२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

दल-जेनजी फेरि तनाव

shivam cement
जीवन शर्मा
२०८२ मंसिर ४ गते ०६:४०
Shares
दल-जेनजी फेरि तनाव

काठमाडौं : नेकपा एमाले र जेनजी समूहबीच फेरि तनावपूर्ण स्थिति सिर्जना भएको छ । बुधबार नेकपा एमालेको भ्रातृ संगठन युवा संघले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रम राखेको थियो । सो कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलसहित भानुभक्त ढकाल, महेश बस्नेतलगायतका नेता काठमाडौंबाट सिमरा जाँदै थिए । नेताहरू सिमरा विमानस्थल झर्ने पक्का भएपछि स्थानीय जेनजी समूहका युवाहरू विमानस्थलबाहिर जम्मा भएर नेतालाई रोक्ने प्रयास गरेका हुन् । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा स्थिति असमान्य भएको हो ।  

भदौ २३ र २४ को जेनजी आन्दोलले सत्ता उलटपुलट बनाएसँगै सुशीला कार्की नेतृत्वको नागरिक सरकारले देशको शासन सत्ता चलाएको छ । चुनाव गराउन गठन भएको अन्तरिम सरकार चुनावको तयारीमा लागिरहँदा राजनीतिक चुनावको मुख्य सरोकारवाला पक्ष राजनीतिक दलहरूले आफ्ना राजनीतिक कार्यक्रम लिएर जिल्लास्तरमा जान थालेका छन् ।  यसै सन्दर्भमा बुधबार एमालेका नेताहरू पार्टी कार्यक्रममा सहभागी हुन जान पाएनन् । 

सरकारले घोषणा गरेको फागुन २१ को प्रतिनिधि सभा चुनावका सम्बन्धमा यस घटनाले संशय थपेको देखिन्छ । पार्टी नेताहरूलाई स्वागत गर्न पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह र अच्युत मैनाली विमानस्थलमा पुगेका थिए । तर महेश बस्नेत बारा ओर्लने सूचना पाएलगत्तै मंगलबारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध कार्यक्रम तय गरेको स्थानीय प्रशासनले जनाएको छ । जेनजी समूहका युवाहरूले विमानस्थलको गेट तोडफोड गर्दै विमानस्थलभित्रका सार्वजनिक संरचना र सवारीसाधनमा समेत क्षति पु¥याएको बारामा सहायक प्रमुख जिल्ला अधिकारी  छविरमण भट्टराईले बताए । 

‘एमालेका नेताहरू पार्टीको कार्यक्रममा आउने कार्यक्रम केही दिनअघि नै तय भए पनि प्रशासनलाई आधिकारिक जानकारी थिएन,’ उनले मध्यान्हसँग भने, ‘पार्टीको कार्यक्रमबारे थाहा पाएपछि झडप हुने संकेत बुझेर हामीले दुई दिनदेखि नै सामाजिक सञ्जाल नियमन गरेका थियौं । त्यहीअनुसार बुधबार बिहान ९ बजेबाटै सुरक्षा अंगका सबै संयन्त्र परिचालन गरेका थियौं । कमान्ड पोस्टमा जम्मा भएर आवश्यक निर्देशन नियन्त्रण गर्दा पनि स्थिति असामान्य बनेपछि कफ्र्यु आदेश गर्‍यौं ।’ 

सुरुमा सिमरा विमानस्थलमै प्रदर्शनकारी र एमाले समर्थित युवाबीच झडपसमेत भएको थियो । स्थिति सामान्यीकरण गर्न सुरक्षा अंगका सबै सयन्त्र परिचालन गरे पनि भिड अनियन्त्रित भएको भट्टराईको भनाइ छ । एमाले युवा संघले सातवटै प्रदेशमा जेनजीसँग युवा जागरण अभियान राखेको जनाएको छ । सो कार्यक्रममा जान नपाएका एमाले नेता महेश बस्नेतले काठमाडौंमै पत्रकार सम्मेलन गरेर सरकारले पार्टीका कार्यक्रममा जाने नेताहरूको सुरक्षा दिन नसकेको प्रति खरो आलोचना गरेका छन् । जेनजी प्रदर्शनकारीको अवरोधका कारण युवा संघले राखेको मधेश प्रदेशको कार्यक्रम नै भाँडिएको छ । कार्यक्रममा जान काठमाडौं विमानस्थल पुगेका नेताहरू शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेसहितका नेता विमानस्थलबाटै फर्किएका थिए । यो अवस्था आउनुमा सरकारको सुरक्षा संवेदनशीलता नदेखिएको एमालेका नेताहरूले कटाक्ष गरेका छन् ।  

एमाले सचिव योगेश भट्टराईले पार्टीको कार्यक्रम बिथोलिँदा मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको टिप्पणी गरेका छन् । ‘नेकपा एमाले महासचिव सहभागी हुने पूर्वघोषित कार्यक्रम बिथोल्न गरिएको हर्कतले मुलुकको शान्ति सुरक्षामाथि गम्भीर चिन्ता उत्पन्न गरेको छ,’ भट्टराईले भनेका छन्, ‘देशको एक ठाउँबाट अर्को ठाउँमा निर्विवाद हिँडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधानप्रदत्त अधिकारको सम्मान गर्न सबैमा अपिल गर्दछु ।’

घटनापछि जेनजी मधेश प्रदेशका संयोजक शिव यादवले घटनाको कारक एमाले भएको दाबी गरेका छन् ।  बुधबार बिहान बाराको सिमरामा जेनजीहरूले आयोजना गरेको पूर्वनिर्धारित शान्तिपूर्ण कार्यक्रमका लागि बिहान १० बजे नै भेला भएका साथीहरूलाई एमाले कार्यकर्ताले कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको यादवले दाबी गरेका छन् । उनले भने, ‘हाम्रो कार्यक्रमस्थलदेखि युवासंघको कार्यक्रमस्थल २० किलोमिटर टाढा थियो । तर हाम्रा साथीहरूले गरेको कार्यक्रममा एमालेका कार्यकर्ताहरू आएर कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।’ आफूहरूले कसैको अभिव्यक्ति स्वतन्त्रतामाथि हनन नगरेको उनको दाबी छ । एमालेका कार्यकर्ताहरूले आफूहरूलाई रोक्न खोजेको संयोजक यादवले बताए ।  ‘हामीले एमाले कार्यक्रममा गएर लफडा गरेका होइनौं तर एमालेका कार्यकर्ताहरूले हाम्रो कार्यक्रम बिथोल्न खोजेकाले प्रतिकार गरेका हौं,’ उनले भने । यादवले फेसबुक स्टाटस नै लेखेर एमाले नेता बस्नेतलाई मधेश प्रदेशमा निषेध गर्न सरकारसमक्ष मागसमेत गरेका छन्  । 

सिमराका जेनजी समूहका युवाहरूले विमानस्थल घेराउ गरेपछि विमानस्थलको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठुलो समूह खटिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । सहायक प्रजिअ भट्टराईले भने, ‘जेनजीका युवाहरूको आन्दोलन भड्काउपूर्ण स्थितितिर गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको ठुलो संख्या तैनाथ गरे पनि स्थिति नियन्त्रणमा आएन । विमानस्थल आक्रमण भयो, केही गाडीमा क्षति भयो । यसलाई प्रशासनले एकखालको आक्रमणकै रूपमा लिएको छ ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिमरामा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ,’ रास्वपाले भनेको छ ।  एमालेले जेनजीहरूलाई दबाउन खोज्दा प्रतिकार भएको र त्यसक्रममा बारा जिल्ला संयोजक उपाध्यायसहित चार÷पाँच जना जेनजी युवा घाइते भएको यादवले बताएका छन् ।

ADV

सम्बन्धित खबर