
आफ्ना माता–पिताबाट प्राप्त भाषा नै मातृभाषा हो । यसका आफ्नै जरा, स्मृति र विम्बहरू हुन्छन् । मातृभाषाले विशेष प्रकारको सांस्कृतिक आचरण प्रदान गर्छ, जुन कुनै आयातीत भाषाबाट सम्भव हुँदैन । मातृभाषासँग यस्ता अनेक तत्व जोडिएका हुन्छन्, जसका कारण यसको सम्प्रेषण त्यो भाषा बोल्नेहरूका लागि अत्यन्त मार्मिक हुन्छ । यो इतिहास र संस्कृतिसँग पनि सम्बन्धित छ ।
संस्कृतिको काम विश्वलाई केवल विम्बहरूमा व्यक्त गर्नु मात्र होइन, बरु ती विम्बको माध्यमबाट संसारलाई नयाँ दृष्टिले हेर्ने तरिका अझ विकसित गर्नु हो । तर औपनिवेशिक दबाबका कारण विश्वलाई यस्ता भाषामा हेर्न र व्याख्या गर्न मानिसहरू विवश पारिए, जुन वास्तवमा उनीहरूका आफ्नै भाषा थिएनन् । त्यस्ता भाषामा मानिसका वास्तविक सपना पनि पूर्ण रूपमा समेटिन सक्दैनन् ।
साम्राज्यवादले संसारमा हैकम जमाउन खोज्दा सबैभन्दा पहिले सांस्कृतिक धरातलमै आक्रमण गर्छ । उसले अन्य भाषाहरूको अवमूल्यन गर्न थाल्छ र स्थानीय जनताले बोल्ने भाषालाई हीन भाषाका रूपमा चित्रित गर्छ । यसरी मानिसहरू आफ्नै मातृभाषा बोल्न पनि हिच्किचाउँन थाल्छन् । विस्तारै अपरिचित विदेशी भाषाको प्रभुत्वको महिमामण्डन गर्न थालिन्छ र मानिसहरू त्यही भाषामा अभिव्यक्त हुन अभ्यस्त बन्छन् । अन्ततः आफ्नै मातृभाषालाई परित्याग गर्ने अवस्था आउँछ र गर्वका साथ भन्न थालिन्छ– हाम्रा बालबच्चालाई त मातृभाषा नै आउँदैन !
मातृभाषामै उखान–टुक्का, लोककथा, सूक्ति र जनजीवनका अनुभवहरू सुरक्षित हुन्छन् । ती मानिसका स्मृतिको धरतीसँग जोडिएका हुन्छन् । यसमा किसानको शक्ति, जीवनको गहिरो अनुभूति तथा विशिष्ट सामाजिक र मनोवैज्ञानिक बनावट समेटिएको हुन्छ, जसबाट अस्मिताको निर्माण हुन्छ ।
सच्चा लेखकले आफ्नो मातृभाषामा जति तीव्रता र तीक्ष्णताका साथ भावना व्यक्त गर्न सक्छ, त्यति अन्य भाषामा सम्भव हुँदैन । आत्मअन्वेषणको जुन गहिराइ मातृभाषासँग जोडिएको हुन्छ, त्यो अरू भाषामा पाइँदैन । अन्य भाषामा कुरा गर्न त सकिन्छ, तर मातृभाषामा जस्तो मार्मिकता र आत्मीयता त्यहाँ सम्भव हुँदैन । यो भाषिक तथा सांस्कृतिक विज्ञानले पनि स्वीकार गरेको तथ्य हो । मातृभाषाबाट आफ्ना परिवेश र पर्यावरणको बोध हुन्छ । यसले समाजलाई समृद्ध बनाउँदै विछिन्नताबाट जोगाउँछ । मातृभाषाले यस्तो मौखिक लय प्रस्तुत गर्छ, जसमा प्रकृति र परिवेशसँग समाजको संघर्ष पनि अभिव्यक्त हुन्छ । त्यहीँबाट साहित्य र संस्कृतिका सकारात्मक, मानवीय तथा लोकतान्त्रिक तत्वहरू प्रकट हुन्छन् ।
आफ्नो संस्कृतिको जरासम्म पुग्दा मात्र आत्मीयताको अनुभूति हुन्छ । उधारो भाषाले हाम्रा साहित्य र कलाको सम्पूर्ण विकास गर्न सक्दैन, किनभने त्यसको चिन्ता र चासो हाम्रो रागात्मक जीवनसँग प्रत्यक्ष जोडिएको हुँदैन । यस्तो उधारो भाषाको सत्ता केन्द्र अन्यत्र हुन्छ र त्यो मातृभाषाजस्तो जनआकांक्षाको संवाहक बन्न सक्दैन । मातृभाषामा धरतीको सुगन्ध हुन्छ, कल्पनाशीलताको पारम्परिक शृंखला हुन्छ, जुन अन्य भाषामा सम्भव हुँदैन– विशेषतः औपनिवेशिक हिसाबले थोपरिएको भाषामा त झन् कदापि हुँदैन ।
वास्तवमा मातृभाषाहरूले जनताको संघर्ष बोल्छन् । मातृभाषाको महत्व बुझ्ने व्यक्तिलाई थाहा हुन्छ कि आन्दोलन, लोकछवि, आत्मविश्वास र परिवर्तनका लागि यसभन्दा प्रभावकारी माध्यम अरू हुन सक्दैन । लेखक वा चिन्तकको सरोकार त्यही भाषासँग हुन्छ, जुन भाषा जनताले बोल्छन् र जसको सेवाका लागि उसले आफ्नो कलम उठाएको हुन्छ । यसरी उसले त्यही गीत गाउँछ, जुन जनताले चाहेका हुन्छन् । मातृभाषाको प्रयोगको अर्थ सोझै जनसरोकारसँग जोडिएको हुन्छ, जसले सामाजिक तथा राजनीतिक निहितार्थको पनि बोध गराउँछ ।
मातृभाषा मानिसहरूको अस्मिताको आधार हो । यही माध्यमबाट मानिसका वास्तविक आवश्यकताहरू गीत, नृत्य, नाटक र कवितामा अभिव्यक्त हुन्छन् । त्यहीँबाट नयाँ चेतनाको आकांक्षालाई पनि वाणी प्रदान गर्न सकिन्छ । श्रमिक वर्ग तथा जनसामान्यलाई उनीहरूको आफ्नै मातृभाषामा प्रभावकारी रूपमा सम्बोधन र सम्प्रेषण गर्न सकिन्छ ।
मातृभाषामा संरचनात्मक रूपान्तरणको प्रक्रियामा शिक्षा र संस्कृतिको निर्णायक भूमिका हुन्छ । शिक्षा र संस्कृतिबीच गहिरो सम्बन्ध हुन्छ, जसले सामाजिक, राजनीतिक र आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्छ । त्यसैले यस प्रक्रियामा मातृभाषाको प्रभावकारी भूमिका रहन्छ । औपनिवेशिकताबाट प्रभावित सांस्कृतिक क्षेत्रहरूमा मातृभाषाको आवश्यकता प्रायः स्वीकार गरिँदैन । त्यस्ता वर्गले आफ्ना लागि त्यस्तो भाषाको चयन गर्छन्, जुन उनीहरूको वर्गीय हितको प्रतिनिधित्व गर्छ । यस्तो समाजमा त मातृभाषा बोल्ने बालबालिकाले समेत दण्ड पाउने अवस्था देखिन्छ ।
सत्य के हो भने संस्कृति स्वयं इतिहासको अभिव्यक्ति र उत्पादन हो । यसको निर्माण प्रकृति र मानिसबीचको सम्बन्ध तथा अन्तक्र्रियामा आधारित हुन्छ । त्यसैले यसमा मातृभाषाको अन्तरंग प्रवेश हुन्छ । मातृभाषालाई आधार बनाउँदा सामुदायिक जीवनमा आबद्ध जनसमुदायले आफ्नो भाषा, साहित्य, कला, नृत्य तथा शिक्षा प्रणाली विकास गर्छन्, जसले इतिहास र भूगोललाई एक पिँढीबाट अर्को पिँढीसम्म पुर्याउँछ ।
यसको मूल त्यो सौन्दर्यबोध हो, जुन हाम्रा लोककथा, हाम्रा सपना, हाम्रो ज्ञान–विज्ञान र भविष्यका कामनाहरूमा लुकेको छ । यसको सौन्दर्य आफ्नै धरतीको गन्धबाट उत्पन्न हुन्छ । अन्य भाषालाई अपनाउने वा तिनका माध्यमबाट अभिव्यक्त हुने कुरामा कुनै खराबी छैन । ज्ञान–विज्ञान वा सामाजिक विज्ञान सिक्नका लागि अन्य भाषाको प्रयोग गर्नु पनि स्वाभाविक हो । तर मातृभाषाको रचनात्मकतालाई हीन ठान्ने शक्तिहरूको पहिचान गर्नु र तिनबाट सतर्क रहनु अत्यावश्यक छ ।
हाम्रो अस्मिता, साहित्य र सिर्जनात्मकताको सर्वोच्च वैभव मातृभाषामै सम्भव छ । यो असीम सम्भावनाको किनारा हो । यो हाम्रो मातृभूमिको रंग हो । यसमा हाम्रा स्वदेशी, राष्ट्रिय र स्थानीय मूल्यहरू सुरक्षित छन् र ती हाम्रा लागि भविष्यकामी पनि छन् । मातृभाषामा परम्पराको जीवन्तता हुन्छ । यो अरू देश वा धाराको मुखापेक्षी हुँदैन । यो हाम्रो आफ्नै गोमुखबाट बग्ने स्रोत हो, जसमा हाम्रो गर्मी र शीतलता दुवै हुन्छ । हाम्रा नसा र कोशिकाहरू त्यसबाट रोमाञ्चित हुन्छन् । यसले हाम्रो दीर्घकालीन सभ्यताको केन्द्रीयता कायम राख्छ ।
मातृभाषा हाम्रो गहन आकर्षण, प्रीति र मुक्ति पनि हो । यसले हामीलाई परम्परासँग जोड्दै परिष्कृत बनाउँछ । यसले दिने मिठास अरू कुनै भाषाले दिन सक्दैन । मातृभाषा जीवन्त अभिव्यक्तिको सबैभन्दा सुन्दर माध्यम हो । यस्तो भाषा केवल सहज शिल्प मात्र होइन, अर्थपूर्ण सम्भावनाको विशाल क्षेत्र पनि हो । मातृभाषामा कट्टरता हुँदैन, बरु यो स्वभावतः जनपक्षधर हुन्छ । यसमा मानिसका स्मृति–विम्बहरू सुरक्षित र पल्लवित हुन्छन् । यसमा जति पारम्परिक अर्थगर्भता हुन्छ, त्यत्तिकै वैज्ञानिकता र मानवमुक्तिको सम्भावना पनि निहित हुन्छ । यही तथ्यलाई आत्मसात् गर्नु आजको आवश्यकता हो ।