२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सडक मृत्युको पासो कि विकासको आधार ?

shivam cement
डा. विश्वराज दवाडी
२०८२ फागुन १३ गते ०६:००
Shares
सडक मृत्युको पासो कि विकासको आधार ?

नेपालमा सडक दुर्घटना कुनै नौलो कुरा रहेन । हरेक दिन पत्रपत्रिका र समाचारका ‘हेडलाइन’हरू सडक दुर्घटना र ज्यान गुमाउनेहरूको तथ्यांकले भरिएका हुन्छन् । हालै मात्रै पोखराबाट काठमाडौंतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो भने २५ जना यात्रु घाइते अवस्थामा छन् । यसअघि पनि केही हप्ताको अन्तरमै धेरैको ज्यान जानेगरी सवारी दुर्घटनाहरू भएका छन् ।

प्रहरीको तथ्यांकअनुसार पछिल्लो आठ वर्षमा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ हजार ३५८ पुगेको छ भने ९६ हजारभन्दा बढी घाइते भएका छन् । प्रहरी मुख्यालयमा प्राप्त विवरणअनुसार २०७० को दशकका आठ आर्थिक वर्षमा मात्रै एक लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् । दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजार ३५८ पुगेको छ भने एक लाख ३५ हजार १७५ जना मानिस घाइते भएका छन् । दुर्घटनाका विवरण केलाउँदा सबैभन्दा जोखिममा मोटरसाइकल तथा जिप, कार र भ्यान देखिएका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार वार्षिक हजारौँ मानिसले सडकमा अकालमै ज्यान गुमाउँछन् । भौगोलिक विकटता, कमजोर पूर्वाधार र मानवीय लापरबाहीको त्रिकोणात्मक मिलनले नेपालका सडकहरू अहिले ‘मृत्युको पासो’ जस्तै बनेका छन् ।

दुर्घटनाको प्रकृतिअनुसार विवरण हेर्दा तीन कारणले दुर्घटना बढी हुने गरेका छन्– पहिलो, चालकको लापरबाही; दोस्रो, सडक पूर्वाधारको कमजोरी; र तेस्रो, यान्त्रिक कारण । सडक दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही, सडक पूर्वाधारमा खेलाँची र दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी पहल नहुनुलाई लिन सकिन्छ ।

यस्तै, सवारी चालकको नियमित चेकजाँच नगरिनु, चालक निदाउनु, जथाभावी ढोका खोलिनु, ट्राफिक नियम उल्लंघन गर्नु, मादक पदार्थ सेवन गर्नु, ‘ओभरटेक’ गर्नु र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नु जस्ता कारणले पनि दुर्घटना हुने गरेका छन् । दुर्घटनाले मानिसको अकालमै मृत्यु हुने मात्र होइन, अपाङ्गता निम्त्याएर परिवारलाई विचलित अवस्थामा पु¥याएको छ ।

हाम्रो भौगोलिक अवस्था र सडकको बनावटका कारण पनि दुर्घटनाको दर बढ्दै गएको छ । नेपालको धरातलीय स्वरूप आफैँमा चुनौतीपूर्ण छ । पहाडी भेगमा घुम्ती सडकहरू, भिरालो जमिन र साँघुरा बाटाहरू छन् । इन्जिनियरिङ दृष्टिले कतिपय सडकहरू मापदण्डविपरीत खनिएका छन् । वर्षायाममा पहिरो र हिउँदमा बाक्लो हुस्सुका कारण सडकको दृश्यता कम हुँदा दुर्घटनाको जोखिम उच्च हुन्छ ।

विशेषगरी राजमार्गहरूमा रहेका ‘ब्ल्याक स्पट’ (दुर्घटना बढी हुने स्थान)हरूको पहिचान र सुधार हुन सकेको छैन । दिनहुँजसो यति धेरै दुर्घटनाका घटना हुने गरे पनि राज्य र जनस्तरबाट अपेक्षित गम्भीरता देखिएको पाइँदैन । पहिलो त राजमार्गमा को–को गुड्न पाउने भन्ने विषयमै अन्योलता छ । नेपालका राजमार्गहरूको मुख्य समस्या भनेकै ‘लेन व्यवस्थापन’को अभाव हो । विकसित देशहरूमा राजमार्गमा साइकल वा कम गतिका सवारीलाई निषेध गरिन्छ, तर नेपालमा एउटै लेनमा भारी सवारीसाधन (बस, ट्रक), निजी सवारी (कार, जिप), दुईपाङ्ग्रे (मोटरसाइकल, स्कुटर), साइकल, पैदलयात्री र कतिपय ठाउँमा चौपाया समेत सडकमै हिँड्ने गर्दछन् । यसले दुर्घटनाको जोखिम बढाएको छ । यो मिश्रित यातायात प्रणाली नै दुर्घटनाको प्रमुख कारक बनेको छ ।

राजमार्गमा गुड्ने चालकसँग अनिवार्य रूपमा सम्बन्धित श्रेणीको सवारी चालक अनुमति पत्र हुनुपर्छ । भारी सवारीका लागि कम्तीमा २१ वर्ष उमेर पुगेको र विशेष तालिम प्राप्त व्यक्ति मात्र योग्य मानिन्छन् । तर व्यवहारमा जसले जुनसुकै सवारी पनि चलाएको पाइन्छ ।

दुर्घटना भइसकेपछि उद्धारका लागि निश्चित मापदण्ड हुनु आवश्यक छ । दुर्घटनापछिको पहिलो एक घण्टालाई ‘गोल्डेन आवर’ भनिन्छ । यदि यो समयमा घाइतेले प्राथमिक उपचार पाएमा ज्यान जोगिने सम्भावना धेरै हुन्छ । नेपालमा ‘सडक दुर्घटना उद्धार निर्देशिका’ त छ, तर यसको कार्यान्वयन फितलो छ । राजमार्ग छेउछाउमा अस्पताल र ट्रमा सेन्टरहरूको अभावले गर्दा घाइतेलाई समयमै अस्पताल पु¥याउन सकिँदैन ।

देशभर सडक सञ्जालको विस्तारसँगै सवारीसाधनको संख्या पनि ह्वात्तै बढेको छ । वर्षेनी लाखौँ सवारीसाधन भित्रिने गरेका छन् भने वर्षौँ पुराना सवारीसाधनहरू पनि सडकमा गुडिरहेका छन् । त्यसैले सडक सुरक्षामा सुधार गर्न अब पुरानो ढर्राले पुग्दैन । यसका लागि सरकारले निम्न कुरामा तुरुन्तै ध्यान दिनु आवश्यक छ– 

लेन अनुशासन : राजमार्गहरूमा साइकल र मोटरसाइकलका लागि छुट्टै लेनको व्यवस्था गर्नुपर्छ । एउटै सडकमा सबैखाले सवारी गुडाउँदा दुर्घटनाको जोखिम उच्च हुन्छ । अन्य देशमा लेन अनुशासनलाई निकै महत्वका साथ हेरिन्छ ।

गति निगरानी : राजमार्गका विभिन्न स्थानमा ‘सिसिटिभी’ र ‘राडार गन’को प्रयोग गरी तीव्र गतिमा सवारी चलाउने चालकलाई कडा कारबाही गर्नुपर्छ । कडा जरिवानाको व्यवस्था भएमा अनुशासन स्वतः बढ्छ र दुर्घटना कम हुन्छ ।

सवारी परीक्षण : पुराना र जीर्ण सवारीसाधनलाई राजमार्गमा गुड्न रोक लगाउनुपर्छ । बिसौँ वर्ष पुराना वा जीर्ण अवस्थामा रहेका सवारीसाधनलाई सडकमा प्रवेश नदिने व्यवस्था कडाइका साथ लागू गरिएमा दुर्घटनामा कमी आउनेछ ।

चालकको स्वास्थ्य : सवारी चलाउने काम शारीरिक तथा मानसिक रूपमा जिम्मेवार पेशा हो । विशेषगरी लामो दूरीका चालकहरूको नियमित स्वास्थ्य परीक्षण तथा मानसिक अवस्थाको मूल्यांकन अनिवार्य गरिनुपर्छ ।

माथि उल्लिखित सुधारका प्रयासहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिए मात्रै पनि सवारी दुर्घटनाको भयावह अवस्थालाई धेरै हदसम्म कम गर्न सकिन्छ । अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना अभिवृद्धि र सडक पूर्वाधार सुधारमा तत्काल बृहत्तर पहल नगरे आगामी वर्षहरू अझ विकराल हुन सक्छन् ।

(लेखक, जेनरल प्राक्टिस एन्ड इमेर्जेन्सी मेडिसिन एसोसिएसन अफ नेपालका अध्यक्ष हुन् ।)

सम्बन्धित खबर