काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कमिटी विघटन गरेसँगै आफू अध्यक्ष नरहेको घोषणा गरे । पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार शुुक्रबारबाटै मौजुदा केन्द्रीय कमिटी भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी भएको हो ।
पार्टी अध्यक्ष दाहाल महाधिवेशन आयोजक समितिको संयोजक बनेका छन् । दाहालले अध्यक्ष छाडेर कार्यवाहकको जिम्मेवारी दिई पार्टी महाधिवेशनमा जानुपर्ने वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहाचिव जनार्दन शर्मा, सचिव कार्की, नेता सुदन किराँतीसहित नेताहरूको दाबाबका बाबजुत दाहालकै संयोजकत्वमा विशेष महाधिवेशन गर्नेगरी माओवादी तयार भएको हो ।
यसअघि बुधबार नै पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादी (नयाँशक्ति) पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेतृत्व छाडेर उपाध्यक्ष दुर्गा सोबलाई संयोजक बनाएर पार्टीलाई विशेष महाधिवेशनमा लगेका छन् । जेनजी आन्दोलनका पक्षमा वकालत गर्दै आएका भट्टराई अन्तरिम सरकार गठन हुँदा शीतल निवास पुग्ने एक्ला पूर्वप्रधानमन्त्री हुन् । आन्दोलनको सन्देश बुझेर भट्टराईले अध्यक्षबाट राजीनामा दिएको नेताहरूको भनाइ छ ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेतामाथि नेतृत्व छाड्न दबाब बढेको छ । तर सबैभन्दा पुराना र आफ्लाई लोकतान्त्रिक दल भन्न रुचाउने कांग्रेस–एमालेभित्र अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । माओवादी अध्यक्ष प्रचण्ड पनि पार्टीको नेतृत्व छाड्ने पक्षमा छैनन् । आगामी मंसिरमा हुने विशेष महाधिवेशनमा आफ्नो पक्षमा बहुमत जुटाउने र फेरि नेतृत्वमा पदस्थापन हुनेगरी आफूनिकटका दोस्रो÷तेस्रो तहका नेतासँगको संवाद तीव्र बनाउने तयारीमा छन् ।
शुक्रबार उनले केन्द्रीय समिति भंग गर्दै पार्टीमा जेनजी र युवा पुस्ताबाट कम्तीमा ५० प्रतिशत व्यक्तिहरू केन्द्रीय समितिमा अटाउने योजना अघि सारेका छन् । उनको यो अभिव्यक्तिले पार्टीका बहुसंख्यक युवा प्रचण्डकै पक्षमा लाग्ने र नेतृत्वका लागि फेरि दाहाललाई नै स्वीकार गर्ने अवस्था रहेको नेकपा माओवादी केन्द्रका युवा नेताहरूले दाबी गरेका छन् ।
जेनजीको आन्दोलन र त्यसबाट उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमले सबै दलमा पुनर्गठन अनिवार्य देखिए पनि विघटित संसदको पहिलो र दोस्रो दल कांग्रेस–एमालेका शीर्ष नेताहरूमा चेत नखुल्नु मुलुक, जनता र पार्टीहितविपरीत भएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले बताए । उनले भने, ‘जेनजीको यत्रो आन्दोलनले बढार्न लाग्दा पनि फेरि उठेर आफैं आउँछु भन्नु ओली, देउवा र प्रचण्डका लागि मात्रै नभई सिंगो देश, जनता र पार्टीका लागि हितकर हुँदैन । उनीहरूले अझै पार्टी कब्जा गर्नेगरी अघि बढ्ने हो भने पार्टीको हैसियत नै रहँदैन । ती पार्टीका युवा नेता कार्यकर्ताहरूले पनि सजिलै नछाड्लान् ।’
माओवादीसँगै पुराना दल कांग्रेस, एमाले, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत पार्टी पुनर्गठनको भाउँतोमा फसेका छन् । पार्टी नेतृत्वमा पुुगेकाहरूले आजीवन सत्ता र शक्तिको उपयोग गर्ने र नयाँ पुस्तालाई निषेध गर्दै आएका छन् । जेनजी आन्दोलनको बलमा अपदस्त भएको कांग्रेस समर्थित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनताको विश्वास गुमाउँदासमेत नेताहरूले अझै पुस्तान्तरणको योजना नल्याउनुले दलहरूको बाँकी रहेको धुकधुकीसमेत निमिट्यान्न पार्न खोजेको आमटिप्पणी भइरहेको छ ।
माओवादीभित्रको अन्तर कलह सहतमा आए पनि विशेष महाधिवशनसम्मका लागि उक्त कलहमा ब्रेक लागेको छ । उता बाबुराम भट्टराईका हकमा भने फेरि नेतृत्वमा पुग्ने अवस्था नरहन सक्ने नेसपा नयाँ शक्तिका नेताहरू बताउँछन् । कम्तीमा दुुई दशकदेखि मुुलुकको शासन सत्तामा हालिमुुहाली गर्दै आएका पुुराना र केही वर्षअघि दर्ता भएका नयाँ राजनीतिक दलसमेत आन्तरिक कलहमा रुमल्लिएका छन् । कांग्रेसमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताहरूले विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर अभियान चलाएका छन् । तर पार्टी सभापति देउवा मौन रहँदा उनीनिकटका नेताहरूले हस्ताक्षर अभियानको औचित्यमाथि प्रश्न उठाउँदै आएका छन् । ‘विशेष महाधिवेशनले पार्टीमा थप समस्या ल्याउँछन् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मध्यान्हसँग भने, ‘अहिले नियमित महाधिवेशन गर्ने जग नै बनिसकेको छैन, विशेष महाधिवेशन गर्दा पार्टीमा थप संकट आउँछ । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था ठिक भएपछि उहाँकै नेतृत्वमा बैठक बसी आवश्यक छलफल गरेर पार्टी र देशलाई निकास दिनेगरी सुझबुझपूर्ण निर्णय लिनुपर्छ । हतारमा निर्णय गरेर पछि फेरि पछुताउने कुरा पार्टीमा राम्रो हुँदैन ।’
रास्वपाभित्र पनि पार्टीको पुर्नसंरचना हुनुपर्ने विषय जोडतोडका साथ उठेको छ । यही एजेन्डामा कुरा नमिल्दा सो दलबाट नेता सुमना श्रेष्ठले राजीनामा दिएपछि पार्टीमा थप खैलाबैला मच्चिएको छ । उता नेकपा एमालेभित्र भने धेरै नेताहरू ओलीविरुद्ध अझै बोल्न सकेका छैनन् । पार्टी सचिव योगेश भट्टराईले पार्टीलाई नयाँ ढंगबाट पुनर्संरचित गरेर जानुपर्ने बताए पनि आगामी नेतृत्व कसले गर्ने भन्ने समस्या एमालेमा छ । ओलीले पार्टी नेतृत्व छाडून् भन्ने अधिकांश नेताहरूको सोच भए पनि ओलीका अगाडि उनीहरू बोल्न सक्ने अवस्थामै नरहेको एमालेलाई नजिकबाट बुझ्दै आएका विश्लेषकहरूको दाबी छ । जेनजी आन्दोलनले सबैजसो दलमा अन्तरकलहको बिउ रोपेको छ । आन्दोलनलाई दलहरूले सच्चिएर पार्टीलाई नयाँ पुस्तामा लैजाने मौकाका रूपमा लिनुपर्ने विश्लेषक बताउँछन् ।