
फागु भनेको फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छ्यापेर तथा अबिर दलेर नाच्ने–गाउने गरी विभिन्न किसिमका रंगहरूले एक–अर्कामा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागु अर्थात् होली नामबाट चिनिन्छ । यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडहरूमध्ये यो पर्व एउटा रमाइलो चाड हो । यो पर्व होलिका नामकी राक्षसीलाई मारेको खुसीमा मनाइने पर्व भएकाले होली या फागु भनिएको हो भन्ने किंवदन्ती छ । यसरी होलिका मरेको उपलक्ष्यमा सबैले खुसीयाली मनाउन होली खेल्ने चलन सुरु भएको कुरा भविष्यपुराणमा उल्लेख छ । यसर्थ वर्षमा एकचोटि आउने फागु चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू–आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल र भारतलगायत विश्वभरि नै रमाइलो गरी मनाउने गरेको पाइन्छ ।
नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही फागुन १८ गते सोमबार परेको छ । तर यसको सुरुवात भने एक साताअघि अर्थात् फागुन शुक्ल अष्टमीदेखि हुने गर्दछ । फागु पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल पार्दै सामाजिक एकता, सद्भाव, मैत्री र भाइचारा जगाउने गर्दछ । यो पर्वमा उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै बसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उत्कर्ष फागु पूर्णिमा नै हो । यसमा पनि सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृतिप्रेमीको यो सिंगो चाड हाम्रो तराई क्षेत्रमा त झन् विशेष धूमधामका साथ मनाइन्छ । यसलाई मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई चिरदाहको रूपमा पनि लिइन्छ । असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवका रूपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ । विशेषगरी युवापुस्ताका लागि रंगीन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
हाम्रो यहाँ फागु पर्व विभिन्न नामले मनाइन्छ । फगुवा, होली, होरी आदि नामले मनाइने यो पर्वलाई रंगको उत्सव एवं आपसी सद्भावको महान् पर्व भन्दा फरक पर्दैन । यसलाई होली एवं फागु पर्व नेपाल र भारतमा मात्र नभएर विभिन्न रूपमा विश्वभरि नै धूमधामसँग मनाइन्छ । फलतः नेपाल र भारतमा भने एकै प्रकारले प्रेम, सद्भाव प्रकट गरी रंग, अबीर दलेर रंगीन पानी छ्यापेर, शुभकामना आदानप्रदान गरेर नाचगान गरी मनाउने गर्दै आइएको छ । यो चीन, जावा, श्रीलंकामा आगोको पूजा–अर्चना गरी फागु पर्व मनाइन्छ । त्यस्तैगरी बर्मा, थाइल्यान्डमा पानीको पूजा–अर्चना गरी बौद्ध मठमा गएर भिक्षुलाई दान दिई यो पर्व मनाउने गरिन्छ । त्यस्तै थाइल्यान्डमा ‘साक्रान’ र बर्मामा ‘टिंगुला’ नामको यो पर्व प्रचलित छ । त्यसरी नै जर्मनीमा इस्टरका रूपमा रंगीन पानी छ्यापेर नाचगान गरी यो पर्व मनाइन्छ भने इजिप्ट, जापान, सुमात्रा आदि देशमा नाचगान गर्दै नयाँ अन्नको स्वागत गरी पर्व मनाउने गरिन्छ । युनानमा यो पर्व मनाउन आगो बालेर नाचगान गरिन्छ भने स्वीडेन, फ्रान्स, इटाली, पोल्यान्डमा विशेषगरी नाचगान रमाइलो गरी मनाइन्छ । यसबाट फागु पर्वलाई एउटा खुसीयालीको विश्वव्यापी रंगीन पर्व मान्न सकिन्छ । तर हाम्रो मुलुकमा भने विशेषगरी पहाडी भेगमा पूर्णिमाको दिनमा र तराईमा पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइन्छ । त्यस्तैगरी मुलुकका सुदूरपश्चिमका थारु एवं थकाली सम्प्रदायले ठूलो महत्वका साथ मनाउने गर्दछन् । यसमा पनि थारुहरू फागु पर्वलाई नयाँ वर्षका रूपमा पनि मनाउँछन् ।
अन्तमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरूमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । वस्तुतः फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबीर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । यो मुख्य होलीको दिन एकआपसमा अबीर दलादल गर्ने र मीठा–मीठा कुराहरू खाने चलन छ । यस फागुन शुक्ल पूर्णिमाका दिन आफन्तहरूबीच रंग र अबीरले रंगिएर बडो हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथाहरू भेटिन्छन्, जसको कारणले होली पर्व चलेको छ । मूलतः प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ठ राक्षस भए तापनि छोरा प्रह्लाद भने बडो विष्णुभक्त थिए । तसर्थ बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रह्लादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रह्लादलाई आगोमा हालेर मार्न लगाए । तर प्रह्लादको विष्णुभक्तिका कारण आगोले नजल्ने वरदान पाएकी होलिका उल्टै भस्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होली पर्व चलेको हो भन्ने किंवदन्ती छ ।
जसमा आफूभित्र भएका गलत प्रवृत्तिलाई त्यागेर सुमार्गतिर अभिप्रेरित हुन फागु पर्वले निर्देश गरेको देखिन्छ । फागु धार्मिक तथा पौराणिक मात्रै नभई सामाजिक, आयुर्वेदिक सबै दृष्टिले पनि उत्कृष्ट पर्व हो । यसमा खराब प्रवृत्तिलाई त्यागेर सत्मार्गतिर लाग्नु र विजय देखाउनु फागु पर्वको मूल आशय पनि हो । यसरी संस्कृति र सभ्यता समेतलाई नराम्रो गोरेटोमा धकेल्न थालेको फागु पर्वसम्बन्धी विसंगतिविरुद्ध एकजुट हुनुपर्ने वर्तमान अवस्थामा हरेक परिवारका खासगरी अभिभावकवर्ग विशेष सजग र सचेत हुनु अतिजरुरी देखिन्छ । यो पर्व वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू–आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ ।