
होली पर्व हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाडमध्ये एक हो । यसलाई रंगहरूको पर्व, फागु पर्व वा फागु पूर्णिमा पनि भनिन्छ । नेपाल, भारत लगायत दक्षिण एसियाका विभिन्न देशहरूमा ठूलो उत्साहका साथ मनाइने यो पर्व विशेष गरी वसन्त ऋतुको आगमनसँग जोडिएको छ ।
प्रकृतिमा नयाँ पालुवा, फूल र हरियाली फैलिने समयमा मनाइने भएकाले होलीले जीवनमा नवउर्जा, उमंग र सकारात्मक सन्देश बोकेको हुन्छ । नेपालमा पहाडी र तराई क्षेत्रमा होली फरक–फरक दिन मनाउने परम्परा छ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाको दिन होली मनाइन्छ भने तराई–मधेश क्षेत्रमा भोलिपल्ट अर्थात् चैत कृष्ण प्रतिपदाका दिन धुमधामका साथ मनाइन्छ ।
प्राचीन हिन्दू कथाअनुसार हिरण्यकश्यप नामक असुरराज अत्यन्त अहंकारी थियो । उसले आफूलाई नै भगवान् ठान्थ्यो र सबैलाई आफ्नै पूजा गर्न बाध्य पाथ्र्यो । तर उसका छोरा प्रह्लाद भने भगवान् विष्णुका परम भक्त थिए । प्रह्लादले बाबुको आदेश नमानेर विष्णुको भक्ति गर्न छोडेनन् ।
हिरण्यकश्यपले छोरा प्रह्लादलाई विभिन्न यातना दियो, तर पनि उनलाई केही हुन सकेन । अन्ततः उसले आफ्नी बहिनी होलिकालाई प्रयोग गर्ने योजना बनायो । होलिकासँग आगोले नजलाउने वरदान थियो । त्यसैले प्रह्लादलाई काखमा राखेर आगोमा बस्न भनियो । तर भगवान विष्णुको कृपाले प्रह्लाद सुरक्षित रहे र होलिका नै जलेर नष्ट भइन् ।
यस घटनाले असत्य र अहंकारमाथि सत्य र भक्तिको विजय भएको सन्देश दिन्छ । यही विजयको सम्झनामा होलिका दहन गरिन्छ, जसले दुष्ट शक्तिको अन्त्य र शुभ शक्तिको विजयलाई प्रतीकात्मक रूपमा दर्शाउँछ ।
यसैगरी, होली पर्व भगवान् कृष्णसँग पनि जोडिएको छ । वृन्दावन र मथुरामा कृष्णले गोपिनीहरूसँग रंग खेलेको कथा प्रख्यात छ । त्यसैले होलीलाई प्रेम, हाँसो र रमाइलोको पर्व पनि मनाउने गरिन्छ ।
नेपालमा होली पर्व ऐतिहासिक रूपमा पनि महत्वपूर्ण छ । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा ‘चीर’ ठड्याउने परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन दरबार क्षेत्रमा बाँस गाडेर विभिन्न रंगीन कपडाले सजाइन्छ, जसलाई ‘चीर’ भनिन्छ । पूर्णिमाको दिन त्यसलाई ढालेर दहन गरिन्छ, जसलाई होलिका दहन भनिन्छ । काठमाडौं, भक्तपुर र ललितपुरमा विशेष रूपमा युवायुवतीहरू समूह बनाएर रंग खेल्ने, पानी छ्याप्ने, संगीतमा नाच्ने र शुभकामना आदान–प्रदान गर्ने चलन छ ।
तराई क्षेत्रमा भने होली अझ बढी उत्साहका साथ मनाइन्छ । एकअर्कालाई अबिर, रंग, पानी, पिचकारी लगायत प्रयोग गरी रंग रोगनसँग खेल्ने गरिन्छ ।
पछिल्लो समयममा यो पर्व नेपालमा झण्डै सबै क्षेत्र र समुदायका मानिसहरू सहभागी भएर मनाउने गरिएको पाइन्छ । जसले समाजमा आपसी मेलमिलाप बढाउने र सकारात्मक सोच विकास गर्ने माध्यमका रूपमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।
विगतमा होली पर्वमा विशेष गरी फागु गीत, लोकगीत र आधुनिक गीत गाउने चलन थियो । तर, पछिल्लो समयमा भने नवपुस्ताले आफ्नो रूचीअनुसारका गीत संगीतमा रमेर यो चाडसँग रमाउने गरेका छन् । जसले होलीको वास्तविक पहिचानको संरक्षणमाथि पनि चिन्ता पैदा गरेको छ ।
त्यस्तै, यो पर्वमा हालका वर्षहरूमा रासायनिक रंगको प्रयोग बढेको छ, जसले छाला र आँखामा समस्या निम्त्याउन सक्छ । त्यसैले यो पर्व मनाउँदा प्राकृतिक रंग प्रयोग गर्नुपर्ने सन्देश दिन आवश्यक छ ।