२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

मोहर्रम पर्व धुमधामका साथै मनाइँदै

shivam cement
२०८१ साउन २ गते ११:३२
Shares
मोहर्रम पर्व धुमधामका साथै मनाइँदै

रुपन्देही : मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । 

रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दु धर्मावलम्बीले पनि ताजिया बनाई विधिवत् रूपमा पूजाअर्चना गरेका छन् । भैरहवा गाउँका पाचु ठाकुर यो पर्वप्रति आफ्नो प्रगाढ आस्था रहेको बताउछन् । वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिएको छ । 

भैरहवाको खजहना, भैयाटोल, कठौतिया, उदयपुरलगायत क्षेत्रमा दुवै धर्मावलम्बीको सहभागितामा ताजिया निर्माण हुँदै आएको छ । भैरहवा बाहिर पनि धकधई, मर्चवारलगायत क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाइने गरिन्छ । हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिए । यिनै सहिदहरूको सम्झनामा ताजिया निस्कने गरेको छ । ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ । 

ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विसर्जन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । हिन्दु तथा मुस्लिम समुदायले समान रूपले मनाउने यो पर्व १० दिनको भए पनि मुख्य रूपमा चार दिन मनाइन्छ । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विसर्जन गरेपछि मेलाको समापन हुने गर्दछ ।

हसन तथा हुसेनको प्रतीकस्वरुप बाँसको ढाँचामा विभिन्न रङ्गीचङ्गी कागज बेरी ताजिया बनाई त्यसको वरिपरि तासा, ढोल तथा मजिराजस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफूले चिताएको मनकामना पूर्ण हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवामा लगातार ताजिया बनाउँदै आएका रमजान मुसलमान बताउछन् । यस वर्ष यो पर्वको तजियालाई आज कर्बलामा विसर्जन गरी समापन गरिँदै छ ।

ताजा खबर

सम्बन्धित खबर