२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बालमनको मौन पीडा

shivam cement
अमृत ढकाल
२०८२ फागुन १३ गते ०६:०५
Shares
बालमनको मौन पीडा

झिसमिसे साँझ पर्नै लाग्दा एउटा १०–१२ वर्षको बालक स्कुलबाट घर फर्कन्छ । उसको काँधमा किताबको गह्रौँ भारी मात्र छैन, उसको अनुहारमा एउटा यस्तो गहिरो थकान र रिक्तता छ, जुन यो उमेरका बालबालिकामा हुनुपर्ने स्वाभाविक ऊर्जासँग पटक्कै मेल खाँदैन । घर छिर्नेबित्तिकै जुत्ताका तुना नखोली, हातमुख नधोई र आमाले मायाले पस्किएको खाजाको प्लेटलाई वास्ता नगरी ऊ कोठाको एउटा अँध्यारो कुनामा खुम्चिन्छ । उसको एकनासको हेराइ केवल ५ इन्चको मोबाइल स्क्रिनमा टक्क अडिन्छ । बाहिरबाट हेर्दा ऊ कति ‘ज्ञानी’ देखिन्छ– न त उसले चकचक गर्छ, न त बाहिर गएर साथीभाइसँग झगडा नै गर्छ ! तर त्यो शान्त देखिने तलाउमुनि एउटा भयानक मानसिक आँधी चलिरहेको छ, जसको सुइँको न त भान्सामा व्यस्त उसकी आमालाई छ, न त कामको धुनमा रहेका उसका बुबालाई ।

नेपालमा हामीले बालबालिकाको शरीरका लागि खोपको त जोहो गर्यौँ, भोको पेटका लागि खाना र जाडोका लागि न्यानो लुगाको चिन्ता पनि गरिरह्यौँ । तर त्यो कलिलो मस्तिष्कमा बिस्तारै फैलिरहेको ‘मानसिक घाउ’लाई भने सधैँ ओझेलमा पारी रह्यौँ । आज हाम्रा बालबालिकाहरू सामाजिक सञ्जालका फिल्टरझैँ बाहिर त हाँसिरहेका देखिन्छन्, तर भित्रभित्रै उनीहरू एन्जाइटी, एक्लोपन र पहिचानको ठूलो संकटसँग जुधिरहेका छन् । उनीहरू एउटा यस्तो अदृश्य युद्ध लडिरहेका छन्, जहाँ न त कुनै स्पष्ट शत्रु देखिन्छ, न त उनीहरूसँग बचाउ गर्ने कुनै ढाल नै छ । आखिर यो मौनताको जड कहाँ छ ? 

नेपालमा बालबालिकाको मानसिक स्वास्थ्यलाई आकार दिने प्राथमिक पाठशाला उनीहरूको घर नै हो । तर विडम्बना, आज धेरै नेपाली घरहरू बालबालिकाका लागि सुरक्षित आश्रयभन्दा बढी मानसिक तनावको केन्द्र बन्दै गएका छन् । नेपालको आर्थिक मेरुदण्ड मानिने ‘रेमिट्यान्स’ले घरको भित्ता त रंग्यायो, तर बालबालिकाको मनको रङ भने बिस्तारै उडाउँदै लगेको छ । एउटा बुबा÷आमा खाडीको रापमा पसिना बगाउँछन् ताकि छोरा–छोरीले सहरको महँगो स्कुलमा पढ्न पाऊन् । तर त्यो बालकका लागि उसका बुबा÷आमा भनेको मोबाइलको स्क्रिनमा देखिने एउटा भर्चुअल पात्र मात्र बनेका छन् ।

घरभित्रको यो रिक्ततालाई हाम्रो समाजको तुलना गर्ने रोगले झन् विषाक्त बनाइदिएको छ । अभिभावकहरू आफ्ना अधुरा सपना र अपेक्षाहरू सन्तानको सानो काँधमा यसरी थोपरिदिन्छन् कि त्यो बोझले थिचिएर बालकको सिर्जनशीलता र खुसी कतिबेला हराउँछ, पत्तो नै हुँदैन । ‘फलानाको छोराले÷छोरीले यति अंक ल्यायो, तिमीले किन सकेनौ ?’ भन्ने जस्ता निरन्तरको तुलनाले बालकको मनमा ‘म कमसल छु, म कमजोर छु’ भन्ने हीनताबोधको बीउ रोपिदिन्छ । यो सर्तसहितको मायाले गर्दा बालबालिकाहरू जतिबेला पनि असफल हुने डर र चिन्तामा बाँच्न बाध्य छन् । 

घरको अशान्त वातावरण र भावनात्मक रिक्तताबाट बाहिर निस्किएर जब एउटा बालक विद्यालयको आँगनमा पाइला टेक्छ, उसले त्यहाँ ज्ञानको ज्योति भन्दा बढी प्रतिस्पर्धाको कठोर राप महसुस गर्छ । हाम्रो शिक्षा प्रणालीले बालबालिकालाई सिर्जनशील र सक्षम मान्छे बनाउनुको सट्टा केवल ‘अंक ल्याउने मेसिन’मा रूपान्तरण गरिरहेको छ । बिहानको झिसमिसेदेखि राति अबेरसम्म किताबको गह्रौँ भारी र गृहकार्यको चाङमा थिचिएका नेपाली बालबालिकाहरूका लागि शिक्षा अहिले आनन्द होइन, एउटा भयानक सास्ती बनेको छ । ‘ए+ नल्याए तिम्रो भविष्य अन्धकार हुन्छ’ भन्ने शिक्षक र अभिभावकको निरन्तर दबाबले उनीहरूलाई चौबीसै घण्टा एउटा अज्ञात डर र तनावको भुमरीमा राखिरहेको छ । 

नेपालका विद्यालयहरूमा शारीरिक सजायलाई कानुनले निषेध गरे पनि मानसिक र शब्दिक हिंसा अझै पनि एउटा सामान्य अभ्यासजस्तै बनेको छ । कक्षाकोठामा सबैका अगाडि होच्याउने, कमजोर विद्यार्थीलाई ‘तँ केही गर्न सक्दैनस’ भन्दै लेबल लगाउने र शिक्षकको कठोर व्यवहारले बालकको आत्मविश्वासलाई जरैदेखि हल्लाइदिन्छ । त्यसमाथि विद्यालयको पर्खालभित्र हुने ‘बुलिङ’ अर्को एउटा डरलाग्दो अदृश्य समस्या हो । साथीभाइबाट हुने खिसीट्युरी र अपमानले एउटा बालकलाई मानसिक रूपमा यति विक्षिप्त बनाउँछ कि ऊ विद्यालय जानै डराउन थाल्छ । विडम्बनाको कुरा के छ भने, नेपालका औँलामा गन्न सकिने निजी विद्यालय बाहेक अधिकांश विद्यालयमा व्यावसायिक स्कुल काउन्सिलरको व्यवस्था नै छैन । 

आज हाम्रा बालबालिकाको हातमा माटोको खेलौना वा कथाका किताब होइन, उज्यालो दिने तर भविष्य अँध्यारो बनाउन सक्ने स्मार्टफोन छ । हिजोका दिनमा आमाबुबाले बच्चालाई फकाउन कथा सुनाउँथे, आज युट्युब र टिकटकका भिडियो थमाइदिन्छन् । यो सानो यन्त्र बालबालिकाका लागि मनोरञ्जनको साधन मात्र होइन, बिस्तारै एउटा अदृश्य जेल बन्दै गएको छ, जहाँबाट उनीहरू बाहिर निस्कन त चाहन्छन्, तर यसको लतले उनीहरूलाई जकडेर राखेको छ । यस डिजिटल संसारले सिर्जना गरेको सबैभन्दा ठूलो समस्या हीनताबोध हो । फेसबुक र इन्स्टाग्रामको पर्दामा देखिने अरूको कृत्रिम र चमकदार जीवनसँग आफ्नो वास्तविक जीवनलाई तुलना गर्दा बालबालिकामा ‘म किन यस्तो छु ? मेरो जीवन किन यस्तो खल्लो छ ?’ भन्ने प्रश्नहरू उठ्न थाल्छन् । अर्कोतर्फ, पब्जी र फ्री–फायर जस्ता अनलाइन गेमहरूको लतले बालबालिकालाई आक्रामक र चिडचिडा बनाउँदै लगेको छ । 

नेपाली समाजमा शारीरिक चोट देखिँदा मलम लगाउने हातहरू त धेरै भेटिन्छन्, तर मनमा लागेको चोटलाई अझै पनि अदृश्य वा बनावटी मानिन्छ । ‘सानो बच्चालाई पनि केको तनाव ? उसले कमाएर खुवाउनु पर्छ र ?’ जस्ता भनाइहरू हाम्रो पुरातन सोचका उदाहरण हुन्, जसले बाल मानसिक स्वास्थ्यको मार्गमा सबैभन्दा ठूलो तगारो खडा गरेका छन् । हामीले बुझ्नै चाहेनौँ कि बच्चाको संसार सानो भए पनि उसका समस्या र पीडा उसका लागि पहाड जत्तिकै ठूला हुन्छन् । नेपाली समाजमा मानसिक समस्यालाई अझै पनि ‘पागलपन’को बिल्ला भिराइन्छ । 

हामीले सुशासन, समृद्धि र ‘भोलिका कर्णधार’ भन्दै ठूला–ठूला नारा त लगायौँ, तर ती कर्णधारहरूको मानसिक जग कति कमजोर भइरहेको छ भन्ने कुरामा राज्यको आँखा कहिल्यै पुग्न सकेन । नेपालको स्वास्थ्य नीतिले सरुवा रोग र शारीरिक समस्यालाई प्राथमिकतामा राख्यो, तर एउटा कुनामा बसेर सुँक्क–सुँक्क रोइरहेको बालकको मनको व्यथालाई भने सधैँ बेवास्ता गरिरह्यो । आजको तितो सत्य के हो भने नेपालको कुल स्वास्थ्य बजेटमा मानसिक स्वास्थ्यका लागि छुट्याइने हिस्सा १ प्रतिशतभन्दा पनि कम छ । 

अभिभावकहरूले आफ्ना बालबालिकाका पीडालाई बहाना सम्झनुको साटो बिन्तीको रूपमा बुझ्दै उनीहरूलाई महँगो मोबाइल होइन, आफ्नो समय, न्यानो स्पर्श र सुरक्षित वातावरण दिनुपर्छ । विद्यालयहरू पनि केवल अंक घोकाउने थलो मात्र नभई मनोवैज्ञानिक नर्सरी बन्नुपर्छ, जहाँ अनिवार्य रूपमा व्यावसायिक काउन्सिलर र बाल–मनोविज्ञान बुझ्ने शिक्षकहरूको व्यवस्था होस् । समाजले पनि मानसिक समस्यालाई पागलपन वा अन्धविश्वाससँग जोडेर कलंकित गर्ने सोच त्यागी विशेषज्ञको सल्लाह लिने संस्कार बसाल्नुपर्छ । साथै, राज्यले कागजी प्रतिबद्धताभन्दा माथि उठेर स्वास्थ्य बजेटको ठूलो हिस्सा बाल मानसिक स्वास्थ्यमा लगानी गर्ने, प्रत्येक जिल्लामा बाल–मनोविद्को व्यवस्था गर्ने र साइबर बुलिङविरुद्ध कडा कानुन कार्यान्वयन गर्ने नीति लिनुपर्छ ।

शारीरिक रूपमा कमजोर बालक भोलि औषधि र व्यायामले तन्दुरुस्त हुन सक्ला, तर बाल्यकालमै मानसिक रूपमा भाँचिएको बालकले जीवनभर त्यो चोटको दाग बोकेर हिँड्नुपर्छ । बालबालिकाले ‘मलाई गाह्रो भइरहेको छ’ भन्दा हाँसेर उडाउने होइन, उनीहरूको हात समातेर ‘तिमी एक्लो छैनौ, म तिम्रो साथमा छु’ भन्ने वातावरण निर्माण गरौँ । 

(लेखक ढकाल, सुर्खेत मोडेल कलेजका उप–प्राध्यापक हुन् ।)

सम्बन्धित खबर