२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नारी दिवस र अधिकारको सवाल

shivam cement
अच्युतप्रसाद पौडेल 'चिन्तन'
२०८२ फागुन २४ गते ०६:०५
Shares
नारी दिवस र अधिकारको सवाल

मार्च ८ अन्तर्राष्ट्रिय नारी दिवस, वर्षैपिच्छे विभिन्न नाराका साथ यो दिवस मनाइने गरिन्छ । हाम्रा वेद, पुराणहरूले नारी अधिकार पहिलो भनेका छन् भने प्रार्थना गर्दा पहिले ‘त्वमेव माता’ भनी शुरु गरिन्छ । संविधानले नारी पहुँच कमसेकम ३३ प्रतिशत भनेको छ । पछिल्लो समय धेरै राजनीतिक उच्च ओहदामा नारीहरू पुगेका छन् । संविधानमा लेखिए पनि जसले अहिलेको संविधान बनाए तिनैले राजनीतिक पद उम्मेदवारीमा भने कन्जुस्याइँ गरेको देखिन्छ ।

विगत २०७४ को स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व ४०.७५ प्रतिशत रह्यो । ०७९ वैशाख ३० मा सम्पन्न ७५३ स्थानीय तहमा कूल निर्वाचित पद ३५ हजार २५१ थियो । यसमा कूल उम्मेदवारको संख्या १ लाख ४५ हजार १३ जना मध्ये पुरुष उम्मेदवार ८९ हजार ३१४ भनौँ ६१.५९ प्रतिशत र महिला उम्मेदवार ५५ हजार ६९९ भनौँ ३८.४१ प्रतिशत देखियो । यसमा कूल निर्वाचित पुरुष २० हजार ६३१ भनौँ ५९ प्रतिशत र महिला निर्वाचित संख्या १४ हजार ४६६ भनौँ ४१ प्रतिशत रह्यो । ०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभामा पहिलो निर्वाचन प्रणालीतर्फ कुल २ हजार ४११ उम्मेदवारमा पुरुष संख्या २ हजार १८६ भनौँ ९०.६७ प्रतिशत र महिला उम्मेदवार २२५ जना भनौँ ९.३३ प्रतिशत मात्र रह्यो । समानुपातिकतर्फ महिला १ हजार १८७ र पुरुषतर्फ १ हजार १२ गरी २ हजार १९९ जनाको अन्तिम बन्द सूची कायम रह्यो भने प्रदेश सभातर्फ पहिलो हुने निर्वाचन प्रणालीमा कूल ३ हजार २२४ जना उम्मेदवार हुँदा पुरुष उम्मेदवार २ हजार ९४३ भनौँ ९१.२८ प्रतिशत र महिला उम्मेदवार २८१ भनौँ ८.७२ प्रतिशत देखियो । सोही सभाको समानुपातिकतर्फ महिला १ हजार ५११ र पुरुषतर्फ २ हजार १९७ गरी कूल ३ हजार ७०८ जनाको उम्मेदवारी अन्तिम सूची कायम रहेको देखियो । समग्रमा प्रतिनिधि सभामा पुरुष १८४ जना अर्थात् ६६.९० प्रतिशत र महिला २०० जना भनौँ ३३.३६ प्रतिशत विजयी भए । 

राजनीतिमा महिला कम छैनन् अहिले, संसारभरिमा महिला प्रतिनिधित्व हामीकहाँ अग्रणी स्थानमा छ, तर पछिल्लो आम चुनावमा दलहरूले चुनावमा न्यूनतम कोटा पनि दिन सकेनन्, कति समानुपातिकतिरबाट तान्नु परेको देखियो । प्रजातन्त्रको जननी देश बेलायत, अमेरिका, विकसित देश अष्ट्रेलिया, स्वीट्जरल्यान्ड, जर्मनी, क्यानडा, नेदरल्यान्डकै तुलना गर्दा पनि नेपालका नारीहरूले जनप्रतिनिधित्वका दृष्टिले अग्रणी स्थान ओगटेका हुन् । विश्वका १९२ देशको पछिल्लो तथ्याङ्क अनुसार महिलाको प्रतिनिधित्वकै हिसाबले नेपाल ३७ औँ स्थानमा छ ।

ठूला दलहरूले विभिन्न मुद्दा उठाए तर ०८२ फागुन २१ को आम निर्वाचनमा ६५ राजनीतिक दल र ८ स्वतन्त्र गरी ३ हजार ४०६ जनाको प्रत्यक्ष उम्मेदवारी रहँदा जम्मा २३२ जना भनौँ ६.८१ प्रतिशत मात्रै दलित समुदायबाट परे । प्रचलित संविधान ल्याउने प्रमुख दलहरूले नै संविधानको मर्म विपरीत उम्मेदवारी दिएको देखियो । प्रमुख दलहरूले दलितलाई १/१ स्थानमा मात्र उठाए । खस–आर्य समुदायको उम्मेदवारी ३८.७६ प्रतिशत रह्यो अर्थात् १ हजार ३२० जना । आदिवासी जनजातिबाट ८१३ जनाको उम्मेदवारी रह्यो अर्थात् २३.८७ प्रतिशत मात्र । मधेसी समुदायबाट ६.८१ प्रतिशत अर्थात् ७७८ जना, थारू समुदायबाट ४.१४ प्रतिशत अर्थात् १४१ जना र महिलाहरूबाट जम्मा ३८८ जना अर्थात् ११.३९ प्रतिशत मात्रै रह्यो । जसले विषयपिच्छे ठूलै जनआवाज उठाएको थियो, तिनै दलहरूबाट सम्बन्धित वर्गको प्रतिनिधित्वमा कन्जुस्याइँ गरेको देखियो । समग्रमा जम्मा २३२ जना मात्रै दलितबाट मैदानमा उतारिएको पाइयो । ठूलो दल नेपाली कांग्रेसबाट १ जना, एमालेबाट २, नेपाली कम्युनिष्ट पार्टीबाट ३, रास्वपाबाट २, जसपाबाट ७, राप्रपाबाट २, राष्ट्रिय जनमोर्चाबाट ३, नेकपा माओवादीबाट २०, नेमकिपाबाट ५, श्रम शक्ति पार्टीबाट ८, प्रलोपा बाट ३, उज्यालो नेपालबाट ४, नाउपाबाट १ र जनमुक्ति पार्टीबाट १ जना मात्रै उम्मेदवारी देखा पर्यो ।

देशमा पुरुषभन्दा महिलाको संख्या धेरै छ, जनगणनाले ५१ प्रतिशत भनेको छ । मतदाताहरू पनि महिला धेरै छन् तर यतिका वर्षपछि पनि लोकतन्त्रमा पितृसत्तात्मक सोच कायमै देखियो । यसपालिको उम्मेदवारीमा महिलाको प्रतिनिधित्व केवल ३८८ जनाको मात्रै रह्यो, त्यसमा पनि स्वतन्त्रबाट उठेका १५७ जना समेत गरेर । संविधानको धारा ८४ अनुसारको क्षतिपूर्ति उनीहरूले समानुपातिकबाट गर्ने प्रयत्न गरेका छन् । कांग्रेसले ११ जना भनौँ ६.६६ प्रतिशत, एमालेले १० जना भनौँ ६.०६ प्रतिशत, नेकपाले ११ जना भनौँ ६.६६ प्रतिशत, रास्वपाले १७ जना सबैभन्दा बढी १०.३० प्रतिशत महिला उम्मेदवारी दियो । 

कांग्रेसले गण्डकी, सुदूरपश्चिम प्रदेशमा महिला उम्मेदवारी नै दिएन, एमालेले बागमती, कर्णाली र सुदूरपश्चिममा दिएन, नेकपाले कर्णालीमा दिएन, राप्रपाले सुदूरपश्चिममा दिएन, रास्वपाले ७ प्रदेशमा महिला उम्मेदवारी दियो । यतिका वर्ष ठूला दलले देश चलाए, महिलाको उम्मेदवारीमा इच्छाशक्ति देखाएनन् । कानुन नै यस्तो बनाइदिए कि आफैंले खेल्न सक्ने दुईतिरबाट प्रत्यक्ष नसके समानुपातिकबाट तान्न पाउने गरी, जित्ने क्षेत्रमा उम्मेदवारी पुरुषलाई दिने र नजित्नेतिर महिला देखाइदिने प्रथा रह्यो । पुराना र नयाँ दल मिलाएर बनेको नेकपाले पनि टालाटुली बटुलेर १८ दल मिलाएर एक बनायो दल, तर महिला उम्मेदवारीमा कन्जुस्याइँ नै गरेको देखियो । प्रचण्ड पुत्रीले मेयर छोडेर चितवनमा उम्मेदवारी दिइन्, बुहारी बिना मगर कञ्चनपुरतिर उम्मेदवारी दिन गइन्, चर्चित आशिका तामाङले उम्मेदवारी दिए जस्तो मात्रै गरिन्, रन्जु दर्शना काठमाडौं–१ मै परिन् ।

हाम्रो भूमि वैदिक सभ्यताको भूमि हो । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ — यो मनुस्मृतिको भनाइ हो । भनौँ, नारीको जहाँ सम्मान हुन्छ त्यहाँ देवताहरू पनि प्रसन्न हुन्छन् । हाम्रो मान्यता जहाँ नारीको प्रतिष्ठा, पूजा भनौँ सम्मान हुन्छ, त्यहाँ स्वर्गीय देवताहरू पनि खुशी रहन्छन् भन्ने हो । ‘न अरि नारी !’ अर्थात् जसले कसैप्रति वैरभाव, शत्रुता गर्दैन र जसको कोही शत्रु हुँदैन उसको नाम नारी हो । पहिलेको भनाइ थियो नारीहरूले कुनै तिकडम गर्दैनन्, जान्दैनन् र त पुरुष दिवस मनाउने परम्परा अहिलेसम्म कतै छैन ।

सम्बन्धित खबर