-उपेन्द्र झा
स्थानीय चुनावमा जनताले मिश्रित प्रतिक्रिया दिएका छन् । जनताले अधिकांश नयाँ अनुहारलाई स्थानीय सरकारको जिम्मेवारी सुम्पेका छन् । काठमाडांै जस्तो महानगरपालिकामा जनताले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै शीर्ष राजनीतिक दलहरूलाई उसको निकम्मापनका लागि उदाहरणीय झापड दिएको छ । हुनत धेरै मतदाता रहेका कारण काठमाडौंमा मत गणना सम्पन्न भएको छैन, तथापी मधेशी मूलका स्वतन्त्र उम्मेदवार बालेन शाह भारी मतले अग्रस्थान हासिल गरेको छ । यस्तै, पञ्चायती व्यवस्थाकालमा निकृष्ट शासन प्रणालीप्रति घृणात्मक प्रतिक्रिया दिँदै राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका मतदाताले नानी मैंया दाहाललाई जिताएर उपहार स्वरूप प्रदान गरेका थिए । बालेन शाहको जीतले एकपल्ट पुरानो सम्झनालाई ताजा बनाएको छ । यो पनि काठमाडौंका मतदाताको घृणात्मक अभिव्यक्ति हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायत भिन्न–भिन्न राजनीतिक दल तथा राजामा विश्वास राख्ने काठमाडौंका मतदाताहरू समान विचारको आधारमा बालेन शाहलाई कसरी मत दिने निर्णय गर्यो ? दिग्गज राजनीतिज्ञहरू तथा कट्टरपन्थी बसोबास गर्ने ठाउँमा राजनीतिमा केही पहिचान नभएका मधेशीलाई अगाडि सार्नु 'लौ खा’ को उपहार नभई अरू के हुन सक्दछ ?आफ्नै पार्टीप्रति आस्थावान कार्यकर्ताहरूको विश्वास गुमाएका राजनीतिक दलहरूको चरित्र र व्यवहारको निकृष्टताको परिणाम हो काठमाडौंको चुनावी नतिजा । देशको अन्य भागमा आएको चुनाव परिणाममा स्वतन्त्रबाहेक आएका नयाँ अनुहार नामका नयाँ छवि हुन् ।
पार्टीले नै एउटालाई हटाएर अर्को सिपाहीलाई ल्याएको छ । जनतालाई पनि विकल्प छैन ।स्थानीय स्तरमा हुने खानेहरू नै चुनाव लड्छन् । डर, त्रास, धाक, धम्की र पैसाबाट बाँधिएका जनता, फाटेको कोटको थुप्रोबाट कम फाटेको कोटको चुनाव गर्छन् । त्यसलाई परिवर्तन कसरी भन्ने ? टिकट नपाएर पार्टीका मानिस स्वतन्त्र भएर चुनाव जित्छन्, त्यसलाई नयाँ कसरी भन्ने ? लोभ, लालच, भ्रष्ट आचरण भएका व्यक्तिहरू चुनाव जितेर स्थानीय सरकार चलाउन आएपनि त्यसले के नयाँपन दिन सक्ला ? नयाँ भनेको जो बिल्कुल इमानदारीका साथ जनसेवामा तल्लीन हुन्छ । जनताको जीवनशैली बदल्न उत्कृष्ट एजेण्डा ल्याएर जसले कार्यान्वयन गर्छ, जो जनता र देशको लागि मात्र सोच्छ, त्यसले मात्र परिवर्तनको ढोका खोल्छ । जनसेवाको सट्टा जितेर प्रभू बन्ने र निरीह जनतामाथि प्रभूता देखाउने चालबाज तथाकथित नेताहरूको दोहोरो चरित्रले देश उभो लाग्न सकेन । प्रजातन्त्र पुनस्र्थापनादेखि कांग्रेस, एमालेले एकछत्र राज गरे, कुनै उल्लेखनीय कार्य हुन सकेन । ०६२÷०६३ को जन आन्दोलनपछि मिसिएको नेकपा माओवादीले राज्यको पौराणिक सोचलाई बदल्नुको सट्टा आफै रूपान्तरित भए । देश र जनताको समुन्नतीको अठोट लिएर राजनीति गर्ने नेपाली काँग्रेस, एमाले र माओवादी सत्तामा आएपछि जो व्यक्तिवादी चरित्रको नाँगो प्रदर्शन गरे त्यसबाट जनता निराश त भएनै, पार्टीप्रतिका आस्थावान कार्यकर्ता पनि रूष्ट भए । नतिजा, पार्टी विभाजन हुँदै रह्यो । सबैको लोकप्रियता हरायो । कोही विश्वसनीय बन्न सकेन । तर प्रभूता देखाउने चरित्र भने कायम छ । हालै चुनावको पूर्व सन्ध्यामा आफ्नो छोरी रेनु दाहाल हार्ने आशंकामा प्रचण्डले चितवनको मतदातालाई ललकार्दै यदि हँसिया हथौडामा मत परेन भने यो देश दुर्घटनामा जान सक्छ भन्ने अभिव्यक्ति दिएर सार्वजनिक सभामा धम्काएका थिए । प्रभूता प्रदर्शनको योभन्दा अर्को उदाहरण के हुन सक्दछ । देशैलाई धम्काउने यस्ता कापुरूषलाई के भन्ने ?देश बनाउने कुरा कहाँ छ कहाँ, छोरी जितिन भने देशैलाई दुर्घटनामा लाने फ्याउरे भाषा प्रयोग गर्ने व्यक्तिको लागि देश प्यारो कि छोरी ? देश बनाउन हिँडेका यस्ता व्यक्तिवादीहरूको निर्लज्ज व्यवहार प्रदर्शनका कारण लोकप्रियता घट्दै पार्टी संकुचित हुनु स्वाभाविकै हो ।
कांग्रेस र एमालेको पनि यसभन्दा फरक स्वभाव छैन । पटक–पटकको जीत र आफ्नो विकल्प नभएको दम्भबाट चरित्रमा समावेश भएको अहंकार, अल्पज्ञानका कारण बढ्दै गयो । यिनलाई दैवत्वको स्थानमा पुर्याएपछि देश र जनतालाई आफु मुन्तिर देख्न थाले । परिणामतः यिनको चाल, व्यवहार जनतामा छर्लङ्ग हुँदै गयो । जनतालाई भन्ने एउटा र गर्ने अर्को द्वैध चरित्र बोकेका यी राजनेताहरू विस्तारै जन विश्वास गुमाउँदै गएको छ । डर, त्रास, धाक, धमकी र पैसाबाट भोट त आउँला तर जन धरातलमा लोकप्रियता आर्जन हुँदैन । काठमाडौं जस्तो महानगरपालिकामा यी शीर्ष तीन दल कति लोकप्रिय छन्, स्पष्ट भइरहेको छ । बालेन शाहको अग्रताबाट बयोवृद्ध किशोर नेपाल जस्तो खारिएका व्यक्तिले जितेर के हुन्छ, केही गर्न सक्दैन भन्ने आक्रोश पोखेका छन् । त्यस्तो वृद्ध पत्रकारको सहनशीलताको बाँधलाई काठमाडौंको मतदाताले भत्काई दिएका छन् । यस्ता कैयौं राजनेता भनाउँदाहरू बालेन शाहको जीतसँगै सतहमा ताण्डव गर्न आउने छन् । पञ्चायती व्यवस्थालाई घृणाको यस्तै थप्पड हानेर सिध्याएको काठमाडौंका मतदाताको राजनीतिक दलहरूप्रति रहेको घृणा बालेन शाहको रूपमा प्रकट भएको छ । आस्थाहीन जन धरातलमा उभेर रजाइँ गर्ने देवत्वको स्वनामधन्य उपाधि प्राप्त नेताहरू पैतालामुनिका जमीन भास्सिएपछि के दुर्गति होला ? जनतालाई भोका, नाङ्गा राखेर, देशलाई कङ्गाल बनाएर बिलासी जीवन बिताउने यी देवहरूसँग श्रीलंकाको जनताले आफ्नै प्रधानमन्त्री र मन्त्रीहरूको निवासमा आगो लगाउने, मन्त्रीहरूलाई नाङ्गै पारेर बजार घुमाउने शर्मनाक घटना यहाँ पनि दोहारिने आशंका त छ नै । यी नेताहरू देश र जनताको वास्ता नगरि आफ्नो फायदाका लागि वेपरवाह राजनीति खेल खेली रहने कारणले जन धरातल बारूद जस्तै आक्रोशित हुन पुगेको छ । काठमाडौंका मतदाताले मतपत्रबाट आफ्नो आशय व्यक्त गरि सकेका छन् । परिस्थितिको विषमता घनीभूत हुने बित्तिकै विस्फोट हुने सम्भावनातिर सबै अग्रसर छन् । सबैलाई धम्काउने प्रभूहरूलाई चेत खुलोस् । मधेशवाणीबाट
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies