२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

बाबुरामको पद त्यागले अरू दलमा तरंग

shivam cement
जीवन शर्मा
२०८२ असोज ९ गते ०६:२५
Shares
बाबुरामको पद त्यागले अरू दलमा तरंग

काठमाडौं : जेनजी आन्दोलनका समर्थक थिए, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई । तर आक्रोशित भीडले उनकै घर पनि जलाइदियो । आन्दोलनपछिको परिदृश्यमा पनि उनी देखिए । अन्तरिम सरकार गठन हुँदा शीतल निवास पुग्ने एक्ला पूर्वप्रधानमन्त्री उनै थिए । आन्दोलनको सन्देश बुझेरै हुनुपर्छ, अध्यक्षबाट राजीनामा दिएर उपाध्यक्ष दुर्गा सोबलाई संयोजक बनाएर पार्टीलाई विशेष महाधिवेशनमा लगेका छन् । 

भट्टराईले पदत्याग गरेपछि विघटित संसद्का मुख्य राजनीतिक दलका पाका नेतामाथि पनि नेतृत्व छाड्न दबाब बढेको छ । उनको दलमा तत्काल नेतृत्व छाड्न कसैले भनेका थिएनन् । तर आन्दोलनको रापताप नजिकबाट देखेका भट्टराईले नैतिकता देखाउँदै पद छाडेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा पनि शीर्ष तहका नेताहरूले भट्टराईले झैं नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग भइरहेको छ । माओवादी केन्द्रमा पार्टी बैठकमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्नुपर्ने माग गरिएको छ भने कांग्रेस र एमालेमा बैठक नै डाकिएको छैन । जेनजी आन्दोलनपछि यी तीनवटै दलमा आन्तरिक शक्ति संघर्ष चर्किएको देखिन्छ । 

बुधबार नेसपा नयाँ शक्तिका अध्यक्ष डा. भट्टराईले पद त्यागको निर्णय लिएपछि लोसपाका अध्यक्ष महन्त ठाकुरसमेत महाधिवेशन र जिम्मेवारी हस्तान्तरणमा सकारात्मक भएको  देखिन्छ । उनको यो निर्णयले तीन दल मात्र होइन, एकीकृत समाजवादी, जनता समाजवादीलगायत दलहरूको नेतृत्वप्रति दबाब बढेको छ । 

अघिल्लो सरकारको नेतृत्व गरेका एमाले र कांग्रेसमा पुस्तान्तरणको उकुसमुकुस देखिएको छ । एमाले नेताहरूले बदलिँदो परिस्थितिलाई अध्यक्ष केपी शर्मा ओलीले बुझ्नुपर्ने बताइरहेका छन् । तर खुलेरै राजीनामा माग्नेहरू भने कमै छन् । सचिवालयमा विश्वास आफ्नो पक्षमा भए नभएको यकिन नभएपछि ओलीले बैठक बोलाउन सकेका छैनन् । कांग्रेसमा भने विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान नै सुरु भइसकेको छ । जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्था विश्लेषण गरेर पार्टीलाई पुनर्जागृत गर्न पुनर्गठन गर्नुपर्ने महामन्त्री गगन थापा बताउँछन् । 

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले तीनवटा विकल्पसहित पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल बिदा लिन दबाब दिइरहेका छन् । अझै पनि पार्टी नसच्चिए नयाँ ढंगले अघि बढ्न बाध्य हुने भन्दै उनीहरूले नेतृत्वलाई चेतावनी दिइसकेका छन् । त्यसलाई नयाँ पार्टी गठनका रूपमा व्याख्या गर्दै कांग्रेसमा खैलाबैला मच्चिएको छ । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनमा जान नहुने तर्क अघि सारिरहेका बेला महामन्त्रीद्वय थापा र शर्मासहित डा. शेखर कोइराला समूहले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन थालेका छन् । २५ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने कांग्रेसको विधानमा व्यवस्था छ । विशेष महाधिवेशनका पक्षमा बहुमत हस्ताक्षर जुटाउने प्रयत्नमा लागेपछि सभापति देउवापत्नी आरजु राणाले सुदूरपश्चिमका नेता कार्यकर्तामार्फत रोक्न आग्रह गरेकी छन् । एमालेमा भने पार्टी कसरी अघि बढाउने भन्नेमा नेताहरूबीच नै ठुलो अन्योल देखिन्छ । ओलीको विकल्पमा कुनै नेता अघि सरेको स्थिति पनि छैन ।

अन्तरपार्टी शक्ति संघर्षमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा अध्यक्ष प्रचण्डको खिलापमा एकैठाउँमा उभिएका छन् । तर केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको संयोजकत्वमा आयोजक कमिटी गठन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको र  त्यहीँबाट नेतृत्व परिवर्तनको टुंगो लगाइने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । 

नयाँ वैकल्पिक शक्ति निर्माणमा पाँच ‘स’ स्वाधीनता, समावेशी लोकतन्त्र, सुशासन, समृद्धि र समुन्नत समाजवादको राजनीतिक कार्यदिशालाई अवलम्बन गर्ने प्रतिबद्धताबमोजिम २०७३ साल जेठ ३० मा नयाँ शक्ति नेपाल गठन गरेका भट्टराई विभिन्न पार्टी फेर्दै २०७९ सालमा नेपाल समाजवादी पार्टी (नेसपा) पुनर्गठन गरेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा अध्यक्ष महिन्द्रराय यादवसँग मत भेद हुँदा २०८० चैतमा पार्टी विभाजन भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर