२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

वारपारको स्थितिमा ओली-विद्या

shivam cement
जीवन शर्मा
२०८२ साउन २७ गते ०६:३०
वारपारको स्थितिमा ओली-विद्या

काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेभित्र फेरि आन्तरिक असमझदारी चुलिएको छ । दुई महिनाअघि औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर गतिविधि चलाउन थालेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता विद्याबीच वारपारको स्थिति आउन लागेको हो ।  

तर पार्टी राजनीतिमा सक्रियता बढाएकी भण्डारीलाई साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले राजनीतिक सक्रियतामा रोक लगाउने निर्णयसहित पार्टी सदस्यतासमेत स्थगन गरेको थियो । त्यसपश्चात् भण्डारीले थप सक्रिय भएर एमालेभित्र समानान्तर गतिविधि बढाएकी छन् । २०८१ वैशाखमै पार्टी सदस्यता नवीकरण गरेको दाबी गर्ने भण्डारीले २०८२ असार १४ गतेबाट औपचारिक रूपमा पार्टीमा फर्किएको घोषणा गरेकी थिइन् ।

आगामी पार्टी अध्यक्षको तयारीस्वरूप पार्टीमा फर्किएकी भण्डारीको सो घोषणालाई अध्यक्ष ओलीले ठाडै अस्वीकार गर्दै पार्टीको बैठकबाटै सदस्यता रोक्ने निर्णय गराए । त्यसयता एमालेमा ओली र विद्याबीच निकै ठुलो दरार उत्पन्न भएको छ । पार्टीले सदस्यता स्थगन गरे पनि एमालेका नेता कार्यकर्तासँगको निरन्तर भेटघाट र राजनीतिप्रतिको चासोले उनको निजी निवास भंगालमा दैनिकजसो भिडभाड भइरहन्छ ।  

राजनीतिक गतिविधिलाई थप क्रियाशील बनाउने उद्देश्यका साथ भण्डारीले थापागाउँमा सम्पर्क कार्यालय नै खोलिसकेको उनीनिकट नेताहरूले बताएका छन् । तर, भण्डारीलाई रोक्न एमालेले सदस्यताबाटै बन्देज गराएर राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावनाविपरीत हुने निष्कर्ष निकालेको छ । 

यद्यपि, नेपालको संविधान २०७२ ले राजनीतिक अधिकारबाट कसैलाई वञ्चित नगरेकाले पार्टीले आफ्नो अधिकारमाथि अंकुश लगाउने काम गरेको भण्डारीले बताएकी छन् । 

पार्टीले सदस्यता स्थगन गर्ने निर्णयलगत्तै काठमाडौंमा पत्रकार सम्मेलन गरेकी उनले अध्यक्ष ओली र उनीनिकट नेताहरूको प्रवृत्तिप्रति कटाक्ष गरेकी थिइन् । त्यसयता पनि उनले आफूू निकटका पत्रकार, कानुन व्यवसायीसहित पार्टी नेता कार्यकर्तालाई निरन्तर भेटघाट गरिरहेकी छन् । उनको यस्तो गतिविधिप्रति एमाले अध्यक्ष ओली थप रुष्ट बनेका छन् । केही दिनअघि थापागाउँमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि बढाएसँगै पार्टी अध्यक्ष ओली झण्डारीप्रति खुला विरोधमा उत्रिएको देखिन्छ । सोमबार ओलीले भण्डारीप्रति लक्षित गर्दै मदन भण्डारी फाउन्डेसन पाखण्डीहरूले कब्जा गरेको आरोप लगाए । 

पार्टी मुख्यालय च्यासलमा ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’का नवनियुक्त अध्यक्ष प्रदीप ज्ञवालीसहितका पदाधिकारीलाई सपथग्रहण गराउँदै उनले फाउन्डेसनलाई ‘ठगी खाने भाँडो’ बनाइएको टिप्पणी गरेका हुन् । श्रीमान् मदन भण्डारीको नाममा संस्था खोलेर सामाजिक कार्य गर्दै पार्टीका नेताहरूलाई समेत सहयोग पु¥याउँदै आएको मदन भण्डारी फाउन्डेसनको संरक्षक विद्या नै छन् । कुनैबेला एमालेमा आफू संकटमा परेका बेला फाउन्डेसनमार्फत राजनीति गरेका ओलीले अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पकडमा रहेपछि आक्रोश पोखेका हुन् । ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन । हामी मिलेर बनाएका हौं,’ उनले भने, ‘मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउन नपाइने भएपछि मदन–आश्रित स्मृति प्रतिष्ठान बनाउनुपरेको हो । तर यसलाई ठगी खाने भाँडो बनाइएको छ ।’ उक्त संस्था मदन भण्डारीकै विचारविपरीत अघि बढिरहेको ओलीको आरोप छ । अहिले फाउन्डेसनको अध्यक्ष विद्या भण्डारी पुत्री उषाकिरण छिन् । ओलीको यो टिप्पणीले विद्या भण्डारी र उनको परिवारप्रति प्रहार गरेको छ । 

राजनीतिक गतिविधि बढाउन अहिलेका लागि मदन भण्डारी फाउन्डेसनकै प्रयोग गरेर अघि बढ्ने योजना बनाएकी विद्याले ३५ वर्षअघि श्रीमान् मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् । सो कार्यालयमा अहिले पनि मदन भण्डारी फाउन्डेसनकै कार्यालय राखिएको छ । उनले मदन भण्डारी फाउन्डेसनकै कार्यालयबाट आफ्नो राजनीतिक सम्पर्क कार्यालय खोलेको सन्देश पाएपछि ओली विद्यामाथि खनिएका हुन् । कुनै समय ओलीको मुख्य सहयोगीजस्तै बनेकी विद्याललाई ओलीकै बलमा एमालेले राष्ट्रपति बनाएको थियो । दुई कार्यकाल मुलुकको सर्वोच्च निकाय राष्ट्रपतिको जिम्मेवारीमा रहेकी भण्डारी सात वर्षपछि २०७९ मा शीतल निवासबाट आफ्नै घर भंगाल फर्किएकी थिइन् ।

राष्ट्रपतिबाट बिदा लिएको दुई वर्षपछि उनी पार्टी राजनीतिमा सक्रिय भएकी हुन् । अब राजनीतिक यात्रा नरोक्ने चुनौतीका साथ एमाले अध्यक्ष ओलीको दबदबाविरुद्ध लागेको देखिन्छ । सुरुमा उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापासहितका नेताहरूले साथ दिए पनि अहिले ईश्वर र युवराज मौन छन् । स्थायी कमिटी सदस्य कर्णथापासहित केन्द्रीय कमिटीका केही नेताहरू भने भण्डारीको पक्षमा खुलेर लागेका छन् । नेताहरूबीचको यस्तो असमझदारीले एमाले नेता कार्यकर्तासमेत विभाजन भएका छन् । यसले एमालेभित्र तनावको अवस्था आएको नेताहरूले बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise