
रौतहट : पशुपन्छीमा फैलिने संक्रामक रोग नियन्त्रण गरी पशु उत्पादन वृद्धि गर्ने उद्देश्यले रौतहट जिल्लामा खोप अभियानलाई तीव्र पारिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको आयोजना र जिल्लाका १८ वटै स्थानीय तहको समन्वयमा यो विशेष अभियान सञ्चालन गरिएको हो ।
कार्यालयका अनुसार चैत ७ गतेदेखि १३ गतेसम्म खोप सप्ताह सञ्चालन भइरहेको छ । यस अवधिमा जिल्लाका सबै पालिकामा पुगेर पशुपन्छीमा देखिने प्रमुख संक्रामक रोगहरूविरुद्ध खोप लगाउने लक्ष्य राखिएको छ ।
पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्दु राय यादवका अनुसार प्रारम्भिक चरणमा करिब ७५ हजार पशमा खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म करिब ३५ प्रतिशत प्रगति हासिल भइसकेको छ । बाँकी अवधिमा अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने उनले बताए ।
‘केही पालिकामा स्रोत र जनशक्तिको कमी चुनौतीका रूपमा देखिए पनि हामी लक्ष्य हासिल गर्न सक्रिय छौं’, प्रमुख यादवले भने । हाल खोरेत विरुद्धको खोपलाई प्राथमिकता दिइएको छ, यो सकिएलगत्तै जिल्लाभरका करिब २ लाख भन्दा माथिको बाख्रालाई पीपीआर खोप लगाउने योजना रहेको छ ।
पूर्ण खोपका लागि जिल्लामा पर्याप्त बजेट विनियोजन गरिएको भएतापनि रकम अपुग रकम माग भएको न आएको खण्डमा स्थानीय तहहरूसँग समन्वय गरी थप बजेट व्यवस्थापन गरिने कार्यालयले जनाए । खोरेत रोगका कारण पशुको उत्पादन क्षमता घट्ने र आर्थिक क्षति हुने भएकाले यो अभियान कृषकका लागि बरदान साबित हुने अपेक्षा गरिएको छ ।
खोप लगाएपछि पशुमा सामान्य ज्वरो आउने वा खोप लगाएको ठाउँमा हल्का सुन्निने जस्ता सामान्य असर देखिन सक्ने तर यसबाट नडराउन प्रमुख यादवले आग्रह गरे । यस्ता सामान्य लक्षणहरू केही समयपछि स्वतः निको हुने र यसले दीर्घकालीन रूपमा पशुलाई महामारीबाट बचाउने प्राविधिकहरूको भनाइ छ ।
ग्रामीण भेगमा पशुपालन नै मुख्य आयस्रोत रहेकाले यस्ता अभियानले दुग्ध र मासु उत्पादनमा सुधार ल्याइ कृषकको जीवनस्तर उकास्ने विश्वास गरिएको छ । अभियानलाई सफल बनाउन स्थानीय तह सरोकारवाला निकाय र कृषकहरूबीचको आपसी सहकार्य अनिवार्य देखिएको छ ।