
शान्तिको विगुल फुक्ने देश नेपाल, २०८२ सालको भदौ २३ र २४ गते एउटा रणभूमिजस्तै बन्न पुग्यो । नयाँ पुस्ता अर्थात् जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन पछि देशका प्रमुख संरचना तथा अड्डा जलाउनेसम्मका गतिविधि भए । यसअघि विभिन्न स्वार्थमा कृडास्थल बन्न बाध्य देशलाई यसपटक पनि प्रयोग गरिएको थियो । घटनाको बारेमा स्वयं पंक्तिकार भित्र जान चाहन्न, त्यसैले २४ गतेको विध्वंशपछि अभिभावकविहीन बन्दाको देशको अवस्था भने स्मरण गर्नैपर्छ ।
भदौ २३ गते जे भयो, यसले २४ गते निम्त्यायो भन्ने बहस पनि व्यापक भइरहेको छ । २४ पछि २३ भन्नेहरू पनि छन् । २४ पश्चात्को परिस्थिति झन् कहालिलाग्दो भएको थियो । देशमा कुनै सरकार थिएन, कामचलाउ सरकार यही हो भन्ने पनि थिएन, देशका नेता, सांसद वा मन्त्री तथा देशको संसद् यो हो भन्ने पनि थिएन । देशमा विध्वंश भइसकेपछि यसको जस–अपजस लिन कोही तयार भएनन् अर्थात् आन्दोलन कसको नेतृत्वमा भयो भन्ने नै अन्योल भयो । आन्दोलनको मात्रै होइन, त्यो समयमा देशकै अभिभावक वा नेतृत्वकर्ता को हो भन्ने अन्योलता थियो ।
आन्दोलनको अवस्था मत्थर हुँदै जाँदा देशका विभिन्न निकायले अभिभावक खोज्न थाले । यही क्रममा त्यस्तो एक व्यक्तिको नाम चर्चामा भयो, जुन अकल्पनीय र अविश्वासनीय थियो । यसअघि सर्वोच्च अदालतको सफल कमाण्ड सम्हाल्नुभएकी देशकै प्रथम महिला प्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रथम महिला प्रधानमन्त्रीको रूपमा यो देशले पाउने अवस्था बन्यो । २०८२ सालको भदौ २६ गते ७३ वर्षीय कार्की देशको ३९औँ र प्रथम महिला प्रधानमन्त्रीको रूपमा रहने सहमति जुट्यो । सांसद विघटन भयो, कार्की प्रधानमन्त्री हुनुभयो र २०८२ सालको फागुन २१ गते चुनावको मिति समेत घोषणा भयो । यो समयमा सांसद विघटन भइसकेपछि सरकारले ६ महिनाभित्र चुनाव गराउनुपर्ने अर्को कानुनी दबाब थियो । पूर्व प्रधानन्यायाधीशको नाताले कार्कीलाई कानुनी पाटोबारे जानकार हुने नै भयो । कार्कीले २७ गते पदबहाली गर्दै यो देशमा अभिभावकत्व प्रदान गर्नुभयो ।
विषम परिस्थितिमा एउटा आमाले सन्तानलाई दिएको काखजस्तै भयो ७३ वर्षीय कार्की आमाको नेतृत्व यो देशका लागि । कार्की नेतृत्वको सरकारले पटक–पटक गरेर गैरराजनीतिक दलका मन्त्रीहरू पनि नियुक्ति गर्यो, जसमा यसअघि सफल भएका पूर्व कर्मचारीदेखि सञ्चारकर्मीसम्म अटाएका थिए । कुनै राजनीतिक दाग र आलोचना विनाको सरकार बनाउन सुशिला आमा सफल हुनुभयो ।
कार्की नेतृत्वमा रहेर देशमा कायापलट नै गर्नसक्ने कुरा भएन किनकि यो सरकार म्यादि थियो र चुनाव गराउनका लागि नै थियो । भएका बजेटको उचित खर्च, भएका योजनाको उचित कार्यान्वयन गर्दै यो सरकार फागुन २१ मा निर्वाचन सम्पन्न गराउन केन्द्रित भयो । आन्दोलनका क्रममा गुपचुप भएका राजनीतिक दल, नेता तथा अधिकांश विश्लेषक भन्नेहरूले पनि फागुन २१ मा चुनाव सम्भव छैन भन्न थाले । कतिपयले सांसद पुनस्र्थापना हुने र पुरानै दल कायम हुनेसम्म आकलन गरे भने कतिपयले कार्की नेतृत्वको सरकार पूर्ण असफल हुने भन्दै खिसिट्युरी गर्न भ्याए । सुशिला कार्कीलाई ‘आमाको नेतृत्वको सरकार हो, यो सफल हुन्छ’ भन्दै हौसला दिनेहरू पनि कम थिएनन् । प्रायःले सम्बोधनमा ‘आमा’ भन्दै उहाँलाई थप जिम्मेवारी बोध गराएका थिए । कार्की सरकारले विभिन्न काम गर्यो, जसमा चुनावको तयारीदेखि देशमा विध्वंश गर्नेहरू समातिनेसम्मका कार्यहरू प्राथमिकतामा परे ।
आमाको नेतृत्वको सरकारले कार्यकालको छोटो अवधिमा नै लोककल्याणकारी काम गरेर उदाहरणीय बन्न पुग्यो । हिजो विरोध गर्नेहरू पनि सरकारको फ्यान हुन थाले, तर नैतिकताले उनीहरू मुख खोल्न सक्दैनथे । सरकारले केही बाहेक अनगिन्ती उदाहरणीय काम गर्न सक्यो, जसले चुनाव हुने आशा जगाउँदै गयो । एक–दुई गर्दै चुनावका तयारीहरू पनि हुँदै गए, जसमा सदियौँदेखि मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्लामा जानुपर्ने झन्झटको अन्त्य भई राष्ट्रिय परिचयपत्रसँग सिस्टम इन्टिग्रेट गरेर घरै बसेर मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने सिस्टम लागू भए । यी र यस्ता कैयौँ कामहरू सरकारले चाहेमा गर्न सक्छ भन्ने प्रमाणित कार्की सरकारले गर्यो ।
आमाको नेतृत्वमा बनेको सरकारले निर्वाचनको भव्य तयारी गरिरह्यो । निर्वाचन विथोलिने चुनौतीका बाबजुद पनि सरकार काममा तल्लीन भयो किनकि निर्वाचन गराउनु नै छ । प्रतिष्ठा बोकेका मन्त्रीहरूको साथमा कार्की सरकार थियो । गैरदलीय बनेको कार्की सरकार अघोषित रूपमा विभिन्न नयाँ दलको बन्दै थियो, कारण यस सरकारका मन्त्रीहरू विभिन्न राजनीतिक दलसँग जोडिएर आफ्नो रोटी सेक्नेतिर सोझिन थाले । सरकारमा रहँदै गर्दा चुनावको दिन नजिकिँदै जाँदा मन्त्रीहरूमा अब प्रत्यक्ष चुनाव जितेर फेरि मन्त्री हुने लालच पलायो । जसले गर्दा निर्वाचनको मनोनयनको दिनसम्म सरकारका केही मन्त्रीहरूले राजीनामा दिएर कार्की आमालाई एक्लै बनाए । यो कदम एक हिसाबले हेर्दा देश र कार्की आमाको सरकारलाई दिएको घात हो । झन् धेरै साथ र सहयोग चाहिने बेला अधिकांश मन्त्रालय मन्त्रीविहीन हुन पुग्यो, जुन सुशिला आमाको निर्वाचन गराउने लक्ष्यमाथि थप चुनौती थपिनु थियो । बलियो साथ पाइएला भन्ने दृढता बोकेकी कार्की साथ पाउनुपर्ने समयमा नै लगभग एक्लै हुनुपर्ने परिस्थिति आउलाजस्तो भयो ।
धेरै मन्त्रालयको जिम्मेवारी, विश्वास गरेका मन्त्रीहरूको राजीनामा आउनु, निर्वाचन हुन नदिने तत्वहरू सक्रिय हुनु र निर्वाचन गराउनै पर्ने कानुनी दबाब हुनु कार्की आमाका लागि सानो चुनौती थिएन । समाजमा अझै पनि महिलाहरू सफल हुन सक्दैनन् भन्ने भ्रम पालेको यो समाजले सुशिला कार्कीबाट निर्वाचन हुन्छ भन्नेमा समेत बारम्बार शंका गरिरह्यो । यद्यपि, समाजको दृष्टिकोण, देशको अवस्था, परिस्थिति र दबाबका बाबजुद फागुन २१ गते सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ । देशमा निर्वाचन मात्रै भएन, इतिहास बोकेको प्रथम महिला प्रधानमन्त्रीको कार्यकाल पनि सफल भएको छ, अझै ऐतिहासिक र प्रशंसायोग्य भएको छ । छिटपुट घटना बाहेक विगतको भन्दा अझै प्रभावकारी र दमदार तवरले निर्वाचन सम्पन्न भएको छ । यो हामी नेपालीहरूको सफलता र जित हो ।
एउटा आमाले सन्तान मात्रै होइन, देशलाई नै अभिभावकत्व प्रदान गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण पनि हो यो । सुशिला आमाको त्यो साहसले देशले एउटा निकास पाएको छ । देश सुरक्षित अवतरण भएको छ । यति मात्र होइन, स्वार्थको कृडास्थल हुनबाट पनि जोगिएको छ । यो गुन इतिहासले सधैँ सम्झिरहनेछ । पंक्तिकार अब सुशिला आमाको फ्यान र प्रशंसक मात्रै होइन, खुल्ला समर्थक समेत भएको छु । पुजनीय आमा, तपाईं धन्य मात्रै होइन साक्षात् देवी भएर यो देशलाई अवतरण गराउनुभयो । एक अबोध सन्तानले झैँ उहाँको काखमा लुटपुटिएर भन्न मन छ, “आमा आइ लभ यू सो मच” !