२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

अग्रणी रक्तदाता प्रेमसागर : जसले १८६ पटक गरे रक्तदान

Nada
सपना बोहरा
२०८३ वैशाख १० गते ०६:२५
Shares
अग्रणी रक्तदाता प्रेमसागर : जसले १८६ पटक गरे रक्तदान

काठमाडौं : उमेर ६२ वर्ष, रक्तदान १८६ पटक । सहजै विश्वास नलाग्न सक्छ । तर, यो सत्य हो । १६ वर्षको उमेरदेखि रक्तदान गर्न थालेका बागबजारका रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाजको स्थापना गरेर हालसम्म आफूजस्ता १० हजारभन्दा बढी रक्तदाता बनाइसकेका छन् । 

ncell

काठमाडौंमै जन्मिएका कर्मचार्यका बुवा पनि समाजसेवी थिए । उनका बुवाले प्राथमिक उपचार गर्थे । ‘चोटपटक लाग्यो भने बुवाकहाँ आएर मलमपट्टी गराउँथे, धेरैजनाको रगत बगिरहेको मैले देखेको छु,’ उनले सम्झँदै भने, ‘रगतको विकल्प त रगत नै रहेछ ।’ रगतको महत्व बुझेका उनी पनि बुवाको पदचाप पछ्याउँदै रक्तदानलाई निरन्तरता दिँदै समाजसेवामा अग्रसर हुन थाले । रगतमा कुनै जात, धर्म नहेरिने उनी बताउँछन् ।

पाँच दशकअगाडि काठमाडौंमा भरियाहरूले रगत बेच्ने गरेको उनको स्मरणमा ताजै छ । ‘भरियाहरूले दुई–तीन सय रुपैयाँमा रगत बेच्ने गर्थे, त्यो देख्दा नरमाइलो लाग्थ्यो,’ उनी भन्छन्, ‘पैसा हुनेले त रगत पाउलान् पैसा नहुनेले के गर्ने ? उनले रक्तदानलाई नै कर्म बनाए । परिवारदेखि साथीभाइसम्मलाई रगत दिन प्रेरित गर्न थाले । उनी प्रत्येक जिल्ला–जिल्ला र विद्यालय–विद्यालयमा पुगेर रक्तदान रक्तदानको महत्व बुझाउँदै सचेतना चलाउन थाले । 

उमेरले ६ दशक नाघिसक्दा पनि उनी अझै तीन–तीन महिनामा रक्तदान गर्छन् । एकपटक रक्तदान गरेपछि तीन महिना गर्न मिल्दैन । आफूले रगत दिन नमिल्ने समयमा पनि अन्य बिरामीलाई रगतको सहजीकरण गरिदिन्छन् । रक्तदानका निम्ति उनलाई दिनहुँ सयौं कल आउँछ । 

रक्तदानबारे समाजमा शरीर कमजोर हुन्छ भन्ने भ्रम छ । ‘म त अहिलेसम्म फुर्तिलो नै छु,’ उनी भन्छन्, ‘समाजमा व्याप्त भ्रम चिर्नु नै अहिलेको मुख्य आवश्यकता हो । 

रक्तदानले शरीर कमजोर हुने नभई उल्टो नयाँ रगत बन्ने प्रक्रिया सक्रिय भएर शरीर अझ फुर्तिलो र स्वस्थ हुने उनको अनुभव छ । ‘धेरैलाई लाग्छ, रक्तदान गरेपछि शरीर गल्छ वा कमजोरी हुन्छ,’ उनले आफ्नो आफनो अनुभव सुनाउँदै भने, ‘तर त्यो बिल्कुल गलत हो । मैले १८६ पटक रक्तदान गरिसकेको छु, म अझै स्वस्थ छु ।’ शरीरमा भएको रगत खेर जान दिनुभन्दा कसैको जीवन बचाउन प्रयोग गर्नु नै वास्तविक धर्म हुने उनको भनाइ छ । 

आजको दिनसम्म कुनै औषधि सेवन गर्न नपरेको उनी बताउँछन् । ‘अन्य दानको विकल्प हुन सक्छ तर रगत यस्तो चिज हो जसको कुनै विकल्प छैन, त्यसैले रक्तदान नै जीवनदान हो,’ उनी भन्छन् । 

आफैंले रक्तदाता बनाएका धेरैजसोलाई उनी चिन्दैनन्, न त आफूलाई नै चिनाउँछन् । रक्तदान देखाउनका लागि नभएर मनबाट गर्नुपर्ने उनको सुझाव छ । भन्छन्, ‘मैले रक्तदान गरेको छु भने आशीर्वाद पाइरहेको हुन्छु, उनीहरूले मलाई सम्झिरहेका हुन्छन्, त्योभन्दा ठुलो कुरा अरू के हुन सक्छ ?’ 

उनको एउटै असन्तुष्टि छ, ‘दानमा दिइएको रगत बिरामीले निःशुल्क रूपमा पाउनुपर्ने ।’ त्यसका लागि सरकारले सहजीकरण गरिदिए हुन्थ्यो भन्ने उनको माग छ । 

कर्माचार्य रक्तदानलाई एक सामाजिक कर्तव्यका रूपमा लिन्छन् । ‘रक्तदान गर्दा आत्मसन्तुष्टि मिल्छ,  मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ,’ उनले भने, ‘प्रत्येक स्वस्थ नागरिकले वर्षमा कम्तीमा चारपटक रक्तदान गर्नुपर्छ ।’

केही दिनअघि मात्रै ब्लड डोनर्स सोसाइटीले १८६ पटकसम्म रक्तदान गर्दै मानवताको सेवामा समर्पित उनलाई सम्मान गरेको थियो । सोसाइटीले आफ्नो पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा उनको प्रेरणादायी योगदानको कदर गर्दै ‘अग्रणी शतक रक्तदाता’ सम्मान प्रदान गरेको हो । 

सम्बन्धित खबर