२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

किताबभन्दा राम्रो साथी अरू छैन

shivam cement
क्षमा शर्मा
२०८२ फागुन २५ गते ०६:००
Shares
किताबभन्दा राम्रो साथी अरू छैन

केही महिनाअघि स्वीडेनले आफ्ना विद्यालयहरूबाट कम्प्युटर हटाउने निर्णय ग¥यो र करिब १५ वर्षपछि फेरि किताबहरूको प्रयोगलाई प्राथमिकतामा ल्यायो । त्यहाँका अधिकारीहरूका अनुसार सबै पढाइ डिजिटल र अनलाइन माध्यमबाट गराउँदा बालबालिकाले अपेक्षित रूपमा नयाँ कुरा सिक्न सकेनन् । बरु उनीहरू बढी आत्मकेन्द्रित बन्दै गए । आफ्ना समवयस्क साथीसँग खेल्ने–कुद्ने बानी घट्यो, भेटघाट र सामाजिक सम्बन्धमा पनि कमी आयो । लामो समय स्क्रिन हेर्ने बानीका कारण उनीहरूलाई ढाड दुख्ने, सर्वाइकल हुने, आँखाको दृष्टि कमजोर हुनेजस्ता स्वास्थ्य समस्या देखिन थाले । यसले उनीहरूलाई झन् चिडचिडे पनि बनायो ।

गत अगस्टमा आएको एउटा समाचारले डेनमार्क सरकार पनि यही विषयमा चिन्तित रहेको देखायो । स्क्रिनको दुनियाँमा मानिसहरू अझै किताब पढ्न चाहन्छन् कि चाहँदैनन् भन्ने प्रश्नले सरकारलाई सोच्न बाध्य बनाएको थियो । मानिसहरूलाई फेरि किताबतर्फ आकर्षित गर्न त्यहाँ सामानमा लाग्ने २५ प्रतिशत कर, जुन किताबमा पनि लागू हुन्थ्यो, हटाइयो । कर हटाउने घोषणा गर्दै डेनमार्ककी संस्कृति मन्त्री एन्जेल स्मिटले भनेकी छिन्– हामी चाहन्छौँ कि मानिसहरूले बढीभन्दा बढी किताब पढून् । उनका अनुसार डेनमार्कमा अहिले एक प्रकारको ‘रीडिङ क्राइसिस’ अर्थात् पढाइको संकट देखिएको छ । धेरै मानिस, विशेषगरी युवाहरू, पढ्न चाहँदैनन् ।

किताबमाथि कर हटाइएपछि ती सस्ता हुने र युवाहरूलाई पनि आकर्षित गर्ने अपेक्षा गरिएको छ । वास्तवमा किताबभन्दा राम्रो साथी अरू के हुन सक्छ र ? केवल डेनमार्क मात्र होइन, अमेरिकामा पनि यस्तै अवस्था देखिएको छ । त्यहाँ पनि मानिसहरूले पहिलेभन्दा निकै कम किताब पढ्ने गरेका छन् । यसको मुख्य कारण मोबाइल फोन र बढ्दो स्क्रिन टाइमलाई मानिन्छ ।

स्वीडेनले पनि किताबमाथिको कर घटाएको छ । भारतमा किताब र पत्रपत्रिकामा वस्तु तथा सेवा कर (जीएसटी) लाग्दैन । तर किताब छापिने कागजमा १२ प्रतिशत र छपाइमा १८ प्रतिशत जीएसटी लाग्छ । यसरी प्रत्यक्ष होइन भने अप्रत्यक्ष रूपमा किताब महँगो बनाइन्छ । महँगो किताब कसरी किन्ने, कसरी पढ्ने ? यस विषयमा भारतले पनि धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।

भारत लगातार भनिँदै आएको छ कि पढ्ने बानी घट्दै गएको छ । बालबालिका होऊन् वा युवा सबैले बढी समय मोबाइलमै बिताइरहेका छन् । तर हालै दिल्लीमा आयोजना गरिएको पुस्तक मेलामा करिब २० लाख मानिसको भीडले भने किताबप्रतिको रुचि पूर्ण रूपमा घटेको छैन भन्ने देखायो । अहिलेसम्म भएका ५३ पुस्तक मेलामध्ये यो सबैभन्दा ठूलो सहभागिता थियो । किताबको बिक्री पनि उल्लेख्य भयो । यद्यपि केही मानिसहरूको भनाइ छ– यस पटक प्रवेश निःशुल्क भएकाले पनि भीड बढी भएको हुन सक्छ ।

स्वीडेनको जस्तै डेनमार्कका विद्यालयहरूमा पनि फेरि किताबहरू फर्काइँदै छन् । किताब मात्र होइन, कपी र कलमको प्रयोग पनि पुनः सुरु गरिएको छ । त्यहाँको सरकारको बुझाइमा डिजिटल माध्यमबाट मात्रै पढाइ गर्दा बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमता कमजोर हुँदै गएको थियो । त्यसैले कक्षामा किताब, कपी र कलमको उपस्थिति आवश्यक ठानियो । कागजको महत्वलाई फेरि स्थापित गर्ने प्रयास भइरहेको छ ।

धेरै विद्यालयहरूले मोबाइल फोनसमेत प्रतिबन्धित गरेका छन् । पढाइको समयमा बालबालिकाको स्क्रिन टाइम न्यूनतम बनाउन विभिन्न योजना बनाइँदै छन् । कक्षामा शिक्षक र विद्यार्थीबीचको प्रत्यक्ष संवाद र तालमेललाई पनि फेरि महत्व दिइँदैछ ।

एक समय डेनमार्कलाई ‘डिजिटल च्याम्पियन’ मानिन्थ्यो । सन् २०११ देखि त्यहाँका विद्यालयहरू लगभग पूर्ण रूपमा डिजिटल बनाइएका थिए । त्यसबेला ‘कागजरहित समाज’को कल्पना गरिन्थ्यो । तर अनुभवले देखायो कि अत्यधिक डिजिटल प्रयोगले बालबालिकाको सिक्ने क्षमता मात्र होइन, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा पनि असर पारेको छ । उनीहरू कुनै पनि कुरामा लामो समय ध्यान केन्द्रित गर्न सक्दैनन् ।

अब त्यहाँ यस्तो बुझाइ विकसित भएको छ कि प्रविधिको प्रयोग आवश्यक छ, तर बालबालिकाको समग्र विकासका लागि त्यसबाट केही दूरी पनि उत्तिकै आवश्यक छ । कुनै पनि कुरा अति हुनु हुँदैन, त्यो प्रविधि नै किन नहोस् । जुन हानिकारक हुन्छ ।

स्वीडेन र डेनमार्कले आफ्ना बालबालिकाको हितलाई ध्यानमा राख्दै डिजिटलभन्दा किताबी शिक्षा पढाउने निर्णय समयमै लिए । तर हाम्रो समाजमा भने अझै पनि धेरै राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा हरेक विद्यार्थीलाई ल्यापटप वा मोबाइल दिने वाचा गरिरहेका छन् । बालबालिका र युवाले यी उपकरण प्रयोग गर्न सिक्नु राम्रो कुरा हो, तर यसको अति कति हानिकारक हुन सक्छ भन्ने कुरा हामी स्वीडेन र डेनमार्कबाट सिक्न सक्छौँ । अमर उज्यालाबाट

सम्बन्धित खबर