नेताहरूले समेत सो योजनालाई स्वीकृत गर्ने तयारी गरिरहँदा महाधिवेशन अनिश्चित बन्ने सङ्केत देखिएको हो ।  

कांग्रेसको विधानअनुसार चार वर्षमा नियमित महाधिवेशन हुनुपर्नेछ । तर सभापतिले एक वर्ष थप गर्न पाउने व्यवस्था गरेको छ ।  विधानअनुसार थप गरिएको समयसमेत गरी पाँच वर्षभित्रमा महाधिवेशन गर्नैपर्नेहुन्छ । यदि विशेष परिस्थितिजन्य कारण देखाई पाँच वर्षमा पनि महाधिवेशन गर्न नसके नेपालको संविधानले ६ महिनाको सहुलियत दिएर साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ, नत्र निर्वाचन आयोगबाट पार्टी नै खारेजीको अवस्थामा पुग्छ ।

नियमित महाधिवेशन समयमै गराउने प्रतिबद्धतासहित पार्टीको उपल्लो तहमा निर्वाचित नेतासमेत समयमै महाधिवेशन गराउने तयारीमा जुटेको देखिँदैन । महाधिवेशनको मुख्य जग क्रियाशील सदस्यता नवीकरण र वितरण प्रक्रियासमेत नेताहरूले पछि सार्दै आएका छन् । नियमित महाधिवेशन समयमा हुँदा २०८२ मंसिरमा पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने हुन्छ । तर त्यो सम्भावना पूर्णतयाः टरिसकेको छ । बरु सो मितिसम्म पार्टीको सदस्यता नवीकरणका लागि थपिएको नेपाली कांग्रेसका नेताहरू बताउँछन् । 

यस अवस्थामा आवधिक निर्वाचन र आवधिक महाधिवेशनको वकालत गर्ने दल कांग्रेसले आफ्नै महाधिवेशन गर्न किन हिचकिचाइरहेको छ भन्ने आमप्रश्न उठेको छ । पार्टीको मूल नेतृत्व सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सत्ता सहयात्राको सम्झौताअनुसार २०८३ असारमा प्रधानमन्त्री बन्ने र त्यसपछि महाधिवेशनको तयारी गर्ने पक्षमा छन् । युवा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सभापतिको योजनालाई स्वीकार गरेका छन् । यद्यपि, उनीहरू कुनै हालतमा पार्टीको महाधिवेशन समय (४ वर्ष)मै गर्ने प्रतिबद्धताका साथ प्रतिनिधिबाट मत पाएर १४औं महाधिवेशनमा महामन्त्री बनेका थिए ।  

‘पार्टीको नियमित महाधिवेशन समयमै गर्नेगरी तयारी गर्नुपर्ने महामन्त्रीहरूले पनि समयसीमा पछि धकेलेका छन्,’ कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘यसमा पार्टीको मूल नेतृत्वको मात्रै दोष छैन । हाम्रो पुस्ताका युवा नेताहरू पार्टीको प्रमुख जिम्मेवारीमा छन् । तर उनीहरूले महाधिवेशनको तयारीका लागि अहिलेसम्म केके गरे ? त्यसको जवाफ त दिनुपर्ला नि ?’ केन्द्रीय कार्यालयमा दुई दिन पनि बस्न नसक्ने पदाधिकारीले महाधिवेशनको तयारी कसरी गर्नुभएको होला भन्ने आमकांग्रेसका नेता कार्यकर्ताको चिन्ता र चासो रहेको महरको भनाइ छ । 

विधानमा चार वर्ष भए पनि पाँच वर्षमा महाधिवेशन गर्ने कांग्रेसको परम्पराअनुसार यसपटक पनि पाँच वर्षमा महाधिवेशन हुने उनले आशा व्यक्त गरे । तर, पूर्वउपसभापतिसमेत रहेका नेता प्रकाशमान सिंहले पार्टीको विधान र नेपालको संविधानअनुसार नेपाली कांग्रेसको १५औं महाधिवेशन हुने बताएका छन् बिहीबार एक सार्वजनिक कार्यक्रममा उनले पार्टीको विधान र देशको संविधानले तोकेको समयावधिमा महाधिवेशन हुने बताएपछि पार्टीका कार्यकर्ताहरू थप सशंकित बनेका छन् । उनको यो अभिव्यक्तिले सभापति देउवालाई पूर्ण सहयोग गरेको छ । 

आगामी पार्टी सभापतिको उम्मेदवारी दिने र त्यसका लागि सभापति देउवाको साथ खोजेका नेता सिंहले देउवाकै चाहनाअनुसारको समयमा महाधिवेशन गरेर आफू नेतृत्वमा पुग्न चाहेको देखिन्छ । तर, उनको कार्यकुशलता र नेतृत्व क्षमताले पार्टी नेतृत्वमा पुग्ने सम्भावना नरहेको कांग्रेसकै केन्द्रीय समितिका नेताहरूले बताउँदै आएका छन् । पार्टीभित्र समयमै महाधिवेशन गर्नुपर्छ भन्दै आएका नेताहरू प्रति आक्रोश व्यक्त गर्दै सिंहले भने, ‘क्रियाशील सदस्यता अपडेटिङ हुनुपर्‍यो, नयाँलाई दिनुपर्‍यो, मौलिक कुरा पूरा हुनुपर्‍यो । त्यो गर्दै नगर्ने अनि टाइममा हुनुपर्‍यो भनेर पदमै बसेर कराएर मात्रै हुन्छ ?’ महाधिवेशन समयमा हुनुपर्‍यो भनेर माग चाहिँ गर्ने, त्यसका लागि समयमा आवश्यक काम पूरा नगरेका कारण समयमा महाधिवेशन हुन नसक्ने ठोकुवा गरे । 

‘पार्टीको विधानमा हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ भनेर किटान गरेको सिंहले बताए ।  ‘पार्टीले गर्नुपर्ने काम पूरा नगरेको खण्डमा एक वर्ष म्याद थप्ने गरेकै छ । हरेक सभापतिले थप्ने गरेकै छ,’ सिंहले भने, ‘त्यति मात्रै नभएर संविधानसभाको समयमा पाँच वर्षमा गर्न नसकेर सर्वदलीय बैठक राखेर, सबैलाई चित्त बुझाएर कांग्रेसले नेतृत्व गरिरहेको बेलामा महाधिवेशन गर्दा संविधान लेखनको काम एकातिर पर्ने भएका हुनाले अर्को ६ महिना थप्न पाऊँ भनेर संविधान संशोधन गरेको हो नि त ।’

सिंहले भनेअनुसार नै अन्य नेताहरूले समेत बोल्न थालेकाले कांग्रेसको महाधिवेशन पाँच वर्षमा पनि हुने सम्भावना नदेखिएको कांग्रेसवृत्तमा बहस चलेको छ । एक वर्ष थप्दा २०८३ मंसिरमा महाधिवेशन हुनुपर्छ । तर, संवैधानीक सहुलियतअनुसार अझै ६ महिना म्याद थप गर्दा २०८४ को असारमा महाधिवेशन गरिसक्नुपर्छ । तर, २०८४ मा स्थानीय तहको निर्वाचन गर्नुपर्ने र सोही वर्षको मंसिरमा आवधिक निर्वाचन गर्नुपर्ने भएकाले पार्टीको महाधिवेशन अनिश्चित देखिन्छ । यस अवस्थामा पार्टीको वैधतामाथि नै प्रश्न उठ्ने संवैधानिक कानुनका विज्ञ बताउँछन् । यद्यपि पार्टीका जिम्मेवार नेताहरूले भने आवधिक महाधिवेशनलाई प्राथमिकता दिएको देखिँदैन ।

ADV

सम्बन्धित खबर

Advertise