२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

मध्यपूर्वको तनाव र नेपालको भविष्य

shivam cement
शंकरमान सिंह
२०८२ फागुन २२ गते ०६:००
Shares
मध्यपूर्वको तनाव र नेपालको भविष्य

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेसँगै विश्व राजनीति तरंगित बनेको छ । अहिले अमेरिका, इजरायल र इरानमात्रै होइन, युद्धमा अन्य देशहरु पनि यसमा जोडिएका छन् । करिब मध्यपूर्व यो संकटले घेरिएको छ । जससँगै सबैभन्दा चिन्ता नेपालीलाई परेको छ । खाडी क्षेत्रमा रहेका करिब १७ लाखभन्दा बढी नेपाली श्रमिकको सुरक्षा र नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २३ प्रतिशत हिस्सा ओगट्ने विप्रेषणमा सम्भावित गिरावटले नेपालको अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्छ ।

यता नेपालको आन्तरिक अर्थतन्त्र पनि हाल संरचनात्मक समस्याबाट गुज्रिरहेको छ । लगानीको वातावरण कमजोर हुनु, पुँजीगत खर्च प्रभावकारी रूपमा हुन नसक्नु र नीतिगत अनिश्चितताका कारण आर्थिक वृद्धि लक्ष्यभन्दा निकै कम रहेको छ । बढ्दो बजेट घाटा र व्यापार घाटाले सार्वजनिक ऋणको भार थपिएको छ । कोभिड–१९ पछि विश्वव्यापी रूपमा ब्याजदर बढ्नु र विदेशी मुद्राको प्रवाहमा आएको कमीले नेपाली मुद्रा डलरको तुलनामा कमजोर भएको छ, जसले वैदेशिक ऋणको लागत बढाएको छ । स्वदेशी उत्पादनमा आएको कमी र लगानीमा आएको गिरावटले नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाएको छ । यसका कारण उद्योग, व्यापार र रोजगारी सिर्जनामा पनि असर परेको छ ।

आर्थिक शिथिलताले श्रम बजार र सामाजिक संरचनामा पनि गहिरो प्रभाव पारेको छ । शिक्षा प्रणाली र श्रम बजारको मागबिच तालमेल नहुँदा एकातिर दक्ष जनशक्तिको अभाव देखिन्छ भने अर्कोतिर बेरोजगारी दर उच्च छ । यसका कारण युवाहरूको विदेश पलायन तीव्र भएको छ, जसले साना तथा मझौला व्यवसायहरूलाई प्रत्यक्ष असर पारेको छ ।

विश्व राजनीति पनि पछिल्ला वर्षहरूमा ठूलो परिवर्तनको चरणमा छ । सन् १९८० पछिको खुला बजार नीतिबाट विश्व क्रमशः संरक्षणवादतर्फ मोडिएको देखिन्छ । प्राकृतिक स्रोत र रणनीतिक मार्गमाथि नियन्त्रणका लागि शक्तिशाली राष्ट्रहरूबिचको प्रतिस्पर्धाले विश्व आपूर्ति श्रृंखलामा अवरोध सिर्जना गरिरहेको छ ।

मध्यपूर्वमा बढ्दो सैन्य तनावले खाडी क्षेत्रका संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन र जोर्डनजस्ता देशहरूमा हवाई मार्ग र ढुवानी व्यवस्थामा समस्या सिर्जना गर्ने सम्भावना बढाएको छ । विश्वको तेल आपूर्ति हुने हरमुज जलडमरु बन्द हुने जोखिमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाउन सक्छ । यसको प्रत्यक्ष असर विश्वव्यापी यातायात लागत र उपभोग्य वस्तुको मूल्यमा पर्नेछ ।

युद्धको त्रासका कारण दुबईजस्ता आर्थिक केन्द्रहरूबाट बहुराष्ट्रिय कम्पनीहरूले लगानी फिर्ता लैजाने सम्भावना पनि बढिरहेको छ । यस्तो अवस्था एसियाली सेयर बजार र क्षेत्रीय अर्थतन्त्रहरूका लागि चुनौतीपूर्ण हुन सक्छ ।

मध्यपूर्वी देशहरूमा रोजगारीका लागि निर्भर रहेको नेपालको श्रम बजार, विदेशी मुद्राको प्रमुख स्रोत र इन्धन आपूर्तिमा यस्तो तनावले गम्भीर प्रभाव पार्न सक्छ । कतार, युएई, साउदी अरब र कुवेतजस्ता देशहरूमा लाखौँ नेपाली युवा कार्यरत छन् । यदि त्यहाँको अवस्था बिग्रियो र नेपालीहरू ठूलो संख्यामा स्वदेश फर्किनुपर्ने अवस्था आयो भने नेपाल भित्रिने विप्रेषणको प्रवाह घट्नेछ, जसले देशलाई आर्थिक मन्दीतर्फ धकेल्न सक्छ ।

मध्यपूर्व तेल आपूर्तिको केन्द्र भएकाले त्यहाँको युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने सम्भावना हुन्छ । तेलको मूल्य बढेपछि नेपालमा ढुवानी खर्च बढ्नेछ र उपभोग्य वस्तुको मूल्यमा तीव्र वृद्धि हुन सक्छ ।

अर्कोतर्फ, नेपाल आउने पर्यटक र विदेश जाने नेपालीहरूका लागि मध्यपूर्वका देशहरू मुख्य ट्रान्जिट मार्गका रूपमा प्रयोग हुन्छन् । कतार एयरवेज, टर्किस एयरलाइन्स र इमिरेट्सजस्ता विमान कम्पनीहरूले नेपाललाई विश्वसँग जोडिरहेका छन् । यदि क्षेत्रीय तनावका कारण हवाई मार्ग प्रभावित भए भने पर्यटन र आवागमन दुवैमा असर पर्नेछ ।

यस परिस्थितिमा नेपालले बाह्य चुनौतीलाई सामना गर्दै आर्थिक उत्थानशीलता कायम गर्न रणनीतिक तयारी गर्न आवश्यक छ । आगामी नेतृत्वका लागि सुशासन, वैकल्पिक रोजगारी सिर्जना र अनुसन्धानमा आधारित नीति निर्माण प्रमुख प्राथमिकता बन्नुपर्छ । वैदेशिक रोजगारीमा निर्भरता कम गर्दै स्वदेशमै स्वरोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता छ । त्यसैगरी प्रशासनिक संयन्त्रलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुपर्नेछ । आर्थिक नीति र कार्यक्रमहरू तदर्थ निर्णयका आधारमा होइन, तथ्यांक र अनुसन्धानमा आधारित भएर निर्माण गर्नुपर्नेछ ।

नेपाल अब विश्व घटनाक्रमबाट अछुतो रहन सक्दैन । विश्व बजार र अन्तर्राष्ट्रिय राजनीतिमा देखिएका उतारचढावबिच देशलाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन राजनीतिक नेतृत्व र नागरिक दुवैले परिपक्वता, विवेक र दूरदर्शिता देखाउनु आवश्यक छ । बाह्य अवरोधहरूलाई सामना गर्दै शान्ति र समुन्नतिको यात्रामा अघि बढ्न रणनीतिक तयारी आजको सबैभन्दा ठूलो आवश्यकता हो ।

सम्बन्धित खबर