
काठमाडौं : शान्ति र लोकतन्त्रको पक्षपाती नेपाली कांग्रेसभित्र पछिल्लो समय अशान्ति र अन्योलता बढेको छ । चार वर्षमा हुनुपर्ने नियमित महाधिवेशन तयारीमा लाग्नुपर्ने कांग्रेसका नेताहरू यतिबेला गुटगत भेला र आरोप प्रत्यारोपमा उत्रिएर दिन गुजारी रहेका छन् ।
विधानले दिएको समय थप गर्ने व्यवस्थाको उपयोग गर्दै आगामी एक वर्षपछि मात्रै महाधिवेशन गर्ने तयारीमा रहेको कांग्रेस जेनजी आन्दोलनपछि तत्काल महाधिवेशनको बहस सतहमा पुगेको हो ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि भएको राजनीतिक उलटफेरले महाधिवेशन गराउनैपर्ने बाध्यात्मक अवस्थामा पुुगेको नेताहरूको भनाइ छ । तर संस्थापन पक्ष र संस्थापनइतर समूहबीच महाधिवेशकै विषयलाई लिएर पक्ष विपक्षमा भेला भइरहेको छ । संस्थापन पक्षका शीर्ष नेताहरूले प्रतिनिधि सभाको निर्वाचनपछि मात्रै महाधिवेशन गर्न सकिने अडानसहित केन्द्रीय समितिको बैठक होल्ड गरिरहेको छ । तर संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मासहितका नेता निर्वाचनअघि १५औं महाधिवेशन वा विशेष महाधिवेशनको पक्षमा खडा भएका हुन् । कांग्रेसमा अहिले महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्नेबारे चर्को बहस चलिरहेको छ ।
संस्थापनइतर समूहका नेता शेखर कोइरालाले भने केन्द्रीय समितिका नेताहरूले मंसिरमा गर्नुपर्ने नियमित महाधिवेशनको समय गुजारकोप्रति आपत्ति जनाउँदै पुस मसान्तभित्र कुनै हालतमा महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले मध्यान्हसँग भने, ‘मैले विगत दुई वर्षदेखि पार्टीको विधानअनुसार नियमित महाधिवेशन गर्नुपर्छ भनेर लागिरहें तर जो जिम्मेबारीमा रहेका नेताहरूले अन्तै ध्यान दिनुभयो र समय गुजार्नुभएको छ । अझै भनेको छु कि पुस मसान्तभित्र १५औं महाधिवेशन कुनै हालतमा गर्नुपर्छ गर्न सकिन्छ ।’
महामन्त्री गगन थापाले पुसको १६ देखि १९ सम्ममा महाधिवेशन गर्न सकिने तालिका केन्द्रीय समितिको बैठकमा पेस गरेका छन् । सो तालिकाप्रति नेताहरूले पक्ष र विपक्षमा धारणा राखिरहेका छन् । संस्थापन पक्षका युुवा नेताहरूले पनि चुनावअगावै महाधिवेशन गरेर जानुपर्ने बताए पनि पुराना नेताहरूले अस्वीकार गरेका छन् । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले लोकतन्त्र र देश अहिले अभूतपूर्व संकटबाट गुज्रिरहेको भन्दै आन्तरिक शक्ति संघर्ष छाडेर एकजुट हुन आग्रह गरे । ‘केन्द्रीय समितिको छलफल विशेष महाधिवेशन कि महाधिवेशन भन्नेमै सीमित रहनु दुर्भाग्यपूर्ण हो,’ उनले भने । संकट समाधान र पार्टीको नेतृत्वदायी भूमिकाबारे छलफल हुनुपर्नेमा त्यो हुन नसकेको उनको टिप्पणी छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन भएको थियो । विशेष महाधिवेशनको पक्षमा कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । उनको अभिव्यक्तिले नेताहरूबीचको दूरी थप बढेको देखिन्छ ।
सोही विषयलाई लिएर केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीमा विशेष महाधिवेशन माग गर्नेलाई कारबाही गर्नुपर्ने बताए । केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले विशेष महाधिवेशनको माग गर्दै फेक हस्ताक्षर ल्याइएको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘विशेष महाधिवेशनको माग गरेर फेक हस्ताक्षर गर्नेहरूलाई अनुशासन समितिले कारबाही गरेर पार्टीबाट निकाल्नुपर्छ ।’ दुुई पक्षबीचको आन्तरिक लडाइँले कांग्रेस अनिर्णीत बनेको छ । गत असोज २८ बाट सुरु भएको केन्द्रीय समितिको बैठक फेरि आइतबारसम्म सारिएको छ । यसले महाधिवेशन, विशेष महाधिवेशन वा आमनिर्वाचनको विषयमा समेत कांग्रेसले केही समय निर्णय गर्न नसक्ने अवस्था देखिएको विश्लेषकले टिप्पणी गरेका छन् ।