२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

मतदाताको ध्यान खिच्न उम्मेदवारका अनेक शैली

shivam cement
जीवन शर्मा
२०८२ फागुन २ गते ०६:४५
Shares
मतदाताको ध्यान खिच्न उम्मेदवारका अनेक शैली

काठमाडौं : पत्रकारिता छाडेर राजनीतिमा हाम फालेका ऋषि धमला आम जनता पार्टी (आजपा)बाट रौताहट क्षेत्र नं. ४ का उम्मेदवार बनेका छन् । उनको मत माग्ने शैलीलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । धमलाले चुनावी प्रचार अभियानका क्रममा कृषकका उखु बोक्ने, जेरी पकाउने, ट्याक्टर चलाउनेदेखि मतदाताहरूसँग अंगालो मारेका फोटो तथा भिडियोहरू भाइरल छन् । उनले बिरामीहरूलाई उपचारका लागि डाक्टरलाई टेलिफोनमार्फत सिफारिस गरेका भिडियो पनि चर्चामा छन् ।   

फरक शैलीमा मत मागिरहेका अर्का उम्मेदवार हुन्– पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन । उनी प्रतिनिधिसभा सदस्यका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवार छन् । उनले मतदातासँग मत माग्न अपनाएको तरिकालाई आमरूपमा ट्रोल बनाइएको छ । 

‘यो मान्छेले केही गर्ला जस्तो छ भन्ने लाग्छ छ भने मलाई भोट दिनुस् । गर्ला जस्तो लागेन भने भोट नदिए पनि हुन्छ । म मलाई भोट दिनुस्, जितेपछि यसो गर्दिन्छु, उसो गर्दिन्छु भनेर लम्पसार चाहीँ पर्दिनँ । तर काम गर्न छोड्दिनँ,’ पुनले भन्ने गरेका छन् । यस्तै प्रकारले उनले मतदातामाझ आफूलाई प्रस्तुत गर्दै आएका छन् । उनले यस्ता प्रस्तुति र शैलीहरू सामाजिक सञ्जालमा नियमित रूपमा सम्प्रेषणसमेत गर्दै आएका छन् । 

एक्लै चुनावी प्रचारमा हिँडेका पुनको अभिव्यक्तिले उनलाई चुनाव जित्नु र हार्नुमा खासै फरक नपर्ने देखिन्छ । पुनले चुनाव प्रचारकै क्रममा कहिले सार्वजनिक स्थलमा पत्रकार सम्मेलन, कहिले नदीमा आफैंले माछा मार्दै गरेका दृष्य र कहिले हिमाली क्षेत्रको भिडियोहरू सार्वजनिक गर्दै आएका छन् । 

त्यसो त, उनको उम्मेदवारी दर्ता नै अचानाक जस्तो भएको थियो । चुनाव गराउने जिम्मेवारीमा रहेको सरकारका मन्त्रीबाट राजीनामा दिएर चुनावमा प्रतिस्पर्धी भएको विषयमा उनको आलोचना समेत भएको थियो । 

‘शिक्षा सुधारका लागि तयार गरिएका अध्यादेशहरू’ ल्याउन प्रधानमन्त्रीले नै असहयोग गरेको बताउँदै उनी राजनीतिमा आएका हुन् । उनले आफूलाई जसले जे भनेपनि सहजरूपमा लिएर त्यसलाई सरल ढंगले प्रतिक्रिया दिँदै आएका छन् । मन्त्रीबाट हटेका पुनले सरकारबाट भागेको भन्ने आलोचनालाई समेत स्वीकार्दै आफू मैदानमा रहेको बताउने गरेका छन् । पुनले मतदातासँग पुगेर आफ्नो पुस्तक बेचेको विषयमा निर्वाचन आयोगमा उजुरी परेपछि उनले त्यो कामलाई स्थगन गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले कपडा पसलमा राखेको डमीसँग भोट मागे । गोरखा–१ बाट उठेका उनले घरदैलोका क्रममा डमीसँग बात मार्दै भोट मागेपछि उनी भाइरल बने । 

‘मलाई भोट दिनुहोला, म घरदैलो गर्दै आएको हो’ भन्दा पनि डमी नबोलेपछि सुदनले चस्मा खोलेर ‘ए ! सरी’ भन्दै फर्किएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएर ट्रोल बनेपछि उनी आचोचित बने ।

गत भदौ २३ गते जेनजी आन्दोलनमा पानी बाँड्दा बाँड्दै उनी नेता भएका हुन् । आफूलाई स्वतन्त्र अभियन्ता भन्दै आएका सुदनले आन्दोलनलगत्तै ‘संविधान राखौं कि च्यातौं’ भन्दै टिप्पणी गरेका थिए ।  

मनोनयन दर्ता गर्नुभन्दा तीन दिनअघि रवि लामिछाने र बालेन्द्र शाहलाई एउटै कोठामा छलफलका लागि राखेर बाहिरबाट ताल्चा लगाइदिएर चर्चा थपेका थिए । कुलमान घिसिङलाई रास्वपामा जबरजस्ती मिसाउने काम पनि उनैले गरेका थिए ।  

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट क्षेत्र नं. २ का उम्मेदवार अच्युत लामिछानेले मतदाताको खुट्टामै ढोगेको र मतदाताले खुट्टा हटाउन खोज्दा लामिछानेको निधार भुइँमै परेको दृष्य सार्वजकि भएपछि उनको चर्चा पनि सामाजिक सञ्जालमा छरपष्ट छ । 

लामिछानेले ‘नेपालीको असल संस्कारलाई कायम राख्न’ त्यसरी प्रस्तुत भएको प्रतिक्रिया दिएका छन् । 

त्यस्तै रास्वपाकै धादिङका–१ की उम्मेदवार आशिका तामाङले कुखुराको भालेसँग भोट मागेको दृष्यले राजनीतिक समाजलाई थप कुरूप बनाएको छ । उनले भालेलाई समातेर ‘सो ह्याण्डस भाले, आशिका दिदीलाई भोट देऊ ल !’ भनेर भालेसँग मत मागेकी थिइन् ।     

नेपाल कांग्रेसका बझाङका उम्मेदवार प्रकाश रसाइली स्नेहीले चुनावी यात्राका क्रममा बझाङको भुगोल टेकेपछि भुइँमा ढोगेर जिल्लाको ममता प्रदर्शन गरे । 

नेकपा एमालेका रामेछापका उम्मेदवार माधव ढुंगेल र ओखलढुंगाकी उम्मेदवार अस्मिता थापाले मतदाताको घरमा पुगेर मोही पार्दै गरेको दृष्य पनि चर्चामा छ । 

श्रम संस्कृति पार्टीका उम्मेदवारसहित कार्यकर्ताले श्रमदानमार्फत सडक सोलिङ गर्दै मत मागिरहेका छन् ।  

यी केही प्रतिनिधि पात्र मात्रै हुन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा यस्ता धेरै पात्र उम्मेदवार छन् । तीनका चुनावी गतिविधिलाई मानिसहरूले फरक–फरक दृष्टिकोणबाट हेर्ने गरेका छन् । 

‘मतदातासमक्ष नरम र नजिक हुनु उम्मेदवारको असल परिचय हो, तर बढी नाटक भयो कि भन्ने आम टिप्पणीहरू भइरहेका छन्’, राजनीतिक विश्लेषक विष्णु पन्थी बताउँछन् । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूको रंगीविरंगी तरिकाप्रति कतिपयले निर्वाचन आचारसंहिता उल्लंघनका रूपमा हेरेका छन् ।  

यो निर्वाचनमा झापा क्षेत्र नं. ५ र सर्लाही क्षेत्र नं. ४ सहित केही निर्वाचन क्षेत्रलाई राष्ट्रिय चासोका रूपमा हेरिएको छ । झापा–५ का उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह तथा सर्लाही–४ का उम्मेदवार नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र रास्वपाका डा. अमरेशकुमार सिंहका राजनीतिक गतिविधिले आमरूपमा स्थान पाएका छन् ।

त्यस्तै रुकुम पूर्वमा उम्मेदवार रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, चितवन–२ बाट उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछानेको चुनावी अभियानलाई पनि नजिकबाट हेरिएको छ । 

दाहालसँग नेपाली कांग्रेसका पूर्वसांसद कुसुम थापा र लामिछानेसँग कांग्रेसकी मीनाकुमारी खरेलले प्रतिस्पर्धा गर्दै छन् । चितवन–२ की खरेलले मतदाता प्रत्यक्ष भेटेर मत माग्ने अभियान चलाएकी छन् ।

उता रवि र झापा–५ का उम्मेदवार बालेनले भने गाडी हुटमाथि बसेर जनतालाई हात हल्लाउँदै देश दौडाहामा छन् ।

उनीहरूको तरिकाले राजनीतिमा नयाँ ट्रेन्ड सुरु गरेका छन् । यस्तो तरिकाले भुईंतहका नागरिकको आवाज सुन्ने र दूरदराजका नागरिकको समस्या बुझ्ने अभ्यासको ह्रास हुँदै गएको राजनीतिक बजारमा टिप्पणी भइरहेको छ । निर्वाचनकै क्रममा बाँके क्षेत्र नं. ३ का उम्मेदवार रहेका रास्वपाका खगेन्द्र सुनारको धार्मिक संवेदनशीलतासम्बन्धी पुरानो अभिव्यक्तिलाई अहिले विवादमा ल्याइएको छ । उम्मेदवार सुनारले आफूले त्यसरूपमा नबोलेको प्रतिक्रिया दिए । उनीमाथि हिन्दु धर्ममा आस्था राख्नेहरूले आलोचना गर्न थालेका छन् ।

प्रचार शैली आ–आफ्नै देखिएका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिता, २०८२ को गम्भीर उल्लंघन गरेको पाइएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचार अभियानका क्रममा आचारसंहिता उल्लंघन गरेका पार्टी र उम्मेदवारलाई स्पष्टीकरण सोधिएको बताए । आचारसंहिता अनुगमनका लागि संयन्त्र बनाएको उनको भनाइ छ । 

‘आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय तुल्याउन जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ’, उनले भने, ‘यसका लागि जिल्लाहरूमा सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको छ ।’ 

तोकिएका आचारसंहिता अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार र विभिन्न पक्षबाट हुन सक्ने उल्लंघका विषयलाई जानकारीमा राखी कारबाहीका लागि सिफारिस गर्न सक्नेछ । फरक शैलीका अभियान चलाएका उम्मेदवारलाई आमरूपमा हाँसोको पात्र समेत बनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर