२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जेनजी विद्रोहको साइड इफेक्ट : चुनाव नलड्ने स्वघोषणा

shivam cement
सपना बोहरा
२०८२ पुष ७ गते ०६:२५
Shares
जेनजी विद्रोहको साइड इफेक्ट : चुनाव नलड्ने स्वघोषणा

काठमाडौं : पञ्चायतदेखि बहुदल काल हुँदै गणतन्त्रसम्म नुवाकोटबाट निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केहीले २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा उम्मेदवार नहुने घोषणा गरे । उनी २०३४ सालदेखि निरन्तर चुनाव लड्दै आएका थिए । गत शनिबार गृह जिल्ला पुगेर उनले भने, ‘मलाई पार्टीको कहीँ केहीमा राख्नुपर्दैन, अब युवा पुस्ताले नै नेतृत्व लिनुपर्छ ।’ चुनाव नलडे पनि राजनीतिबाट टाढा भने नहुने केसीले प्रस्ट पारे ।  

काठमाडौं १० बाट प्रत्यक्षतर्फ ह्याट्रिक गरेका राजन केसीले पनि नयाँलाई अवसर दिने भन्दै आउँदो चुनाव नलड्ने स्वघोषणा गरे । एमालेका निवर्तमान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले भर्खरै सकिएको ११औं महाधिवेशनबाट सक्रिय राजनीतिबाट विश्राम लिए । माओवादी ‘जनयुद्ध’ लडेर आएका नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेल पनि आउँदो चुनावमा उम्मेदवार हुने छैनन् । 

निरन्तर एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आएका नेताहरूमा पछिल्लो जेनजी विद्रोहको साइड इफेक्ट देखिन थालेको छ । राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र पार्टी पुर्नसंरचनाको बहस चलिरहेका बेला नेताहरूले आउँदो चुनाव नलड्ने स्वघोषणा गरिरहेका छन् । केही वृद्ध नेताहरूले सक्रिय राजनीति छाडेका छन् भने केहीले नयाँ पुस्ताका लागि आफू लड्दै आएको निर्वाचन क्षेत्र छाड्ने घोषणा गरेका छन् । राजनीतिमा युवा पुस्ताको हस्तक्षेप बढिरहेका बेला पुराना पुस्ताका नेताहरूले विश्राम लिन थालेका हुन् । यसलाई जेनजी विद्रोहको साइड इफेक्टका रूपमा विश्लेषण गर्न थालिएको छ । 

फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन घोषणासहित बनेको अन्तरिम सरकारले चुनावी वातावरण बनाउँदै छ । दलहरू उम्मेदवार चयनको गृहकार्य गर्दै छन् । जिल्ला जिल्लाबाट उम्मेदवारका आकांक्षीको सिफारिस भइरहेका बेला नेताहरूले चुनाव नलड्ने घोषणा गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन केसीले आउँदो चुनावका लागि आफ्नो नाम सिफारिस नगर्न भनेका हुन् । ६७ वर्षीय केसीले २०७० को संविधान सभा निर्वाचनमा पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएर चर्चित भएका थिए । २०६४ सालसम्म एमालेको गढका रूपमा रहेको उक्त क्षेत्रपछि कांग्रेसको गढ बनाउन केसीकै योगदान छ । जेनजी आन्दोलनपछि भने केसी युवापुस्तालाई पार्टी र सरकारको नेतृत्वमा पु¥याउनुपर्ने धारणा राख्दै आएका छन् । 

त्यसरी घोषणा गर्नेमा निवर्तमान सरकारका दुई मन्त्री पनि छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चुनाव नलड्ने सार्वजनिक घोषणा गरेका छन् । पटकपटक चुनाव लडे पनि २०७९ मा उनी बाजुराबाट पहिलोपटक निर्वाचित भएका थिए । निवर्तमान कृषिमन्त्री रामनाथ अधिकारीले सडकबाटै पुस्ता रूपान्तरणको कुरा आइसकेपछि आफू सक्रिय राजनीतिमा रहिरहनुको औचित्य नभएको भन्दै चुनाव नलड्ने घोषणा गरेका हुन् । ‘जेनजी पुस्ताको आन्दोलनको भावनाअनुसार अब आमनिर्वाचनमा उम्मेदवार बन्न चाहँदैन,’ उनले भने । माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक कतै पनि आफूले उम्मेदवारी नदिने अधिकारीले बताएका छन् । 

एमालेका निवर्तमान उपाध्यक्ष शाक्य र ज्ञवालीले पार्टीभित्र र संसदीय चुनाव नलड्ने घोषणा गर्दै सक्रिय राजनीतिबाट विश्राम लिएका हुन् । ‘अब चुनाव उठ्दिनँ । मलाई भोट हाल्नुपर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ,’ उनले पार्टी बैठकमै भनेकी थिइन् । त्यस्तै, ज्ञवालीले आफू चुनाव नलड्ने तर पार्टीमा सक्रिय भइरहने बताएका छन् । एमालेका निवर्तमान अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि ५५ वर्षको सक्रिय राजनीतिबाट बिदा लिए । ‘एमालेलाई समर्थन गरे पनि अब सक्रिय राजनीतिमा रहन्नँ, पदमा रहन्नँ,’ बडालले मध्यान्हसँग भने, ‘मैले गर्न नसकेको काम नयाँ पुस्ताले गरोस् ।’

एमालेका अर्का नेता काशीनाथ अधिकारीले पनि सक्रिय राजनीतिबाट बिदा लिए । करिब ५० वर्ष लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन सक्रिय राजनीतिमा बिताएको भन्दै ११औं महाधिवेशनबाट बिदा लिएको बताएका छन् । ३३ वर्ष केन्द्रीय कमिटीमै रहे । पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै उनले साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने जनाए । 

यसैगरी, कांग्रेसका नेता मानबहादुर विश्वकर्माले पनि कुनै लाभको पद नलिने घोषणा गरेका छन् ।  जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै उनले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रिय सभामा समेत उम्मेदवारी नदिने घोषणा गरे । ‘अब नयाँ र युवा पुस्तालाई अवसर दिनुपर्छ,’ विकले भने, ‘मलाई कुनै पनि लाभको पदमा सिफारिस नगर्नुहोस् । जिल्लाबाट नयाँ र योग्य उम्मेदवारलाई सिफारिस गर्नुहोस् । पार्टीका उम्मेदवारलाई जिताउन मेरो तर्फबाट पूर्ण सहयोग रहनेछ ।’

उनी २०६३ सालमा वातावरण, विज्ञान तथा प्रविधि राज्यमन्त्रीसमेत भएका थिए । २०६४ सालमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यका लागि नेपाली कांग्रेसको उम्मेदवार बनेका विश्वकर्मा २०७० मा संविधान सभा सदस्य र २०७४ सालमा प्रतिनिधि सभा सदस्य भएका थिए । राजनीति विश्लेषक शंकर तिवारीले पार्टीका पुराना नेताहरूले चुनाव नलड्ने घोषणा गर्नु सकारात्मक पक्ष भएको बताएका छन् । ‘जेनजी आन्दोलनपछिको उथुलपुथुललाई बुझेर राजनीति अवकाश लिनु, चुनाव नलड्नु त राम्रो पक्ष हो,’ उनले भने, ‘स्वघोषणा गरेका नेताहरूले पछि समानुपातिकमा पनि जानुभएन ।’ 

मुख्य दलका शीर्ष नेताहरूले पनि जेनजीको भावनालाई बुझनुपर्ने उनको भनाइ छ । ‘कांग्रेसमा महाधिवेशन सारिरहनु, एमालेमा पुरानै नेतृत्व अनुमोदन भएर आउनु जेनजी भावना विपरीत हो,’ तिवारी भन्छन्, ‘यो वा त्यो वाहनामा युवा शक्तिलाई पन्छाएर राजनीति गर्दा जेनजी आन्दोलनको प्रभाव ख्याल गर्नुपर्छ ।’ 

त्यस्तै, समाजशास्त्री डा. मिना पौडेलले सक्रिय नेताहरूले स्वेच्छिक अवकाश लिनुलाई दुई अर्थमा लिनुपर्ने बताउँछिन् । नयाँ पुस्तालाई अवसर दिनेगरी विश्राम लिएको हो भने सकारात्मक लिनुपर्ने उल्लेख गर्दै उनी चुनावी नतिजाको डरले पनि नेताहरूमा आत्मविश्वास गुमेको हुन सक्ने बताइन् । ‘जेनजी आन्दोलनको प्रभाव पनि होला । मुख्य कुरा नेताहरूले आत्मविश्वास गुमाउँदै गएको पनि हो,’ उनले भनिन्, ‘अब चुनाव जित्दैनौं कि भन्ने डर पनि छ ।’ जेनजी आन्दोलनले फेरि नेताहरूको घरमा लुटिने, नेताहरू कुटिने त्रास अझै रहेको पौडेलले बताइन् । ‘अपराधी र हातहतियार बाहिर छन्, त्यसको पनि डर होला,’ उनले भनिन्, ‘नेताहरूले स्वेच्छिक अवकाश लिएको भन्ने भ्रम पनि हुन सक्छ, सहज वातावरण भयो भने फेरि आउन सक्छन् ।’

सम्बन्धित खबर